बिशकेकमा एस.सि.ओ. शिखर बैठक

प्रधान मन्त्री नरेन्द्र मोदीले चुनावमा प्रचण्ड विजयपछि एक प्रमुख विदेश नीति पहल गर्दै किर्गिजस्तानको राजधानी बिशकेकमा शाङ्घाई सहयोग सङ्गठन, एस.सि.ओ.-को शिखर बैठकमा भाग लिनु भयो। शिखर बैठकलाई सम्बोधित गर्दै भारतका प्रधान मन्त्रीले आतङ्कवादलाई प्रोत्साहन, समर्थन र आर्थिक सहायता प्रदान गर्ने मुलुकहरूलाई अलग्याउनु पर्छ भन्नुभयो। उहाँले के पनि भन्नुभयो भने एकपक्षीयवाद र संरक्षणवादले कसैलाई पनि फाइदा पुऱ्याएको छैन। उहाँले शाङ्घाई सहयोग सङ्गठनको सिद्धान्तलाई संक्षिप्त अङ्ग्रेजी शब्द H.E.A.L.T.H. हेल्थमा समाहित गर्नुभयो जसको पूर्ण रूप हुन्छ –  हेल्थ फर कोअपरेशन, एनर्जी कोअपरेशन, अल्टरनेटिभ एनर्जी, लिटरेचर एन्ड कल्चर, टेरोरिज्म फ्री सोसाइटी, र ह्युमेनिटरियन कोअपरेशन अर्थात् स्वास्थ्यका लागि सहयोग, ऊर्जा सहयोग, वैकल्पिक ऊर्जा, साहित्य एवम् संस्कृति, आतङ्कवादमुक्त समाज, र मानवीय सहयोग। श्री मोदीले क्षेत्रमा सम्पर्कताको आवश्यकतामाथि बल दिनुभयो र यस दिशामा भारतद्वारा गरिएका प्रयासहरूमाथि प्रकाश पार्नुभयो। अफगानिस्तानमा शान्ति र स्थिरताको आवश्यकतामाथि बोल्दै उहाँले यसका लागि अफगान नेतृत्व, अफगान नियन्त्रित र अफगान स्वामित्वको प्रयासलाई दोहोऱ्याउनुभयो।

शाङ्घाई सहयोग सङ्गठन शिखर बैठकको विशेषगरि यो क्षेत्र र व्यापक रूपमा विश्वका लागि आफ्नै सामरिक महत्त्व भएतापनि राष्ट्र र सरकार प्रमुखहरूबिच द्विपक्षीय बैठकहरूले मिडियामा प्रमुखता पाएको छ। यस पृष्ठभूमिमा प्रधान मन्त्री मोदीले चीनका राष्ट्रपति शी जिनपिङ्ग र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका साथ बिशकेक पुगेपछि गर्नुभएको द्विपक्षीय बैठकहरूले ठुलो सामरिक महत्त्व हासिल गरेको छ। राष्ट्रपति शी र राष्ट्रपति पुटिन दुवैले प्रधान मन्त्री मोदीलाई चुनावमा उहाँको विजयका लागि बधाई पहिले नै दिइसक्नुभएको थियो।

बितेका वर्षहरूमा श्री मोदीले यी दुई नेताहरूसित निजी सम्बन्ध विकसित गर्नुभएको छ। श्री मोदी भारतको प्रधान मन्त्री बन्नुभएपछि प्रधान मन्त्री मोदी र राष्ट्रपति शी बिच अहिलेसम्म कम्तिमा बाह्रपटक भेटघाट भइसकेको छ। भारत सिमाना पारीबाट हुने आतङ्कवादबाट पीडित हुन जारी नै रहेको हुँदा भारतका प्रधान मन्त्रीले चिनियाँ समकक्षीलाई भारतद्वारा पाकिस्तानसित शान्तिका लागि गरेिएका प्रयासहरूबारे बताउनुभयो, तर यी प्रयासहरूलाई “भताभुङ्ग” पारिएको छ। उहाँले अगाडि के भन्नुभयो भने पाकिस्तानले “आतङ्कवादबाट मुक्त” वातावरण सृजना गर्नु पर्ने आवश्यकता छ।

शाङ्घाई सहयोग सङ्गठनप्रति भारतको रवैया अत्यन्तै सकारात्मक छ। यो सांस्कृतिक तत्वबाट स्पष्ट झल्किन्छ जसलाई निकै जोडसित दोहोऱ्याइएको छ। भारत र मध्य एसियाका प्रायःजस्ता मुलुकहरूबिच अनेकौँ समानताहरू रहेका कुरालाई ध्यानमा राखेर भारत घनिष्ठताका साथ काम गर्न सहमत भएको छ। शाङ्घाई सहयोग सङ्गठनका सदस्य मुलुकहरूमा फिल्म महोत्सवहरूको आयोजना गरेर भारतीय फिल्महरू प्रदर्शित गरिनेछन्। यसलाई उज्बेकिस्तान, ताजिकिस्तान र किर्गिजस्तानमा पहिलेनै निकै राम्रो प्रतिक्रिया प्राप्त भएको छ। समग्रतामा, सन्देश के छ भने भारतले शाङ्घाई सहयोग सङ्गठनको प्रक्रियामा अत्यन्तै सकारात्मक तत्वहरू हेर्न चाहन्छ र भारतले त्यसमा योगदान गर्न चाहन्छ। भारत शाङ्घाई सहयोग सङ्गठनका सदस्य मुलुकहरूसित मिलेर काम गर्न तयार छ।

शाङ्घाई सहयोग सङ्गठन शिखर बैठकको परिणामस्वरूप आएका केही महत्त्वपूर्ण दस्तावेजहरू हुन् – लागू पदार्थ रोधक रणनीति र कार्य योजनाको दस्तावेज। तीन दस्तावेजहरू स्वास्थ्य सेवा, पर्यावरण र खेलकुदमा सहयोगको सम्बन्धमा छन्।

जम्मा १४ निर्णयहरूमाथि राष्ट्र प्रमुखहरूको परिषदमा हस्ताक्षर गरिए। शिखर बैठकको छेकमा भएका बैठकहरूमा भारतले शाङ्घाई सहयोग सङ्गठन र राष्ट्रसंघीय विशिष्ट निकायहरूबिच केही सहयोग सहमतिहरूमाथि हस्ताक्षर गरेको छ।

आतङ्कवादमाथि एउटा संयुक्त घोषणामाथि हस्ताक्षर गरियो। एस.सि.ओ. वार्तालापको सिद्धान्त वक्तव्यमा सर्वसम्मति हासिल गर्नु हो। एस.सि.ओ.-का सबै सदस्य मुलुकहरूले आतङ्कवादविरुद्ध एउटा कडा वक्तव्यलाई अत्यन्तै कडा भाषामा अनुमोदन गरेका छन्। तसर्थ, आतङ्कवादमाथि एस.सि.ओ.-को कडा अडानको नै यो पुनर्पुष्टि हो।

आगामी शिखर बैठकका लागि एउटा योजनाको खाका पनि तयार गरिएको छ। अध्यक्षताको भार रसियालाई हस्तान्तरित गरिएको छ र रसियाले राष्ट्र प्रमुखहरूको परिषदको शिखर बैठकमा पहिले नै जानकारी दिएअनुसार आगामी शिखर बैठकमा करिब ९० कार्यक्रमहरू हुनेछन्।  राष्ट्रपति पुटिनले बिशकेकमा आफ्नो सम्बोधनमा रसियाले एक महत्त्वपूर्ण क्षेत्र साइबर-आतङ्कवाद, सूचना प्रौद्योगिकीमा सहयोग र डिजिटाइजेशनका साथै दोस्रो विश्व युद्धको ७५ वर्षको अवसरमा समारोहहरू जस्ता क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नेछ भन्नुभयो। भारत एक शान्तिपूर्ण, विकसित र आतङ्कमुक्त विश्वका लागि वचनबद्ध छ जो शाङ्घाई सहयोग सङ्गठनका प्रमुख स्तम्भहरू मध्ये एक हो।

आलेख: चिनियाँ मामिलासम्बन्धी सामरिक विश्लेषक डॅ. रूपा नारायण दास

अनुवादः विष्णुबहादुर गुरुङ्ग