१७-औँ लोक सभा निम्ति मतदान सम्पन्न

संसदको तल्लो सदन लोक सभा निम्ति सात चरणको मतदान मतदाताहरूको विस्तृत सहभागिताका साथ गरिमापूर्ण तरिकाले सम्पन्न भएको छ। सामुहिक तवरमा ९० करोड मतदाताहरूको सहभागिता रहेको २०१९-को लोक सभा निर्वाचनमा लगभग ६६ प्रतिशत मतदान भयो। यसका साथै भारतले एक जीवन्त तथा सहभागितामूलक लोकतन्त्रको आन्तरिक सुदृढता र यसमाथिको विश्वास पुनः प्रदर्शित गरेको छ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता देख्न पाइयो र निर्वाचन आयोगले पनि वरिष्ठजनहरू र दिव्याङ्ग मतदाताहरूको लागि मजबुत व्यवस्थाहरू गरेको थियो। इन्दौरकी तीन फीट कद भएकी विनिता जैनले मतदान पछि मसी लगाइएको औँली गर्वका साथ देखाएकी थिइन्। पहिलो पल्ट बिहारको पटनामा अङ्ग जोडिएका दुइ जुम्लेहा बहिनी साबा र फराहले दुइ बेग्ला-बेग्लै व्यक्तिहरूको रूपमा मतदान गरे। लोक सभा निर्वाचनहरूले विदेशमा बस्ने भारतीयहरूलाई समेत प्रेरित गरेको तथ्य धेरै जना आफ्नो मत खसाल्नकै लागि स्वदेश आएको कुराबाट प्रमाणित हुन्छ। स्वदेशमै पनि दैनिक ज्यालामा काम गर्नेहरू लगायत असंख्य मानिसहरूले आफ्नो कामबाट बिदा लिएर मतदान गर्नकै लागि आ-आफ्नो घर पुगेका थिए। यस उच्च मतदानको लागि श्रेय, मतदाताहरूलाई सचेत र जागरूक पार्नको लागि चलाइएको अभियानलाई नै दिइनु पर्छ। मतदाता सूचीमा ८ करोड ५० लाख नयाँ मतदाताहरू थपिएको तथ्यबाट नै निर्वाचन आयोगद्वारा गरिएको तयारी बारे बुझ्न सकिन्छ।

आईतबार आठ राज्यहरूका ५९ लोक सभा क्षेत्रहरूको लागि अन्तिम चरणको मतदान सम्पन्न भयो। सबै मिलाएर ५४२ लोक सभा क्षेत्रहरूको लागि निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगले मतदाताहरूलाई प्रभावित गर्न धनको प्रयोग विरूद्ध कार्यवाही गर्दै तामिलनाडुको भेल्लोर लोक सभा क्षेत्रमा निर्वाचन खारेज गरेको थियो। ५४५ सदस्य भएको लोक सभामा राष्ट्रपतिद्वारा दुइ जना एङ्लो-इन्डियन सदस्यहरू मनोनित गरिन्छ।

हिमाचल प्रदेशको किनौरमा १०२ वर्षिय श्याम शरण नेगी मतदानको लागि आउनु हुँदा निर्वाचन अधिकारीले हर्षोल्लासका साथ उहाँको स्वागत गर्नुभएको थियो। श्री नेगीको, उहाँ एक वरिष्ठ नागरिक हुनुभएकै लागि मात्र होइन, उहाँ भारतमा प्रथम मतदाता हुनुभएको लागि पनि शानदार स्वागत गरिनुपर्छ। उहाँले सन् १९५१-मा सम्पन्न चुनाउमा समेत आफ्नो भोट दिनुभएको थियो। उहाँको राज्य हिमाचल प्रदेशका साथै बिहार पश्चिम बङ्गाल, पञ्जाब, मध्य प्रदेश, उत्तर प्रदेश, झारखण्ड र केन्द्र शासित प्रदेश चण्डीगढ सातौँ  र अन्तिम चरणको मतदानमा परेका थिए। यस चरणमा वर्तमान प्रधान मन्त्री नरेन्द्र मोदी लगायत ९१८ जना उम्मेदवारहरू मैदानमा थिए। यस चरणमा लगभाग १ करोड वैध मतदाताहरूले मतदान गर्नु थियो जस मध्ये ६४ प्रतिशतले मतदान गरे।

चुनाउमा लिङ्ग समानता सुनिश्चित गरेको लागि निर्वाचन आयोगको प्रशंसा गरिनु पर्छ। सन् २००९-को लोक सभा चुनाउमा पुरूष र महिला मतदाताहरू बीच ९ प्रतिशतको अन्तर रहेको थियो जुन घटेर २०१४-मा १.४ प्रतिशतमा पुग्न गयो र वर्तमान निर्वाचनमा यो मात्र ०.४ प्रतिशत रहेको छ। निकै राज्यहरूमा महिला मतदाताहरूको संख्या पुरूष मतदाताहरूको भन्दा अधिक रहेको थियो।

३८ दिनसम्म चलेको निर्वाचन अवधिमा चुनाउ सम्पन्न गर्नको लागि निर्वाचन आयोगले केन्द्र तथा राज्यहरूका विभिन्न विभागहरूबाट झिकाइएका दशौँ लाख कर्मचारीहरूको मद्दत लिएको थियो। स्वतन्त्र एवम् निष्पक्ष निर्वाचन सुनिश्चित गर्न अर्ध सैनिक बलहरूका सैयौँ कम्पनीहरूलाई पनि खटाइएको थियो। कुनै भय एवम् लोभ बिनानै निर्वाचन सम्पन्न गराइनु पर्छ भन्ने जनमत अनुरुपनै निर्वाचन आयोगले नकदी, रक्सी तथा अन्य प्रलोभनकारी वस्तुहरूको ओसार-पसारमाथि तीक्ष्ण नजर राखेको थियो र यसैक्रममा ३,४०० करोड रूपियाँभन्दा अधिक रकमका प्रतिबन्धित सर-सामानहरू जफत  गरियो। अचम्मको कुरा त यो छ कि सरकारले निर्वाचनमाथि गरेको खर्चभन्दा धेरै रकमका प्रतिबन्धित सर-सामानहरू जफत गरिएको छ। उल्लेखनीय कुरा के रहेको छ भने, जफत गरिएको धन भारतको समेकित निधीमा जम्मा गरिन्छ र  यसलाई बजटमा सामेल गरिन्छ।

मतदाताहरूको पनि प्रशंसा गरिनु जरूरी छ किन भने अहिलेसम्म भएका जम्मा १७ लोक सभा निर्वाचनहरू मध्ये यो ९-औँ अवसर हो जसमा मतदान ६० प्रतिशतभन्दा अधिक रहेको छ। उच्च मतदानबाट भारतको लोकतान्त्रीक शासन व्यवस्थामाथि जनताको गहिरो विश्वासकै कीटान हुन्छ। मतगणना २३ मईको दिन हुनेछ र भी भी पी ए टी मेसिनबाट प्राप्त कागजी सत्यापन पर्चाहरूका नमूनाहरूसित मतदान मसिनहरूबाट प्राप्त परिणामहरूको रुजु गरिनु यसको एउटा थप विशेषता हुनेछ। २०१९-का लोक सभा निर्वाचनहरूबाट सहि अर्थमा नै भारतमा ब्यालट नै शक्तिको श्रोत हो भन्ने तथ्यको पुष्टि भएको छ।

आलेख: न्यू इन्डियन एक्सप्रेसका वरिष्ठ विशेष संवाददाता, मनिष आनन्द

अनुवादक एवम् वाचकः एम. एन. उपाध्याय