इब्सालाई नौलो शक्ति प्रदान गर्दै

भारत, ब्राजिल र दक्षिण अफ्रिका सामेल रहेका देशहरूको समूह ‘इब्सा’ का शेर्पा अर्थात् प्रतिनिधिहरूको भारतको केरल राज्यमा अवस्थित कोचीमा एउटा बैठक सम्पन्न भयो। यो बैठक, सन् २०१८ को सेप्टेम्बर महिनामा न्युयोर्कमा राष्ट्रसंघ महासभा बैठककको छेक पारेर भएको ९औँ ‘इब्सा’ त्रिपक्षीय मन्त्रीस्तरीय आयोगको बैठकमा आधारित थियो। ‘इब्सा’ भनेको तीन फरक महाद्वीपका तीन बृहत् लोकतन्त्र तथा अर्थव्यवस्थाहरूलाई एउटै मञ्चमा भेला पार्ने सङ्गठन हो। यी तीन देशहरूका चुनौती पनि उस्तै छन्। यी देशहरू विकासशील, बहुत्त्ववादमा आधारित, बहु-संस्कृति, बहु-जाति, बहु-भाषा र बहु-धर्म भएका राष्ट्र हुन्। सन् २००३ को जुन महिनामा ब्रासिलियामा सम्पन्न विदेश मन्त्रीस्तरीय बैठकका क्रममा सुरु गरिएको यस सङ्गठनले पोहोर आफ्नो १५ औँ स्थापना वर्षको पालना गरेको थियो।

‘इब्सा’ भनेको एउटै विचारधारा भएका तथा समावेशी दिगो विकास र आफ्ना जनता अनि विकासशील विश्वको कल्याणप्रति समर्पित दक्षिण-दक्षिण अर्थात् विकासशील देशहरूको समूह हो। ‘इब्सा’ वार्ता मञ्चलाई टेवा पुऱ्याउने सिद्धान्त, नियम तथा मूल्यहरूले सहभागितामूलक लोकतन्त्र, मानवाधिकारको सम्मान, न्यायको शासन तथा बहुत्त्ववादलाई हैंसे प्रदान गर्दछन्। ‘इब्सा’ सहयोगमा परस्पर चासोका विषयमा सरकार-सरकारबिच परामर्श तथा समन्वय, तीन देशहरूको साझा हितका लागि मुख्य क्षेत्र/परियोजनामा त्रिपक्षीय साझेदारी तथा ‘इब्सा’ कोषमार्फत परियोजनाहरू लागू गरेर अन्य विकासशील देशहरूलाई मद्दत गर्नु रहेको छ। ‘इब्सा’ को सफलताले विशेषज्ञ तथा तालिमको आदान-प्रदान जस्ता पारम्परिक क्षेत्रबाहेक दक्षिण-दक्षिणबिच सहयोगको चाहना तथा सम्भाव्यता प्रदर्शित गर्दछ।

हालसम्म ‘इब्सा’ का पाँच नेतृत्वस्तरीय शिखर सम्मेलन सम्पन्न भइसकेका छन्। पाँचौँ सम्मेलन् सन् २०११ को अक्टोबर महिनामा प्रिटोरियामा भएको थियो। भारतले यसको छैटौँ सम्मेलन आयोजना गर्दै छ। तीन

देशका नेताहरूबिच सबैलाई सुहाउँदो समय निकाल्न नसकिएकाले यो सम्मेलनमा विलम्ब भएको हो। यो सम्मेलन चाँडै गराउनु पर्छ भन्ने कुराको महत्त्व बुझेर समूहका सबै नेताले तीन देशहरूमा चुनाव प्रक्रिया सम्पन्न हुने बित्तिकै यसको आयोजना गर्न सहमति जनाएका छन्। तीन देशहरूबिच सहयोग बढाउने र साझा कार्यक्रम तथा गतिविधिहरूमार्फत कार्यक्षेत्र विस्तार गर्ने प्रयोजनका लागि मन्त्रीस्तरीय र सञ्चालन स्तरका बैठकहरू नियमित रूपमा भइरहेका छन् भन्ने कुरा यहाँ उल्लेख गर्नु जरूरी छ।

तीन देशहरूले सन् २००४ मा सुरु गरेका ध्वजावाहक परियोजनाहरूमा गरिबी तथा भोकमरी निर्मूल पार्ने उद्देश्यसहितको ‘इब्सा’ कोष थियो। विकासशील देशहरूमा विकासोन्मुख परियोजनाहरू लागू गर्ने यो एउटा अनौठो पहल हो। दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा योगदानस्वरूप हालसम्म ‘इब्सा’-ले २० साझेदार देशहरूमा स्वच्छ खाने पानी, कृषि तथा पशुधन, सौर ऊर्जा, फोहार व्यवस्थापन, स्थास्थ्य आदि क्षेत्रमा ३१ परियोजनाहरूलाई सहयोग गरिसकेको छ।

‘इब्सा’ कोषले हैती र गिनी-बिसाउमा परियोजनाहरू सञ्चालन गरेबापत सन् २००६ को राष्ट्रसंघीय दक्षिण-दक्षिण साझेदारी पुरस्कार, सन् २०१० मा दक्षिण-दक्षिण सहयोगसम्बन्धी एम. डि. जि.- पुरस्कार र सन् २०१२ मा दक्षिण-दक्षिण च्याम्पियनसिप पुरस्कारलगायतका कैयौँ उच्च स्वीकृतिहरू पाएको छ। विश्वका अन्य मुलुकहरूसँग विकासका अनुभवहरू आदान-प्रदान गर्नका लागि अपनाएका नवोन्मेषी रवैयाका कारण यी तीन देशहरूले यस्ता स्वीकृति पाएका हुन्। ‘इब्सा’ त्रिपक्षीय सहयोगको अर्को एउटा महत्त्वपूर्ण पाटो भनेको रक्षाको क्षेत्रमा यी देशहरूले गर्ने संयुक्त नौसैनिक अभ्यास अर्थात् ‘इब्सा’ समुद्री अभ्यास हो। हालसम्म यो अभ्यासको छैटौँ संस्करण सम्पन्न भइसकेको छ जुन पोहोर अक्टोबर महिनामा दक्षिण अफ्रिकाको तटपारी भएको थियो।

कोचीमा सम्पन्न भएको शेर्पाहरूको बैठकले हालैका गतिविधिहरूको समीक्षा गरेर खासगरी पर्यटन तथा दक्षिण-दक्षिण साझेदारी बढाएर सहयोगको परिपाटी मजबुत पार्ने तरिकाबारे छलफल गऱ्यो। शेर्पाहरूले संयुक्त कार्यसमूहको कार्य परिचालनका बारेमा पनि छलफल गरेका छन्। उनीहरूले ‘इब्सा’-को १५औँ स्थापना वर्षका अवसरमा पोहोर सालको अवधिमा पालना गरिएका विभिन्न कार्यक्रमहरूको प्रशंसा गर्नुका साथै दक्षिण अफ्रिकाका राष्ट्रपतिले यही वर्षको जनवरी महिनामा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा दिनुभएको पहिलो गान्धी-मन्डेला स्मृति स्वतन्त्रता व्याख्यानप्रति खुसी जाहेर गरे। कोचीमा सम्पन्न शेर्पाहरूको बैठकले ‘इब्सा’-का सदस्य राष्ट्रहरूमाझ निरन्तर बढिरहको साझेदारीलाई थप हैंसे प्रदान गरेको छ।

 आलेख: भारतका पूर्व कूटनीतिक तथा वैश्विक अध्ययन संस्थानका अध्यक्ष, अशोक सज्जनहार

अनुवाद तथा वाचन: दीपक पौडेल