श्रीलङ्कामा संकटकाल लागु, विस्फोटमा ८ भारतीयहरू मारिए

श्रीलङ्का सरकारले होटल र गिर्जाघरहरूमा बम हमलापछि सङ्कटकाल लागु गरेको छ। सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नका लागि राष्ट्रिय सुरक्षा परिषदले एउटा बैठक गरी सङ्कटकाल लागु गर्ने निर्णय गऱ्यो। बैठकमा आज समग्र मुलुकमा राष्ट्रिय शोक मनाउने फैसला पनि लिइयो।

यसैबीच आतङ्की हमलामा मारिनेहरूमा ८ भारतीय र ३१ विदेशी नागरिकहरू छन्। द्वीप राष्ट्रमा भएका श्रृंखलाबद्ध विस्फोटहरूमा लगभग ३ सय मानिसहरूको ज्यान जानुका साथै ५ सय भन्दा बढी मानिसहरू घाइते भएका छन्। अन्तर्राष्ट्रिय पुलिस संगठन, इन्टरपोलले विस्फोटको जाँचमा सहयोग गर्न एउटा दललाई श्रीलङ्कामा खटाएको छ। आतङ्कवादी हमलामा अन्तराष्ट्रिय सञ्जालको हात भएको सम्भावनाको पत्तो लगाउनका लागि जाँच सुरु भइसकेको इन्टरपोलले एउटा वक्तव्यमा भनेको छ। श्रीलङ्काली सरकारले एउटा स्थानीय उग्रवादी गुट न्याश्नल तौहिद जमातको हात रहेको र विदेशबाट त्यसले सहयोग पाएको बताएको छ। सरकारले आतङ्कवादी हमलामा विदेशी हात भएको सम्भावनाको पत्तो लगाउनका लागि विदेशी मुलुकहरूलाई सहायता मागेको छ।