भारत-संयुक्त अरब अमिरात सम्बन्ध नौलो उँचाइ तर्फ

 भारत र संयुक्त अरब अमिरातबीच विद्यमान सम्बन्धको स्तरलाई इङ्गित गर्ने दिशामा सो मुलुकका विदेश मन्त्रीद्वारा विगत पाँच वर्षमा गरिएको लगातार पाँच भारत यात्राहरूभन्दा बढी प्रष्ट वा प्रत्यक्ष सङ्केत सम्भवतः अर्को केही हुन सक्दैन। संयुक्त अरब अमिरातका विदेश मामिला एवम् अन्तर्राष्ट्रिय सहयोग मन्त्री महामहिम अब्दुल्लाह बिन जायेद-अल नाहयानद्वारा यसै जुलाई ७ र ९ तारिख बीच गरिएको तीन दिने भारत भ्रमण विगत पाँच वर्षमा गरिएको उहाँको लगातार पाँचौँ यात्रा थियो र यसले निस्सन्देहनै हाल विद्यमान सम्बन्धहरूको स्तरलाई अझ गहिरो पार्नका साथै दुवै बीचको ऐतिहासिक, सांस्कृतिक र राजनैतिक सम्पर्कलाई एउटा नौलो उँचाइसम्म पुऱ्याउने क्रममा नौलो दिशा प्रदान गर्नेछ। यो घटनाक्रम प्रधान मन्त्री नरेन्द्र मोदीद्वारा २०१५-मा गरिएको संयुक्त अरब अमिरातको त्यस भ्रमण संगै सुरू भएको थियो जुन कुनै पनि भारतीय प्रधान मन्त्रीद्वारा ३४ वर्षमा गरिएको खाडी राष्ट्रको प्रथम यात्रा रहेको थियो। सन् २०१५-मा गरिएको यसै यात्राको दौरान दुइ मुलुकहरूले रणनीतिक साझेदारीको युगमा प्रवेश गरेका थिए। संयुक्त अरब अमिरात भारतको रणनीतिक पेट्रोलियम भण्डारण कार्यक्रममा सहभागिता गर्ने प्रथम मुलुक पनि थियो। अन्तर्राष्ट्रिय सहयोग मन्त्रीको पद समेत सम्हाल्नु हुने विदेश मन्त्रीको वर्तमान यात्रा सम्बन्धताको वर्तमान स्वरूपको विविधिकरण गर्ने क्रममा पनि सहायक हुनेछ।

संयुक्त अरब अमिरातका विदेश मन्त्रीसंग एउटा उच्च स्तरीय व्यावसायिक शिष्टमण्डल पनि आएको थियो। आज भारत संयुक्त अरब अमिरातको तेस्रो सर्वबृहत व्यापार साझेदार हुनुका साथै यस महत्त्वपूर्ण खाडी सहयोग परिषद (जिसिसि) मुलुकहरूबाट ऊर्जाको चौथो सबैभन्दा ठुलो आयातकर्ता पनि हो। यहाँ कुन कुरा पनि उल्लेखनीय छ भने संयुक्त अरब अमिरात भारतीय मूलका सबैभन्दा धेरै मानिसहरूको बसोबास भएको मुलुकहरू मध्ये एक हो जसको संख्या लगभग ३३ लाख रहेको छ र उनीहरूले संयुक्त अरब अमिरातको सर्वाङ्गिण विकासमा एउटा महत्त्वपूर्ण भूमिका खेलेका छन्।

भारतमा आफ्नो तीन दिने प्रवास अवधिमा श्री अब्दुल्लाह बिन जायेद अल नाहयानले उहाँका भारतीय समकक्षी, कुटनयिकबाट विदेश मन्त्री बन्नुभएको डॅ. एस जयशंकरसित भेटघाट गर्नुभयो अनि दुवै नेताहरूले व्यापार एवम् निवेश, प्रतिरक्षा एवम् सुरक्षा, ऊर्जा सुरक्षा एवम् आतङ्कवादको प्रतिकार तथा जनस्तरीय सम्पर्कहरूसित सम्बन्धित विषयहरू बारे विचार-विमर्श गर्नुभयो।

संयुक्त अरब अमिरातका विदेश मन्त्रीले डॅ. एस जयशंकरलाई सिरिया, लेबनन र यमनका राजनैतिक घटनाहरूबारे राजनैतिक एवम् सामरिक परिदृश्यहरूबारे पनि चर्चा गर्नुभयो। आतङ्कवादको मुकाबिला, भारत र संयुक्त अरब अमिरात बीचका सम्बन्धहरूको महत्त्वपूर्ण कडी रहँदै आएको छ र दुवैले आतङ्कवादरूपी व्याधिसित सबै प्रकारले लड्नु पर्ने कुरा दोहोऱ्याएका छन्।

यात्रारत विदेश मन्त्रीले आफ्नो यात्राको अन्तिम चरणमा दोस्रोपल्ट सत्तामा आउनुभएको प्रधान मन्त्री मोदीसित भेटघाट गर्नुभयो र दुवैजनाले सम्बन्धहरूलाई एउटा नौलो उँचाइमा पुऱ्याउने आफ्नो प्रतिबद्धता दोहोऱ्याउनुभयो। यस बैठकमा दुवै पक्षहरूले, दुइ मुलुकहरूबीच सहयोगका क्षेत्रहरूका साथै उभय मुलुकहरूका आकांक्षाहरूको पोषण निम्ति ती सम्बन्धहरूको अन्य विभिन्न क्षेत्रहरूमा समेत अभिवृद्धि गर्ने विषयबारे चर्चा गरे। श्री अब्दुल्लाह बिन जायेद अल नाहयानले, पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्रालयद्वारा आयोजित एउटा संयुक्त कार्यशालामा भाग लिने क्रममा जुन २०१८-मा दिल्ली आउनुभएको बेला पनि प्रधान मन्त्री मोदीसित भेटघाट गर्नुभएको थियो। त्यसपूर्व उहाँले २०१६ र २०१७-मा पनि अधिराजकुमार शैख मोहम्मद बिन जायेद-अल-नाहयानसंग नयाँ दिल्लीको यात्रा गर्नुभएको थियो। भारत-संयुक्त अरब अमिरात सम्बन्धहरू विगत वर्षहरूमा निरन्तर रूपले गतिशिल रहेका छन् र संयुक्त अरब अमिरातले इस्लामिक सहयोग परिषद (ओआईसि)-को अध्यक्षको रूपमा, मार्च २०१९-मा संगठनको ४६ औँ विदेश मन्त्री परिषदको बैठकमा भारतलाई “सम्माननीय अतिथि”-को रूपमा दिएको निम्तो हालका वर्षहरूमा एउटा ठुलो प्रोत्साहक साबित भएको छ।

यस यात्राबाट के देख्न पाइएको छ भने प्रधान मन्त्री मोदीद्वारा परिकल्पित आमरूपमा अरब विश्व र विशेषगरि खाडी क्षेत्रसितको सक्रिय अन्तर्क्रिया जारी रहने छ र खाडी राष्ट्रहरूसित विगत वर्षहरूमा हुर्काइएका सम्बन्धहरूलाई उच्च गतिको मार्गतर्फ लगिने छ। अलिक परका छिमेकीहरूको सम्बन्धमा भारतको एउटा सुपरिभाषित नीति रहनुका साथै क्षेत्रमा आफ्ना आर्थिक र रणनीतिक हितहरूको सुरक्षा गर्न एउटा प्रभावी रूपरेखा पनि रहेको छ। यसका अतिरिक्त संयुक्त अरब अमिरातका विदेश मन्त्रीको यो भ्रमण प्रधान मन्त्री मोदीको प्रथम कार्यकाल अन्तर्गत बनाइएको सुदृढ सम्बन्धहरूको आधार कुनै परिवर्तन बिनानै भविष्यमा पनि जारी रहने कुराको सन्देश दिने क्रममा एउटा शिष्टाचार यात्रा पनि रहेको थियो।

आलेखः पश्चिम एसिया मामिलाका सामरिक विश्लेषक, डॅ. फज्जुर रहमान सिद्दिकी

अनुवादकः महेन्द्रनाथ उपाध्याय