पाकिस्तानद्वारा आफ्नो नासिदै गइरहेको अर्थव्यवस्थाको माझमा भ्रष्टाचारविरुद्ध अभियान

पाकिस्तानका भूतपूर्व राष्ट्रपति आसिफ अली जरदारीलाई पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्युरो (एन.ए.बि.) अर्थात् राष्ट्रिय जबाफदेही ब्युरोले जाली बैँक खाता राखेको आरोपमा गिरफ्तार गरेको छ। श्री जरदारी पाकिस्तान पिपल्स पार्टी (पि.पि.पि.)-का अध्यक्ष बिलावल भुट्टो जरदारीका पिता हुनुहुन्छ र उहाँ पाकिस्तान नेशनल असेम्बलीका वर्तमान सदस्य पनि हुनुहुन्छ। इस्लामाबाद उच्च अदालतद्वारा श्री जरदारी र उहाँकी बैनी फरयाल तालपुरलाई गिरफ्तारी-पूर्व जमानत अस्वीकार गरिएपछि यो गिरफ्तारी गरिएको हो।

यो कहानी सन् २०१५-मा त्यतिबेला सुरु भएको थियो जब पाकिस्तानको सङ्घीय अन्वेषण एजेन्सी (एफ.आइ.ए.)-ले एक सुराकको आधारमा समिट बैँक, सिन्ध बैँक र युबिएल-मा जाली खाताहरू र २९ वटा जाली खाताहरूमार्फत् झुटा लेनदेनहरूमाथि जाँच थालेको थियो।

सुरुआतमा, श्री जरदारी र उहाँकी बैनीलगायत सात व्यक्तिहरूलाई सन्दिग्ध लेनदेनका लागि ती खाताहरूको प्रयोगमा संलग्न भेट्टाइएको थियो। यी खाताहरूको प्रयोग कथित रूपमा घुसको रूपमा प्राप्त रकमहरू सोझ्याउनका लागि गरिएको थियो।

पछि, पाकिस्तानको सर्वोच्च अदालतले यो मामिलामा एफ.आइ.ए.-को जाँचमा अबेर भएकोमा स्वतः संज्ञान लिएको थियो। सर्वोच्च अदालतले यो मामिलाको जाँच गर्न एउटा ज्वाइन्ट इन्भेस्टिगेटिभ टीम (जे.आइ.टि.) अर्थात् संयुक्त अन्वेषण टोली पनि गठन गरेको थियो।

अन्वेषणको दौरान जे.आइ.टि.-ले यो मामिलासित सम्बन्धित थप ३३ सन्दिग्ध खाताहरू फेला पाऱ्यो। वास्तवमा, यो मामिलासित सम्बन्धित करिब १७० जना व्यक्तिहरूलाई ‘नो फ्लाई लिस्ट’ अर्थात् देश छाडेर बाहिर जान नपाउने सूचीमा राखियो।

एन.ए.बि. र एफ.आइ.ए.-को आरोपअनुसार एउटा जाली कम्पनीको जाली खातामा ४.४ अर्ब पाकिस्तानी रुपियाँ आएको थियो जसमध्ये ३ करोड रुपियाँ दुई भिन्न समयमा जरदारी समूहलाई भुक्तान गरिएको थियो।

एफ.आइ.ए.-ले कराचीको बैँकिङ्ग अदालतमा मामिला दर्ता गरेको छ जसले पाकिस्तानका भूतपूर्व राष्ट्रपतिका लागि पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि, पाकिस्तान पिपल्स पार्टीका नेताले अगस्ट २०१८-मा इस्लामाबाद उच्च अदालतबाट जमानत प्राप्त गर्नुभएको थियो। पछि, यो मामिला कराचीको जबाफदेही ब्युरो कार्यालयबाट सरेर इस्लामाबादको जबाफदेही अदालतमा पुग्यो किनभने अन्वेषणकर्ताहरूले मामिलालाई पाकिस्तान पिपल्स पार्टीले प्रभावित गर्न खोजेको आरोप लगाएका थिए।

अन्वेषणको दौरान मामिलामा दुईजना अभियुक्तहरू श्री जरदारी र सुश्री तालपुरविरुद्ध सरकारी गवाह बने।

जरदारीका कैयौँ घनिष्ठ मित्रहरूलाई यो मामिलामा गिरफ्तार गरिएको छ भने पाकिस्तान पिपल्स पार्टीकी नेत्री एवम् श्री जरदारीकी बैनी अन्तरिम जमानतमा हुनुहुन्छ जो विगत सोमबार रद्द हुनुभन्दा पहिले कैयौँपल्ट विस्तारित भएको थियो। पाकिस्तानका भूतपूर्व राष्ट्रपति भ्रष्टाचारका कम्तिमा अन्य सात मामिलाहरूमा जमानतमा हुनुहुन्छ।

पाकिस्तान राजनीतिक उथलपुथलबाट गुज्रिरहेको बेलामा इमरान खान सरकारले जनताको ध्यान अन्य विषयहरू जस्तै महङ्गी र बेरोजगारबाट हटाएर भ्रष्टाचारतिर मोड्न चाहन्छ। तसर्थ, श्री जरदारीको गिरफ्तारीपछि पाकिस्तानका प्रधान मन्त्रीले भ्रष्टाचारका आरोपीहरूको खेदो खन्ने कसम खानुभएको छ। पाकिस्तानको बजेट पेस गरिएपछि राष्ट्रको नाम एक सन्देशमा श्री खानले “रियासत-ए-मदिना” बमोजिम एउटा भ्रष्टाचारमुक्त राष्ट्रको सृजना गर्ने कुरा भन्नुभएको छ।

श्री खानले के पनि भन्नुभयो भने विगत शताब्दीको अन्तिम चौथाइ भागमा देशमा धेरै स्कूल र अस्पतालहरूको निर्माण गरिएन। पाकिस्तानका प्रधान मन्त्रीले ‘नयाँ’ पाकिस्तान एक आदर्शका साथै आधुनिक इस्लामिक कल्याणकारी राज्य हुनेछ भन्नुभएको छ। आतङ्कवाद र आतङ्की षडयन्त्रकारीहरूका लागि शरणस्थलबाट मुक्त पाकिस्तानको सृजनाको मामिलामा भने उहाँ मौन रहनुभयो।

श्री खानका शब्दहरू यसै निकै साहसिक थिए, तर उहाँले कुन कुरा याद राख्नु पर्दछ भने उहाँको मुलुकले एउटा धराशायी हुँदै गइरहेको अर्थव्यवस्थाको सामना गरिरहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको सङ्कटबाट उकास्ने प्याकेजमा शर्तहरू थुप्रै छन् र रकम अतिनै कम छ। ६ अर्ब डलरको सो प्याकेजको समय वर्षौंसम्म विस्तारित छ। पाकिस्तानको बजेटले देश यो वित्त वर्षमा २.४ प्रतिशत बढ्ने अपेक्षा गर्दछ। मुद्रास्फीति ११ देखि १३ प्रतिशतको उच्च स्तरमा रहनेछ, करहरू बढाइएका छन् र ऊर्जाका मूल्य अन्तर्राष्ट्रिय मुद्रा कोषका शर्तहरूबमोजिम बढाइएका छन्। मुलुकको बजेटीय खर्च करिब ७ ट्रिलियन पाकिस्तानी रुपियाँ हुने सम्भावना छ जबकि खुद राजस्व मात्र ३.५ ट्रिलियन पाकिस्तानी रुपियाँ हुनेछ। बाँकी सबै रकम कहाँबाट आउने हो भन्ने प्रश्नको जबाफ पाकिस्तानका वित्त मन्त्री हम्माद अजहरले दिनुभएको छैन। रोजगार सृजनाको कहीँ कतै उल्लेख छैन।

क्रिकेटको खेलमा अलिकति पनि नजर छल्न सकियो भने मूल्यवान रनहरू पाइन्छ भन्ने कुरा श्री खानलाई थाहा छ र तसर्थ, उहाँ मानिसहरूलाई लट्याउने किसिमको खेल खेल्दै हुनुहुन्छ।

आलेख: कौशिक रॉय

अनुवादः विष्णुबहादुर गुरुङ्ग