भारत-भिएतनाम सम्बन्ध वृद्धिको दिशामा

भारतका उप-राष्ट्रपति एम. वेंकैया नायडूले भियतनामको ४-दिवसीय सरकारी यात्रा गर्नुभयो, जसको उद्देश्य भिएतनामसित भारतको व्यापक सामरिक सहभागितामा वृद्धि गर्नु थियो। यो सबैलाई ज्ञात छ कि भारत र भिएतनाम बीच विद्यमान सहभागिता समय-परीक्षित रहेको छ। भिएतनामका शीर्षस्थ राजनीतिक नेताहरूसित अन्तर्क्रिया बाहेक श्री नायडूले एक समारोहमा भारतीय समुदायलाई सम्बोधन पनि गर्नुभयो। आफ्नो सम्बोधनमा उहाँले दुइ देशहरू बीचको सम्बन्धको प्रशंसा गर्नुभयो। भारतका उप-राष्ट्रपतिले भिएतनामका उहाँका समकक्षी डाङ्ग थी न्गोक थिन्ह, भिएतनामका प्रधान मन्त्री न्गुएन सुआन फुक् तथा राष्ट्रपति एसेम्बलीका अध्यक्षा न्गुएन थी किम न्गग-सित बैठकहरू गर्नुभयो। श्री नायडूले भिएतनामको हा नाम प्रान्तमा तम चुक पगोडामा आयोजित १६-औँ राष्ट्र संघ ‘भेसक’ दिवस समारोहमा बीज भाषण दिनुभयो। यो समारोहको थीम थियो, ‘वैश्विक नेतृत्वप्रति बौद्ध दृष्टिकोण अनि समाजहरूको सतत विकास निम्ति साँझा जिम्मेवारीहरू’।

दुवै देशका शीर्षस्थ राजनीतिक नेताहरूको एका-अर्काको देशमा नियमित रूपमा दौडाहाको फलस्वरूप, द्विपक्षीय सम्बन्ध, सन् २०१६-मा भारतका प्रधान मन्त्रीको भिएतनाम यात्राको बेलामा, व्यापक सामरिक सहभागितामा परिणत भयो। सन् २०१८-मा दुइ देशहरू बीच परस्पर उच्च स्तरीय यात्राहरू भए। जनवरी, सन् २०१८ तथा मार्च, सन् २०१८-मा क्रमैसित भिएतनामका प्रधान मन्त्री अनि राष्ट्रपतिले भारत यात्रा गर्नुभएको थियो। यी भ्रमणहरू पश्चात् उप-राष्ट्रपति नायडूले भिएतनामको यात्रा गर्नुभएको हो। दुइ देश बीच परस्पर उच्च-स्तरीय भ्रमणहरूको फलस्वरूप, कैयौँ क्षेत्रहरूमा मजबुत सर-सहयोग स्थापित भयो, रक्षा एवम् सुरक्षा सम्बन्धहरूमा विस्तार भयो, नयाँ आर्थिक र वाणिज्यिक सम्बन्धहरू विकसित भए अनि व्यक्ति-व्यक्ति बीच संलग्नतामा प्रगाढता आयो। दुवै देशहरू हिन्द-प्रशान्त क्षेत्रमा शान्ति, सुरक्षा र समृद्धिलाई बढुवा दिन चाहन्छन्।

विदेशमा बसोबासो गर्ने भारतीयहरूसित सम्पर्क बढाउँदै लैजानु भारतको विदेश नीतिको एक महत्त्वपूर्ण हिस्सा रहेको छ। भारतका उप-राष्ट्रपतिले हनोइमा भारतीय समुदाय अनि भारतका मित्रहरूलाई सम्बोधित गर्नुभयो। आफ्नो सम्बोधनमा उहाँले विदेशमा बसोबासो गर्ने भारतीयहरूसित सम्पर्क बढाउनको लागि भारत सरकारले प्राथमिकता दिएको कुरोमाथि बल दिनुभयो।

भिएतनामका उप-राष्ट्रपति डाङ्ग थी न्गोक थिन्ह-सित द्विपक्षीय साथै बहुपक्षीय सहयोगलाई बढाउने सम्बन्धमा व्यापक कुराकानी गर्नका साथै श्री नायडूले हिन्द-प्रशान्त क्षेत्रलाई शान्तिपूर्ण एवम् समृद्ध बनाउने महत्त्वलाई दोहोऱ्याउनुभयो अनि भन्नुभयो, यसो गर्दा राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नु जरूरी छ। दुइ देशहरू बीच विद्यमान सशक्त द्विपक्षीय सम्बन्ध परस्पर विश्वास, समझबुझ अनि अन्तर्राष्ट्रिय मामिलाहरूबारे समान दृष्टिकोणमाथि आधारित छ।

निःसन्देह, भिएतनाम भारतको पूर्वोन्मुखी कार्य नीतिको रणनीतिक स्तम्भ हो अनि आशियानमा भारतको प्रमुख वार्ताकार। यसकारण दुवै देशहरू दक्षिण चीन सागर मामिलामा सम्बद्ध मुलुकहरू सर्वसम्मतिमा पुगेको हेर्न चाहन्छन्। हिन्द-प्रशान्त एक जैव-भौगोलिक क्षेत्र हो अनि यस क्षेत्रमा हिन्द महासागर तथा दक्षिण चीन सागर लगायत पश्चिम र मध्य प्रशान्त महासागर पर्छ। संयुक्त राज्य अमेरिकाले विवादित दक्षिण चीन सागरमा ‘नौपरिवहनको स्वतन्त्रता’ नामक अभ्यासको एक शृङ्खला सञ्चालित गरेको थियो, जसको फलस्वरूप बेइजिङ्गले सार्वभौमिकताको उल्लंघन भन्दै यसको विरोध गरेको थियो। चीनले सागरको लगभग सम्पूर्ण क्षेत्रमाथि आफ्नो दाबी जनाउँछ। उता ब्रुनेइ, मलेसिया, फिलिपिन्स, भिएतनाम अनि ताइवानले पनि उनीहरूको विशिष्ट आर्थिक क्षेत्रमा पर्ने इलाकाहरूमाथि आ-आफ्ना दाबीहरू गरेका छन्। यसले दक्षिण चीन सागरलाई विवादको गुँड बनाएको छ।

जे होस्, द्विपक्षीय स्तरमा भारत-भिएतनाम सम्बन्धहरू धैरे क्षेत्रहरूमा मजबुत बनेका छन् अनि यसरी सम्बन्ध बहुमुखी बन्नगएका छन्। दुवै देशहरूले प्रतिरक्षा एवम् सुरक्षा, परमाणु ऊर्जाको शान्तिपूर्ण उपयोग, बाह्य अन्तरिक्ष, विज्ञान एवम् प्रविधि, तेल एवम्  ग्यास, नवीकरणीय ऊर्जा, पूर्वाधार विकास, कृषि तथा नवाचार आधारित क्षेत्रहरूमा सर-सहयोगलाई मजबुत बनाउँदै लगेका छन्।

वर्तमानमा द्विपक्षीय व्यापार १४ अर्ब डलर रकमको छ। तीन वर्षअघि यो ७.८ अर्ब डलर रकमको थियो। सन् २०२०-सम्म द्विपक्षीय व्यापारलाई १५ अर्ब डलर पुऱ्याउने लक्ष्य, नयाँ दिल्ली अनि हनोइ, दुवैले राखेका छन्। बितेका वर्षहरूका प्रवृत्तिहरूलाई मध्येनजर राखेर हेर्दा, यो लक्ष्य हासिल गर्नमा कुनै कठिनाइ हुनेछैन भन्ने प्रतीत हुन्छ।

निकै समयदेखि सम्पर्कता एक समस्या रहिआएको छ। वर्तमानमा नयाँ दिल्ली र हनोइ बीच कुनै सोझो उडान छैन। पहिले वाणिज्यिक दृष्टिले यस्तो सम्भव थिए। तर अब भारतीय विमानहरूले यसै वर्ष केही पछि दुइ राजधानीहरू बीच सोझो उडान सुरू गर्ने निर्णय लिएका छन्। यसरी नयाँ दिल्ली र हनोइ बीच सोझो वायु सम्पर्कता सुरु हुने सम्भावना छ। यस्तो भएको खण्डमा, व्यापार र पर्यटन क्षेत्रलाई औधी बढुवा मिल्नेछ अनि द्विपक्षीय सम्बन्धले एक अर्को मोर्चामा पनि सफलता प्राप्त गर्नेछ।

आलेख: भारतीय संसदका लोकसभा रिसर्च फेलो, प्रोफेसर राजाराम पाण्डा

अनुवादः राज कुमार सिंह

वाचन:  रञ्जना खवास