श्रीलङ्काका राष्ट्रपतिद्वारा आइतवारका हमलाहरूको पृष्ठभूमिमा सर्वदलीय सम्मेलनको आह्वान

 

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आइतवार भएका हमलाहरूमा ३५९ मानिसहरू मारिएका पृष्ठभूमिमा वर्तमान स्थिति र भावी पाइलाहरूबारे छलफल गर्नका लागि एक सर्वदलीय सम्मेलनको आह्वान गर्नुभएको छ। राष्ट्रपतिले अन्तर-धर्म सल्लाहकार समितिको बैठकपनि डाक्नुहुने छ।

त्यसअघि, राष्ट्रपतिले आफ्नो वक्तव्यमा जिम्मेवारीहरूको निर्वहनमा लापरवाही गरिएको कारण उच्च पदहरूमा तत्काल परिवर्तन गरिने छ भन्नुभएपछि मुलुकका प्रहरी प्रमुख एवम् रक्षा सचिवलाई राजिनामा दिन भनिएको छ।

यसैबिच, हिजो कुनै प्रमुख घटना नभएपछि सुरक्षा स्थिति विस्तारै सामान्य हुँदै गइरहेको छ। सुरक्षा सैनिकहरूले सबै संवेदनशील एवम् महत्त्वपूर्ण स्थानहरूलाई आफ्नो नियन्त्रणमा लिएका छन्। देशभर सेनाका छः हजारभन्दा बढी जवानहरूलाई खटाइएको छ। हमलाहरूको अन्वेषण जारी छ र रातभर गरिएका कारबाईमा विभिन्न इलाकाबाट कैयौँजनालाई गिरफ्तार गरिएको छ।

६० भन्दा बढी मानिसहरू गिरफ्तार भएका छन् र ३२ जना सि.आइ.डि.-को जाँचअन्तर्गत छन्। राज्य रक्षा मन्त्री रुवान विजयवर्दनाले हिजो मीडियालाई दिनुभएको जानकारीअनुसार हमलाहरू भएका आठ ठाउँहरूमा नौजना आत्मघाती बम हमलाकारीहरू थिए, अनि तिनीहरूमध्ये आठजनाको पहिचान भइसकेको छ।

अल इन्डिया रेडियोका संवाददाताले खबर दिएअनुसार श्रीलङ्कामा स्थिति सामान्य हुँदै गइरहेको छ। देशव्यापी रूपमा सन्दिग्धहरूमाथि कारबाई चलिरहेको छ र रातभर चलेको कारबाइमा विभिन्न इलाकाहरूबाट कैयौँ मानिसहरूलाई पक्राउ गरिएको छ। रक्षा मन्त्रीले भन्नुभएअनुसार यसमा संलिप्त नौ आतङ्कीहरूमध्ये एक महिला आतङ्की थिइ।

सबै हमलाकारीहरू सम्पन्न परिवारका थिए र ती मध्ये एकजनाले त आफ्नो कलेजको पढाई ब्रिटेनमा गरेको थियो। कैयौँ सन्दिग्धहरू विगतमा विदेश यात्रामा गएका थिए र तिनीहरूको आइ.एस.आइ.एस. लगायत विदेशी आतङ्की सङ्गठनहरूसित सम्बन्धबारे जाँच गरिँदै छ।