किम जोङ्ग उन र भ्लादिमिर पुटिन भ्लादिभोस्तोकमा पहिलो शिखर बैठकमा सहभागी हुँदै

उत्तर कोरियाका नेता किम जोङ्ग उन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज रसियाको प्रशान्त बन्दरगाह शहर भ्लादिभोस्तोकमा शिखर वार्ता हुँदैछ।

रसियाका अनुसार उहाँहरूबीच कोरियन प्रायद्वीपमा आणविक समस्याका बारेमा छलफल हुनेछ।

श्री किम आफ्नो निजी रेल चढेर रसिया पुग्नुभएको हो।

सो वार्तामा उहाँले रसियाको सहयोग खोज्ने बताइएको छ। अमेरिकासँग गएको फेब्रुअरीमा भएको वार्ता असफल भएपछि श्री किमलाई रसियाको सहयोग चाहिएको हो। किमको पहिलोपटक रसियाका राष्ट्रपतिसित वार्ता हुन लागेको हो।

हालका महिनाहरूमा कोरियाली प्रायद्वीपमा स्थिति स्थिर बनेको श्री पुटिनका विदेश नीति सहयोगीले बताएका छन्।

यसभन्दा पहिले रसिया उत्तर कोरियाको परमाणु कार्यक्रम समाप्त गर्नका लागि वार्तामा सामेल भएको थियो।