भारत र टर्कीबिच संलग्नतामा अझ वृद्धि

उच्च अधिकारी स्तरको एकपछि अर्को गर्दै भएका दुइ बैठकहरूको फलस्वरूप, भारत र टर्कीले हालसालै उनीहरू बिचको सहभागितालाई बढाउने दिशामा चुपचाप तर निश्चित रूपमा प्रगति गरेका छन्। टर्कीले उसको उद्भव भइरहेको मित्र भारत तथा पारम्परिक मित्र राष्ट्र पाकिस्तानसित उसका सम्बन्धहरूलाई अलग-अलग दृष्टिले हेर्ने प्रयास गरिरहेको छ। अङ्काराले उसको राष्ट्रपतिका सल्लाहकार डक्टर इब्राहिम कालिनलाई नयाँ दिल्ली पठाएको थियो अनि उहाँले आतङ्कवाद साथै कट्टरवाद प्रतिरोधी कार्यवाहीमा व्यापक सर-सहयोगका मुद्दाहरूबारे चर्चा गर्नुभयो। उहाँले दुई देशहरूबिच सहभागितामा आर्थिक पक्षको वृद्धि निम्ति सार्नुपर्ने पाइलोहरूबारे पनि चर्चा गर्नुभयो।

भारत लामो समयदेखि सीमा पारीबाट सञ्चालित आतङ्कवादको सिकार बन्दै आएको हुनाले उसले यस अनिष्टविरुद्ध मुकाबिलामा टर्कीको सहयोगको अनुरोध गरेको छ। डक्टर इब्राहिम कालिन तथा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबिच भएको कुराकानीमा हालसालै श्रीलङ्कामा गरिएको आतङ्की हमलाबारे पनि चर्चा गरियो।

दुइ पक्षहरूले दक्षिण एसिया र पश्चिम एसियालगायत वैश्विक एवम् क्षेत्रीय मामिलाहरूबारे विचारहरूको आदान-प्रदान गरे। सबै रूप अनि प्रकारका आतङ्कवादलाई सखाप पार्न तथा यसका षडयन्त्रकारी र प्रायोजकहरूलाई अदालतमा उभ्याउनको लागि सबै राष्ट्रहरूले परस्पर सहयोग गर्ने महत्त्वमाथि दुवै पक्षहरूले बल दिए। दुइ देशका अधिकारीहरूले सभ्यतामूलक साथै सांस्कृतिक सम्बन्धहरूको महत्त्वमाथि पनि प्रकाश पारे।

डक्टर कालिनको यात्राको एक महत्त्वपूर्ण पक्ष इस्लामी विद्वान एवम् बुद्धिजीवीहरूसित उहाँको भेटघाट थियो किनभने नयाँ दिल्ली र अङ्कारा कट्टरवादलाई हटाउने क्षेत्रमा सर-सहयोग गर्न चाहन्छन्। यो बैठकको उद्देश्य भारतको सांस्कृतिक एवम् बहुवादी संरचना र इस्लामिक परम्परालाई अझ राम्ररी बुझ्नु थियो।

डक्टर कालिनको भारत भ्रमणका केही दिनहरू पश्चात्, टर्कीका उप-विदेशमन्त्री सेडट ओनाल भारतको तीन दिवसीय यात्रामा आउनुभयो। उहाँले भारतको परराष्ट्र मामिला मन्त्रालयमा पश्चिमेली मुलुकहरूसित सम्बद्ध सचिव गितेश ए. शर्मासित द्विपक्षीय सम्बन्धहरूका विविध पक्षहरूबारे चर्चा गर्नुभयो जसमा व्यापार र लगानी सम्बन्धहरूमा वृद्धिको मुद्दापनि सामेल थियो। दुइ पक्षहरूले उनीहरूका आ-आफ्ना क्षेत्रहरूको वर्तमान स्थितिको समीक्षा गरे अनि कैयौँ बहुपक्षीय मुद्दाहरूबारे विचारहरूको आदान-प्रदान गरे।

पाकिस्तानबाट उत्पन्न चुनौतीको सामना गर्नको लागि टर्कीको समर्थन औधी महत्त्वपूर्ण छ किनभने अङ्कारा इस्लामाबादको पारम्परिक मित्र हो। यद्यपि, टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगन-ले दक्षिण एसियाली मलुकहरूसित टर्कीका सम्बन्धहरूलाई व्यापक बनाउने साथै विस्तार गर्ने प्रयासहरू गरिरहनुभएको छ।

सन् २०१७-मा श्री एर्दोगनको भारत यात्राले अलग-अलग राष्ट्रहरूसितको सम्बन्धहरूलाई अलग-अलग दृष्टिले हेर्ने नीतिको सङ्केत दियो किनभने उहाँले भारतका प्रधान मन्त्रीसित व्यक्तिगत सम्बन्धको विकास गर्ने प्रयास गर्नुभयो। केही वर्षअघि श्री एर्दोगनलाई सत्ताबाट हटाउनको लागि विद्रोह सुरु गरिएको थियो अनि विश्वको सर्वाधिक विशाल लोकतन्त्र भारतले यस घटनाका केही घण्टाहरू पश्चात् उहाँको सरकारसित सम्पर्क गरेको थियो। राष्ट्रपति एर्दोगन भारतको यो कार्यवाहीले खुबै प्रभावित हुनुभएको थियो।

पाकिस्तानले सीमा पारिबाट सञ्चालित गरिने आतङ्कवादलाई उसको नीतिको एक महत्त्वपूर्ण

हतियार बनाएको छ अनि त्योसित निप्टिनको लागि भारत, पश्चिम एसियाका तीन स्तम्भहरू- साऊदी अरब, ईरान र टर्कीसित सक्रियताका साथ संलग्न भइरहेकोछ।

पर्यटन, स्मार्ट सहरहरू, निर्माण, पूर्वाधार तथा सूचना प्रौद्योगिकी जस्ता विशिष्ट क्षेत्रहरूमा लगानीका अवसरहरूको दुवै देशहरूले अन्वेषण गरिरहेका छन्। टर्कीका राष्ट्रपतिको सन् २०१७-मा भारत भ्रमण पश्चात् द्विपक्षीय व्यापारमा निरन्तर वृद्धि भएको छ अनि अहिले यो व्यापार ८.६ अर्ब डलर पुगेको छ। सन् २०२०-सम्ममा यो व्यापारलाई १० अर्ब डलर पुऱ्याउने लक्ष्य राखिएको छ। टर्कीको फास्ट मुभिङ्ग अर्थात् त्वरित उपभोक्ता सामग्रीहरू, एफ एम सी जी उत्पादनहरूले भारतीय बजारमा प्रवेश गर्ने प्रयास गरिरहेका छन्।

बितेको डेढ दशकमा भारत-टर्की व्यापारमा उल्लेखनीय वृद्धि भएको छ। टर्कीमा भारतबाट गरिने प्रमुख निर्यातहरू हुन् – मिडियम आयल्स र इन्धन, मानव-निर्मित फिलामेन्ट्स र स्टेपल फाइबर्स, मोटर वाहनका कलपुर्जा, अर्गेनिक रसायनहरू आदि। भारतलाई टर्कीले गर्ने निर्यातहरूमा तोडिएको/नतोडिएको पप्पी बीज, मेसिन र यान्त्रिक सामग्रीहरू, फलाम र स्टीलका सामग्रीहरू, इनअर्गेनिक रसायनहरू, मोती साथै बहुमूल्य/अर्ध-बहुमूल्य रत्नहरू, धातु, नक्कली गर-गहना, संगमर्मर आदि सामेल छन्।

भारत अनि टर्की बीच ऐतिहासिक सम्बन्ध रहिआएको छ। सन् १४८१-८२-मा अटोमन सुल्तान तथा उप-महाद्वीपका शासकहरूबिच सर्वप्रथम कूटनीतिक सम्बन्ध स्थापित भएको थियो। मौलाना जलालुद्दीन रूमीको सूफी दर्शनको भारतीय उप-महाद्वीपमा धेरै प्रभाव पऱ्यो अनि यहाँ सूफीवादको आफ्नै परम्परा र भक्ति आन्दोलनले जरो गाड्यो। सन् १९१२-मा बाल्कन युद्धको समयमा तथा सन् १९१९-देखि सन् १९२४-को खिलाफत आन्दोलनको समयमा भारतका सुप्रसिद्ध स्वतन्त्रता सेनानी डॅ. एम ए अन्सारीको नेतृत्वमा चिकित्सकीय अभियानले भारत र टर्की बीचको हालसालैको ऐतिहासिक सम्बन्धको बारेमा जानकारी प्रदान गर्छ। सन् १९२०-को दशकको टर्कीको स्वाधीनता सङ्ग्राम र टर्की गणराज्यको गठनमा भारतले पनि समर्थन दिएको थियो। प्रथम विश्व युद्ध समाप्त भएपछि टर्कीप्रति गरिएका अन्यायहरूको महात्मा गान्धी स्वयंले विरोध गर्नुभएको थियो।

आलेख: कूटनीतिक संवाददाता दिपञ्जन रॉय चौधरी

अनुवादः राज कुमार सिंह

वाचन:  विष्णुबहादुर गुरुङ्ग