दाता दरबार आत्मघाती हमला

लाहौर स्थित सुप्रसिद्ध सूफी दरगाह दाता दरबारमा रमादानको पवित्र महिनाको दोस्रो दिन गरिएको घातक आक्रमणमा परेर १० व्यक्तिहरूको ज्यान गयो अनि २५-भन्दा बढी व्यक्तिहरू घाइते भए। यो घटनाले एकपल्ट फेरी यो भयावह सत्यलाई सामुन्ने ल्याएको छ कि पाकिस्तानले अझै पनि आतङ्की गुटहरूलाई शरण दिइरहेछ अनि उनीहरूले अब आफ्नै देशलाई शिकार बनाइरहेका छन्। आत्मघाती बम हमलाको निसानामा विशिष्ट सुरक्षा बल रहेको प्रतीत हुन्छ। रमादानमा दरगाहमा आउने श्रद्धालुहरूको संख्यामा वृद्धि हुने हुनाले सुरक्षा बललाई दरगाहको सुरक्षा निम्ति त्यहाँ तैनाथ गरिएको थियो।

पाकिस्तानमा आतङ्कवादीहरूले सूफी दरगाहलाई निसाना बनाएको यो प्रथम अवसर  होइन। अतीतमा सेहवान स्थित लाल शहबाज कलन्दर, पाकपट्टन स्थित बाबा फरीद अनि कराँची स्थित शाह गाजी जस्ता धेरै दरगाहहरूमा आक्रमण गरिएको थियो। यी दरगाहहरूको सूफी प्रकृतिले गर्दा आतङ्कवादीहरूको लागि यी सहज शिकार बन्छन्। आतङ्कवादीहरूले सूफीहरूलाई विधर्मी ठान्छन्। दाता दरगाहमा भएको यो आत्मघाती बम हमलाको जिम्मेवारी पाकिस्तान, तालिबान, लश्कर-ए-झाङ्गवी अनि स्थानीय तालिबानको छुट्टिएर गएको एक गुट, हिज्बुल अहरर-ले लिएका छन्। यी सबै आतङ्कवादी गुटहरू पाकिस्तान भित्रैका हुन् अनि यी सबैले सूफीहरूलाई धेरै देउताहरू मान्ने ठान्छन्। यो कारणले गर्दा यी आतङ्कीहरूले सूफी दरगाहहरूलाई प्रचण्ड घृणा गर्छन् अनि यो ठान्छन् कि उनीहरूका प्रथा-परम्पराहरू धर्म अनुरूप छैनन्।

दाता दरगाह दक्षिण एसियाको सर्वाधिक विशाल सूफी दरगाह हो अनि वर्षको अन्त्यमा हुने यसको वार्षिक उर्स अर्थात् समारोह तीन दिनहरूसम्म चल्छ त्यस समय उत्सवमा भाग लिनको लागि पाकिस्तानका सबै हिस्साहरूबाट श्रद्धालुहरू आउँछन् जसमा शिया एवम् सुन्नी, दुवै समुदायहरू हुन्छन्। यहाँ यो उल्लेख गर्नु आवश्यक ठहर्छ कि यसको प्रतीकात्मक मूल्य तथा विशाल संख्यामा भक्तहरूले गर्दा दाता दरगाहमा पाकिस्तानका प्रभावशाली व्यक्तिहरू जान्छन्। जनतामा लोकप्रियता हासिल गर्नको लागि त्यहाँ राजनीतिक नेताहरू पनि जान्छन्। जमानतमा एक साताको लागि बाहिर निस्किएका नवाज शरीफ आक्रमणको केवल दुइ दिनअघि दाता दरबार गएका थिए। पाकिस्तानका धेरै विश्लेषकहरूको विचारमा यो यात्रा पाकिस्तान मुस्लिम लीग-नवाज-को वापसीको एक सन्देश हो साथै शक्ति प्रदर्शन हो। पाकिस्तानमा यो सोचिएको थियो कि यो पार्टी विस्तारै लुप्त हुँदै गइरहेछ। यस्तो परिदृश्यमा, दरगाहको सुरक्षा देशको लागि औधी महत्त्वपूर्ण हुन्छ। कानून लागू गर्ने तन्त्र अनि सुरक्षाकर्मीहरूलाई देशको प्रतीक मानिन्छ अनि उनीहरू प्रमुख लक्ष्य बन्छन्।

सुप्रसिद्ध सूफी दरगाहको सुरक्षा निम्ति तैनाथ विशिष्ट बललाई लक्ष्य बनाउनु पनि अति महत्त्वपूर्ण छ। आत्मघाती बम हमलाले पाकिस्तानलाई यो सङ्केत दिएको छ कि आतङ्कवादीहरू अहिले जिउँदै छन् र असल स्थितिमा छन् अनि उनीहरूले पूजाको आफ्नै रूप र विधिको प्रचार गर्ने सूफी दरगाहलाई निसाना बनाउन जारी राख्नेछन्। यसबाहेक, दाता दरबार दरगाह त्यहाँ आयोजित गरिने संगीत र नृत्यका रङ्गी-चङ्गी उत्सवहरूको लागि लोकप्रिय छ जहाँ श्रद्धालुहरू संगीतको लय र तालमा तल्लीन हुन्छन्। अति चरमवादी गुटहरूले यसलाई इस्लाम विरुद्ध  ठान्छन्।

आफ्नो प्रथा-परम्पराको लागि दाता दराबारमाथि आक्रमण गरिएको यो प्रथम अवसर होइन। सन् २०१०-मा त्यो दरगाहमा भएको सर्वाधिक घातक जम्ल्याहा आत्मघाती हमलामा परेर ५० भन्दा अधिक श्रद्धालुहरूको मृत्यु भएको थियो अनि २०० जना घाइते भएका थिए।

दरगाहहरूमा आक्रमण गर्नको लागि आत्मघाती बम आक्रमणकारीको रूपमा आतङ्की गुटहरूको युवाहरूको उपयोग गरिनु पाकिस्तानको लागि निःसन्देह, ठूलो चिन्ताको विषय हो। प्रान्तीय अधिकारीहरूले गरेको खुलासाअनुसार यसपाली दरगाहमा आक्रमण गर्ने ठिटो केवल १५ वर्षको थियो। यसले के सङ्केत दिन्छ भने चरमपन्थी गुटहरू गुप्त रूपमा सक्रिय छन् अनि यसले पाकिस्तानको आतङ्कवाद प्रतिरोधी नीतिमाथि एक प्रश्न चिह्न खडा गर्छ। पाकिस्तानले गरेको दाबीअनुसार उसले हिज्बुल अहरर-लाई लगभग समाप्त गरेको छ।

यहाँ कुन कुरोमाथि ध्यान दिनु आवश्यक छ भने पाकिस्तानको पञ्जाब प्रान्तमा बितेका दुइ वर्षहरूदेखि कुनै ठूलो आतङ्की हमला भएको थिएन। दाता दरबार दरगाहमा भएको आक्रमणले इमरान खान सरकारलाई सशक्त रूपमा यो याद दिलाएको छ कि चरमपन्थी गुटहरूसित वापस फर्किने क्षमता छ अनि उनीहरू अहिले समाप्त भएका छैनन्। मसूद अजहर अन्ततः वैश्विक आतङ्कवादी घोषित भएको छ, पाकिस्तानले आतङ्कवादी सम्बद्ध सङ्गठनहरूलाई बन्द गरिरहेको छ तथा पाकिस्तानले वित्तीय कार्यवाही कार्य बलको कालो सूचीमा नपर्ने प्रयास गरिरहेको छ। यस्तोमा, दाता दरबार दरगाहमाथि गरिएको आक्रमण इस्लामाबादको लागि एक चेताउनी हो अनि उसले अब तत्काल सबै कुरोहरूलाई व्यवस्थित गर्नुपर्ने छ नत्र धेरै अबेर हुनेछ।

आलेखः पाकिस्तान मामिलाका विश्लेषक, डॅ. जैनाब अख्तर

अनुवादः राज कुमार सिंह

वाचकः विष्णुबहादुर गुरूङ्ग