इन्डोनेसियामा जोकोवीको सत्तामा वापसी

एक महिना लामो प्रतीक्षापछि, जोकोवी नामले लोकप्रिय जोको विडोडोलाई इन्डोनेसियाको राष्ट्रपति पदका विजेता घोषित गरियो। एप्रिल १७ तारिखका दिन इन्डोनेसियामा चुनाव भएको थियो। राष्ट्रपति र उपराष्ट्रपति पदका सँग-सँगै पिपल्स कन्सल्टेटिभ एसेम्बली र स्थानीय लेजिस्लेटिभ निकायका लागि पनि निर्वाचन भएको थियो। इन्डोनेसियाको निर्वाचन आयोग (के. पि. यु.)-ले १५ करोड ४० लाख मतदाता र ससाना सैयौँ द्वीपहरू भएको यो देशमा यी सबै निकायका लागि एकै दिनमा मतदान गराउने जटिल प्रक्रिया पूरा गरेपछि मे २१ तारिखमा परिणामहरूको घोषणा गऱ्यो।

भारतमा नरेन्द्र मोदी नेतृत्वाधीन राष्ट्रिय जनतान्त्रिक गठबन्धन र अस्ट्रेलियामा स्कट मोरिसनको विजय सँग-सँगै भएको जोकोवीको जित, एसियाको विस्तृत सन्दर्भमा रोचक बन्न पुगेको छ। यी तीन छिमेकी देशका चुनाव परिणामहरू घोषित हुना साथ लोकतान्त्रिक निर्वाचनको बृहत् सामूहिक चाड पनि सम्पन्न भएको छ र यी देशका मतदाताहरूले ब्यालटमार्फत आफ्ना चाहनाहरू पनि व्यक्त गरिसकेका छन्।

यहाँ उल्लेख गर्नु पर्ने चाखलाग्दो कुरा के छ भने, यी तीनवटै देशका नेताहरूलाई चुनाव जित्न निकै हम्मे-हम्मे पर्ने पूर्वानुमान गरिएको थियो। तर कुनै पनि पूर्वानुमान सही साबित भएनन् र इन्डोनेसियामा जोकोवी, भारतमा मोदी र अस्ट्रेलियामा मोरिसनले सजिलै चुनावहरू जित्नुभयो।

यो चुनावमा जोकोवीले साढे ८ करोडमध्ये ५५ प्रतिशतभन्दा बढी मत पाउनुभयो। उहाँका विपक्षी तथा स्पेसल फोर्सेसका पूर्व कमान्डर प्राबोओ सुबियान्तोले ४५ प्रतिशत मत पाउनुभयो। प्राबोओले सन् २०१४ मा पनि जोकोवीविरुद्ध चुनाव लड्नुभएको थियो तर सफल हुन सक्नुभएको थिएन। यो वर्षको चुनावमा जोकोवीको जितको अन्तरले, इन्डोनेसियाका मानिसहरूमाझ उहाँको लोकप्रियता कति धेरै रहेछ भन्ने कुरा साबित गरेको छ।

उता पिपल्स कन्सल्टेटिभ एसेम्बली, अर्थात् राष्ट्रिय एसेम्बलीका लागि भएको चुनावमा पनि जोकोवी नेतृत्वाधीन इन्डोनेसियन डेमोक्रेटिक पार्टी अफ स्ट्रगल (पि. डि. आइ. पि.), २ करोड ७० लाख मत प्राप्त गरी सबैभन्दा बढी मत हासिल गर्ने पार्टीका रूपमा सामुन्ने आएको छ। दोस्रो स्थान हासिल गर्ने गरिन्द्र पार्टीले १ करोड ७६ लाख मत प्राप्त गऱ्यो।

यद्यपि, जोकोवीको जित घोषित हुने बित्तिकै प्राबोओ र उहाँका समर्थकहरूले चुनाव प्रक्रियालाई अनुचित र पक्षपातपूर्ण बताउँदै जनादेश स्वीकार्न अस्वीकार गरेपछि निर्वाचनका परिणामहरूका सम्बन्ध विवाद उत्पन्न भएको छ। प्राबोओको विरोधका कारण जकार्तामा दङ्गाफसाद सुरु भयो र प्राबोओका समर्थकहरूले दन्काएका भनी आशङ्का गरिएको हिंसाको आगोमा ६ जनाको मृत्यु भएको र २०० भन्दा बढी मानिसहरू घाइते भएका रिपोर्ट छ। जो होस्, हाल स्थिति नियन्त्रणमा छ र कुनै किसिमको अप्रिय घटना नहोस् भन्नाका खातिर केही समयका लागि सामाजिक सञ्जालहरूमाथि रोक लगाइएको छ।

प्राबोओले चुनाव परिणामहरूलाई संवैधानिक अदालतमा चुनौती दिने फैसला गर्नुभएको छ। स्मरणीय कुरा के छ भने, उहाँले निर्वाचनका नतिजाहरूलाई पछिल्लोपल्ट पनि चुनौती दिनुभएको थियो, तर सफलता भने उहाँको हात लाग्न सकेको थिएन। विपक्षले,चुनावमा धाँधली भएको साबित गर्ने कुनै विश्वसनीय तथ्य पेस गर्न नसकेकाले यसपालि पनि उस्तै परिणाम आउने अपेक्षा गरिँदै छ।

राष्ट्रपति जोकोवी र प्रधान मन्त्री मोदी पुनः सत्तामा आएपछि भारत र इन्डोनेसियाबिचका सम्बन्धहरू अझ सुधार भई अर्को स्तरमा पुग्ने देखिएको छ। भारत र इन्डोनेसियाले  क्षेत्रीय शान्ति तथा स्थिरता, आर्थिक विकास तथा पारम्परिक एवम् अपारम्परिक सुरक्षा चुनौतीहरूलगायतका विभिन्न विषयहरूमा आफ्ना चासो र सरोकार आदान-प्रदान गरेका छन्। यसका अतिरिक्त, पूर्व एसियाली शिखर सम्मेलन र आसियान क्षेत्रीय फोरमजस्ता आसियान नेतृत्वाधीन परिपाटीलगायत दुवै देशहरू जी-२० जस्ता महत्त्वपूर्ण सङ्गठनका पनि सदस्य हुन्।

नरेन्द्र मोदीले सन् २०१८ मा गर्नुभएको इन्डोनेसिया भ्रमणका क्रममा दुवै देशहरूले विस्तृत सामरिक साझेदारीको क्षेत्रमा आफ्ना सम्बन्धहरू नयाँ उचाइमा पुऱ्याएका थिए। इन्डोनेसियाको विश्वव्यापी समुद्री आधार र भारतको पूर्वाभिमुखी कार्यनीतिका साथै ‘सागर’ नामले जानिने सबै अञ्चलका लागि सुरक्षा तथा विकास नामक कार्यक्रममा निहित समानताका कारण दुवै देशका सामरिक तथा आर्थिक प्राथमिकताहरू एकार्कासँग मिल्ने किसिमका भएका छन्। दुवै देशबिचको द्विपक्षीय व्यापार २० अर्ब डलर छ। भारतका प्रधान मन्त्रीको इन्डोनेसिया भ्रमणका बेला दुवै देशले सन् २०२५ सम्ममा द्विपक्षीय व्यापारलाई ५० अर्ब डलर पुऱ्याउने सङ्कल्प लिएका थिए।

अब अर्को ५-वर्षे जनादेश प्राप्त भइसकेपछि दुवै नेताहरूले आ-आफ्ना देशका हितहरूलाई परस्पर सहयोगमार्फत अघि बढाउने सम्भावना देखिएको छ र यस कार्यका लागि व्यापार तथा लगानीको क्षेत्रमा तेर्सिएका तगारोहरूलाई पन्साउनुका साथै सहयोगका नयाँ परिपाटीहरूको खोज गरी तिनीहरूलाई व्यवहारमा ल्याउनु पर्ने छ।

आलेख: पूर्व तथा दक्षिण पूर्व एसिया मामिलाका सामरिक विश्लेषक, डा. राहुल मिश्र

अनुवाद : दीपक पौडेल