इङ्गल्याण्ड आई सी सी विश्वकप २०१९ च्याम्पियन

आई सी सी क्रिकेट विश्वकप २०१९-को आईतबार लर्डसमा सुपर ओभरसम्म तन्किएको सासै रोकिने किसिमको फाइनलमा न्यूजिल्याण्डलाई पराजित गरी प्रतियोगिताको मेजबान साथै खिताबको प्रवल दावेदार इङ्गल्याण्डले विश्वकपमाथि कब्जा गर्ने आफ्नो ४४ वर्ष देखिको प्रतिक्षा समाप्त गरेको छ। यसको नेतृत्व गरेका थिए प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी बेन स्टोक्सले।

दुवै दलहरूले निर्धारित ५० ओभरहरूमा २४१ रन गरेपछि खेलिएको सुपर ओभरमा इङ्गल्याण्डका बेन स्टोक्स र जस बटलरले १५ रन बनाएर न्यूजिल्याण्ड समक्ष १६ रनको लक्ष्य राखिदिएका थिए।

जवाफमा न्यूजिल्याण्डले पनि जिम्मी नीशम र मार्टिन गुप्टिलको मद्दतमा स्कोरलाई बराबरीमा पुऱ्याईदिए तर इङ्गल्याण्डलाई उसले बढी बाउण्ड्रीहरू गरेको आधारमा विजेता घोषित गरियो। इङ्गल्याण्डले आफ्नो पारीमा जम्मा २२ बाउण्ड्रीहरू गरेको थियो भने न्यूजिल्याण्डले १४ बाउण्ड्रीहरू मात्र गर्न सकेको थियो। विजयी दल इङ्गल्याण्डको लागि पहिलो पटक विश्वकपमा खेलीरहेका जोफ्रा आर्चरले सुपर ओभरमा संयमित बलिङ्ग गरेर प्रतिपक्षका ब्याट्सम्यानहरूलाई धेरै जोखिमहरू उठाउने मौका दिएनन्।

सात साताहरूमा खेलिएका ४८ म्याचहरूबाट अन्तिम फैसलामा पुगेको यस प्रतियोगिताको अन्त्य पनि नाटकीय अनि आवेगपूर्ण रहेको थियो। यस प्रकार, १९७९, १९८७ र १९९२-मा समेत फाइनलमा पराजित हुनु परेको इङ्गल्याण्ड चौथो फाइनलमा भने त्यस लोदरबाट मुक्त हुन सफल भएको छ।

खिताबका प्रवल दावेदारहरू मध्ये एक रहेको भारतलाई सेमिफाइनलमा पराजित गर्ने न्यूजिल्याण्डको आई सी सी विश्वकप सेमिफाइनलमा यो ८-औँ प्रवेष्टी रहेको थियो र उसको लागि फाइनल खेल चाहीँ भक्कानो फुट्ने किसिमको साबित भएको छ।

टस जितेर पहिले ब्याटिङ्ग गर्ने फैसला गर्दै न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २४१ रन बनाएपछि २३.१ ओभरमा ८६ रनमा चार विकेट गुमाइ संघर्ष गरिरहेको इङ्गल्याण्डले अल राउण्डर बेन स्टोक्सको व्यक्तिगत ८४ रन र जस बटलरद्वारा ६० बलमा बनाइएको ५९ रनको मद्दतमा पाँचौँ विकेटमा ११० रनको साझेदारी दिएर चुनौतीलाई कायम राखेका थिए।

न्यूजिल्याण्डको लागि ओपनिङ्ग ब्याट्सम्यान हेनरी निकोलसको ५५ रन तथा विकेट कीपर-ब्याट्सम्यान जन लोदमद्वारा तेज गतिका साथ बनाइएको ४७ रनको योगदाननै उल्लेख्य रहेको थियो। इङ्गल्याण्डको लागि तेज बलर क्रिश वोक्स र लिआम फ्लन्केटले ३-३ विकेट लिए।

चाख लाग्दो तथ्य के रहेको छ भने, सेमिफाइनल अगावै ६४८ रन बनाइसकेका भारतका रोहित शर्मा र ६४७ रन बनाउने अस्ट्रेलियाका डेभिट वार्नर, भारतका सचिन तेन्डुलकरद्वारा एउटा सिंगो विश्वकप प्रतियोगितामा बनाइएको ६७३ रनको रेकर्ड तोड्न सक्ने स्थितिमा पुगेका त थिए, तर दुवै जना सेमिफाइनलमा थोरै स्कोरमा आउट भएपछि यो रेकर्ड भारतका महान खेलाडीकै नाउँमा यथावत रहेको छ।

तथापि रोहित शर्माले यस प्रतियोगितामा ५ शतकहरू लगातार एउटै विश्वकपमा सर्वाधिक शतकहरू लगाउने रेकर्ड भने कायम गरेका छन्।

अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्कले एउटा अर्को व्यक्तिगत रेकर्ड कायम गरेका छन्। उनले प्रतियोगितामा जम्मा २९ विकेटहरू लिए, जुन अस्ट्रेलियाकै ग्लेन मेग्राथद्वारा लिइएका २८ विकेटहरूभन्दा एक अधिक हो।

त्यसअघि दुइ पूर्व च्याम्पियन भारत र अस्ट्रेलिया सेमिफाइनलमा पराजित भई प्रतियोगिताबाट बाहिरिनु परेको थियो। पाँच पटक विश्व च्याम्पियन रहेको अस्ट्रेलियालाई सेमिफाइनलमा मेजबान इङ्गल्याण्डले ८ विकेटले पराजित गरेको थियो।

त्यसको एक दिन पूर्व खिताबका दुइ प्रबल दावेदारहरू मध्ये एक रहेको भारतले न्यूजिल्याण्ड विरूद्ध १८ रनले पराजय स्वीकार्नु परेको थियो। वर्षाले गर्दा यो म्याच दुइ दिनसम्म चलेको थियो।

लीग चरणको खेल पश्चात् प्रतियोगिताबाट निर्गमन गर्ने ६ टीमहरू मध्ये पाकिस्तान सबैभन्दा प्रभावशाली देखिएको थियो भने अफगानिस्तानले जहाँ पनि खेल्यो, त्यहाँ सबैको मन जितेको थियो।

न्यून रन रेटको आधारमा विश्वकपबाट बाहिरिनु परेको पाकिस्तानले फाइनलमा प्रवेष्टी प्राप्त गर्ने इङ्गल्याण्ड र न्यूजिल्याण्ड दुवैलाई लीग चरणमा पराजित गरेको सन्तुष्टी भने रहेको छ।

दक्षिण अफ्रिका र वेस्टइन्डिजले भने उनीहरूका समर्थक तथा विस्तृत क्रिकेट प्रमीहरूलाई निराशनै पारे। दक्षिण अफ्रिकाले त प्रतियोगितामा केही गर्नै सकेन तर आफ्नो अन्तिम लीग म्याचमा साबिकको च्याम्पियन अस्ट्रेलियालाई भने पराजित गरेको थियो।

सबै मिलाएर हेर्दा चार सर्वश्रेष्ठ दलहरू सेमिफाइनलमा पुगे र सेमिफाइनलमा विजयी रहेका दलहरूले संघर्षलाई लर्डसमा खेलिएको फाइनल सम्म पुऱ्याए। अनि, क्रिकेटको आध्यात्मिक मुख्यालयमा अन्तिम विजेताको निर्णय गर्न अन्तिम  विकल्पको समेत सहारा लिनु परेको थियो।

आलेख: खेल समीक्षक, राहुल बेनर्जी

अनुवादकः महेन्द्रनाथ उपाध्याय