राजनीतिक नेताहरूद्वारा लोकसभा चुनावका बाँकी चरणका लागि ऱ्यालीहरू

लोकसभा चुनावका बाँकी चरणहरूका लागि विभिन्न राजनीतिक पार्टीहरूद्वारा प्रचार ऱ्याली र रोड शोहरूको गतिमा तीव्रता आएको छ।

महाराष्ट्रको नन्दुरबारमा एउटा चुनाव ऱ्यालीलाई सम्बोधितत गर्दै वरिष्ठ भाजपा नेता एवम् प्रधान मन्त्री नरेन्द्र मोदीले जनतालाई उहाँको नेतृत्वमा केन्द्रमा एक मजबुत सरकारको लागि भोट गर्ने आह्वान गर्नुभयो। श्री मोदीले भन्नुभएअनुसार मजबुत सरकार छ भने निर्णयहरू गर्न बढी सजिलो हुन्छ।

उहाँले प्रधान मन्त्री किसान योजनालाई सबै किसानहरूसम्म विस्तारित गरिने बाचा मार्नुभयो। उहाँले आदिवासीहरूलाई दिइएको आरक्षणमा कुनै तलमाथि नगरिने आश्वासन दिनुभयो। उनीहरूको भूमिलाई छोइनेछैन भनी उहाँले थप्नुभयो।

हिजो साँझ राजस्थानको उदयपुरमा एउटा ऱ्यालीलाई सम्बोधित गर्दै श्री मोदीले देशमा एक इमानदार सरकार चलाउनु सम्भव छ भन्ने कुरा एन.डि.ए. सरकारले गरेर देखाएको छ भन्नुभयो।

सरकारद्वारा आतङ्कवादविरुद्ध निर्णायक कारबाई गरिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, पछिल्लो यु.पि.ए. सरकारले करोडपतिहरूलाई ऋण दिन बैँकहरूमाथि दवाब हाल्यो, तर उहाँको सरकारले मुद्रा (MUDRA) योजनाअन्तर्गत गरिब, आदिवासी र युवाहरूलाई दिने काम गऱ्यो।

अर्कोतिर, कँग्रेस अध्यक्ष राहुल गान्धीले उहाँको निर्वाचन क्षेत्र अमेठीमा कँग्रेस सरकारद्वारा सुरु गरिएका विकास कार्यहरूलाई केन्द्र सरकारले बन्द गर्ने प्रयास गऱ्यो भन्नुभयो।

अमेठी, रायबरेली र बाराबङ्कीमा जन ऱ्यालीहरूलाई सम्बोधित गर्दै श्री गान्धीले कँग्रेस सत्तामा आयो भने देशका ५ करोड निर्धनतम महिलाहरूका बैँक खातामा ७२ हजार रुपियाँ जम्मा गराइने छ भन्नुभयो।

समाजवादी पार्टी प्रमुख अखिलेश यादवले पनि केन्द्रमा र उत्तर प्रदेशमा भाजपा सरकारले उहाँका सरकारद्वारा सुरु गरिएका विकास कार्यहरूलाई रोकिदिएको बताउनुभयो। उहाँ खीरी जिल्लामा एक जनसभामा बोल्दै हुनुहुन्थ्यो।