लोकसभा चुनावको चौथो चरणका लागि चुनाव प्रचार अभियान चर्कियो

 

लोकसभा चुनावको चौथो चरणका लागि चुनाव प्रचार अभियान चर्किएको छ। राजनीतिक पार्टीका स्टार प्रचारकहरू जनताको भोट आकर्षित गर्नका लागि राज्यहरूको दौडाहा गरिरहेका छन्। आगामी सोमवार हुने चौथो चरणमा नौ राज्यहरूमा फिँजिएका एकहत्तर निर्वाचन क्षेत्रहरूमा मतदान हुनेछ।

वरिष्ठ भाजपा नेता एवम् प्रधान मन्त्री नरेन्द्र मोदीले भाजपाको नेतृत्वमा एन.डि.ए. सरकारले विगत पाँच वर्षहरूमा भारतको प्रतिष्ठा र तागत विश्वमा बढेको छ भन्नुभयो।

बुधवार अपराह्न पश्चिम बङ्गालको बीरभूम जिल्लाको इलामबजारमा एउटा चुनाव ऱ्यालीलाई सम्बोधन गर्दै श्री मोदीले यस अवधिमा भारतले विदेशी मुलुकहरूसित तिनीहरूकका मुलुकमा कालो धन राख्नेहरूविरुद्ध सूचना जारी गर्नका लागि कैयौँ सम्झौताहरूमाथि हस्ताक्षर गरेको छ भन्नुभयो।

उहाँको लगातार विदेशी यात्राहरूमाथि विपक्षले लगाएका आरोपहरूलाई अस्वीकार गर्दै उहाँले भन्नुभएअनुसार विश्वका नेताहरूले आज भारतलाई सम्मान दिँदैछन् र भारतका अडानहरूलाई समर्थन दिँदैछन्।

त्यसअघि प्रधान मन्त्रीले झारखण्डको लोहारडागामा एक ऱ्यालीलाई सम्बोधित गर्नुभयो। उहाँको सरकारले धर्म वा जातिको आधारमा कहिल्यै भेदभाव गरेको छैन, र विपदमा परेका हरेक भारतीयलाई न्याय दिलाउने प्रयास गरेको छ भनी उहाँले भन्नुभयो।

कँग्रेस अध्यक्ष राहुल गान्धीले लखिमपुर खेरी, कानपुर र उन्नावमा चुनाव ऱ्यालीहरूलाई सम्बोधित गर्नुभयो। उहाँले काँग्रेस नै यस्तो पार्टी हो जसले किसानहरू र बेरोजगार युवाहरूका पीडा हर्न सक्छ भन्नुभयो। श्री गान्धीले न्याय योजनाका लाभहरूमाथि विस्तारले चर्चा गर्नुभयो।

पार्टी नेत्री र उत्तर प्रदेश पूर्वकी प्रभारी प्रियङ्का गान्धी वडराले फतेहपुर निर्वाचन क्षेत्रका खागा र गाजीपुरमा जनसभाहरू गर्नुभयो।

समाजवादी पार्टी अध्यक्ष अखिलेश यादवले उहाँको सरकारद्वारा लखनऊमा गोमती नदी तटलाई विकसित गरेको र यसबाट सहर सुन्दर भएको बताउनुभयो।

कानपुरमा एउटा जनसभालाई सम्बोधित गर्दै श्री यादवले केन्द्रमा महागठबन्धन सत्तामा आएको खण्डमा कानपुरमा गंगा नदी तटको विकास गर्न उहाँ चाहनुहुन्छ भन्नुभयो।

बहुजन समाज पार्टी प्रमुख मायावतीले कानपुर नगर जिल्लाको रमाईपुरमा चुनाव सभालाई सम्बोधित गर्नुभयो। उहाँले कँग्रेस उसका दोषपूर्ण नीतिहरूको कारण सत्ताबाट बाहिरिएको बताउनुभयो। भाजपामाथि हमला गर्दै उहाँले विमुद्रीकरण र जि.एस.टि.-ले जनतालाई ठुलो हानी गरेको बताउनुभयो।