लोकसभा चुनावको चौथो चरणका लागि चुनाव प्रचार अभियानमा तेजी

 

लोकसभा चुनावको चौथो चरणका लागि प्रचार अभियान विभिन्न राजनीतिक पार्टीहरूका शीर्ष नेताहरूद्वारा मतदाताहरूलाई आकर्षित गर्नका लागि ऱ्यालीहरूका साथै रोड शोहरूका साथ तीव्र भएको छ।

यो चरणको मतदान अप्रिल २९ तारिख हुनु छ।

वरिष्ठ भाजपा नेता एवम् प्रधान मन्त्री मोदीले बिहीवार वाराणसीमा रोड शो गर्नुभयो। उहाँले वाराणसी लोकसभा सीटबाट आज आफ्नो उम्मेदवारी पत्र भर्नु हुनेछ।

हाम्रा संवाददाताले खबर दिएअनुसार आफ्नो रोड शो बनारस हिन्दू विश्वविद्यालयको ऐतिहासिक लङ्का द्वारबाट सुरु गर्नुभन्दा अघि श्री मोदीले बनारस हिन्दू विश्वविद्यालयका संस्थापक पण्डित मदनमोहन मालवीयलाई आफ्नो श्रद्धाञ्जली अर्पण गर्नुभयो।

वाराणसीका गल्लीहरूबाट गुज्रँदै यो विशाल रोड शो दशश्वमेघ घाटमा सम्पन्न भयो जहाँ श्री मोदीले गङ्गा आरतीमा भाग लिनुभयो। वरिष्ठ भाजपा नेता योगी आदित्यनाथ, महेन्द्रनाथ पाण्डे, पीयूष गोयल र अश्विनी चौबे रोड शोमा हुनुहुन्थ्यो।

हिजो त्यसअघि श्री मोदीले उत्तर प्रदेशको बाँदा र बिहारको दरभङ्गामा चुनाव ऱ्यालीहरू गर्नुभयो।

उहाँले विपक्षमाथि जाति क्षेत्रवादको राजनीति खेलिरहेको आरोप लगाउनुभयो। आतङ्कवादलाई निर्मूल पार्ने उहाँको पार्टीको अठोट व्यक्त गर्दै उहाँले विपक्षसित आतङ्कवादसित जुझ्ने कुनै नीति नरहेको भन्दै निन्दा गर्नुभयो।

उहाँले उहाँको सरकारद्वारा सुरु गरिएका कल्याण योजनाहरूबारे जनतालाई दिग्भ्रमित गरेबापत समाजवादी पार्टी र बहुजन समाज पार्टीको निन्दा पनि गर्नुभयो, साथै उत्तर प्रदेशको बुन्देलखण्ड क्षेत्रमा प्रस्तावित एक्सप्रेसवे र रक्षा करिडोरले जनताका लागि व्यापक रोजगार सृजना गर्नेछ भन्नुभयो।

श्री मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाअन्तर्गत १२ करोड साना किसानहरू लाभान्वित हुनेछन् भन्नुभयो।

दरभङ्गामा विपक्षमाथि कटाक्ष गर्दै श्री मोदीले लोकसभा चुनावमा केही सीटहरूमा मात्रै चुनाव लड्नेहरूले प्रधान मन्त्री बन्ने सपना हेरिरहेका छन् भन्नुभयो।

उहाँले भन्नुभएअनुसार पहिलोपटक भोट हाल्ने र युवाहरूले नयाँ भारतको कायाकल्प गरिरहेका छन्।

भाजपा अध्यक्ष अमित शाहले उहाँको पार्टीले भोट बैँक राजनीतिमाथि विश्वास गर्दैन भन्नुभएको छ। उत्तर प्रदेशको औरैयामा एउटा चुनाव ऱ्यालीलाई सम्बोधन गर्दै उहाँले राष्ट्रको सुरक्षा भाजपाको पहिलो प्राथमिकता हो र नरेन्द्र मोदी सरकारले पाकिस्तानलाई सुहाउँदो जबाफ दिइरहेको छ भन्नुभयो। त्यसअघि अमित शाहले गाजीपुरमा ऱ्याली गर्नुभएको थियो।

अजमेरमा हिजो एक ऱ्यालीलाई सम्बोधित गर्दै कँग्रेस अध्यक्ष राहुल गान्धीले उहाँको पार्टीद्वारा न्यूनतम आय ग्यारेन्टी न्याय योजना तयार पार्नुभन्दा पहिला ख्यातिप्राप्त अर्थविद्हरूसित विचार-मन्थन गरेको थियो भन्नुभयो।

उहाँले आरोप लगाउँदै के भन्नुभयो भने विमुद्रीकरण र जि.एस.टि. गरिब, श्रमिकहरू र साना व्यापारीहरूका धन चोर्ने उपाय थिए।

उहाँले भन्नुभएअनुसार न्याय योजनामार्फत जम्मा गराइने रकमले अर्थव्यवस्थाको पाङ्ग्रालाई गुडाउनेछ र युवाहरूका लागि रोजगारका अवसरहरू सृजना गर्नेछ। कँग्रेस सत्तामा आयो भने यसले एक वर्षमा २२ लाख सरकारी पदहरू भर्नेछ भनी उहाँले भन्नुभयो।

श्री  राहुल गान्धीले राजस्थानको जालौर र कोटामा चुनाव ऱ्यालीहरू पनि गर्नुभयो।

कँग्रेस महासचिव प्रियङ्का गान्धी वडराले पनि उत्तर प्रदेशको बुन्देलखण्ड क्षेत्रमा आफ्नो यात्राको दोस्रो दिन झाँसी र जालौनमा रोड शो गर्नुभयो।

समाजवादी पार्टी र बसपा अनि राष्ट्रिय लोक दल गठबन्धनका नेताहरूले भाजपाद्वारा पुँजीपतिहरूको हित साधन गरेको र गरिब, दलित, युवा र किसालनहरूप्रति ओँठे सेवामात्रै गरिएकोमा निन्दा गरे।

उत्तर प्रदेशको कन्नौजमा हिजो एउटा संयुक्त ऱ्यालीलाई सम्बोधित गर्दै बसपा प्रमुख सुश्री मायावतीले केन्द्र सरकारद्वारा राज्यका युवा र किसानहरूसित गरिएका वाचा पूरा गर्न केहीपनि नगरिएको आरोप लगाउनुभयो।

उहाँले कँग्रेसले पनि सत्तामा रहँदा डक्टर बि.आर. अम्बेडकरलाई भारत रत्न सम्मान नदिएकोमा पनि कँग्रेसको निन्दा गर्नुभयो।

समाजवादी पार्टी अध्यक्ष अखिलेश यादवले उत्तर प्रदेशमा उहाँको सरकारको कार्यकालमा सुरु गरिएका विकास योजनाहरूको सम्झना जनतालाई गराउनुभयो।

राष्ट्रिय लोकदल प्रमुख अजीत सिंहले लाखौँ पदहरू रिक्त रहेका तर केन्द्रीय सरकारद्वारा तिनलाई भर्नमा कुनै चासो नदेखाएको आरोप लगाउनुभयो जबकि युवाहरू बेरोजगार छन्।

जम्मू एवम् कश्मीरमा आज करगिल जिल्लाको लद्दाख संसदीय सीटमा चुनाव प्रचार सुरु भयो। सबै चारजना उम्मेदवारहरूले लद्दाखका गाउँ-गाउँमा गएर घरघरै सक्रिय रूपले चुनाव प्रचार गरिरहेका छन्।