प्रधान मन्त्री नरेन्द्र मोदीद्वारा ७३औँ स्वतन्त्रता दिवस अगस्ट १५, २०१९-मा लाल किलाको प्राचीरबाट राष्ट्रलाई गर्नुभएको सम्बोधनको नेपाली रूपान्तरण

मेरा प्यारा देशवासीहरू,

आज स्वतन्त्रता दिवसको पावन अवसरमा सबै देशवासीहरूलाई अनेकौँ शुभकामना। 

आज रक्षा बन्धनको पर्व पनि हो। यो शताब्दियौँ पुरानो परम्पराले दाजुभाई-दिदीबैनीहरूबिचको प्रेमलाई अभिव्यक्त गर्दछ।  म मेरा सबै देशवासीहरूलाई यो पावन पर्व रक्षा बन्धनको अवसरमा मेरो हार्दिक शुभकामना व्यक्त गर्दछु। यो पर्वले हाम्रा सबै दाजुभाई-दिदीबैनीहरूका  आशाहरू, आकाङ्क्षाहरू र सपनाहरू स्नेहका साथ पूरा गरोस्, र उनीहरूको जीवनमा स्नेह ल्याओस्। 

आज, देशले स्वतन्त्रताको पर्व मनाइरहेको बेलामा, देशका कैयौँ भागहरूले बाढी र भारी वर्षाको कारण कठिनाइहरूको सामना गर्नु परिरहेको छ। कैयौँले आफन्तहरूलाई गुमाएका छन्। म उनीहरूलाई मेरो समवेदनाहरू प्रकट गर्दछु। राज्य सरकारहरू, केन्द्रीय सरकार र अन्य सङ्गठनहरू जस्तै एन.डि.आर.एफ. ती कठिनाइहरूलाई कम गर्न अनि स्थितिलाई नियन्त्रणमा ल्याउनका लागि रात-दिन खटिरहेका छन्। 

आज, जब हामीले स्वतन्त्रताको यो पावन दिवस मनाइरहेको बेलामा, म देशको स्वतन्त्रताका लागि आफ्नो प्राणको आहुति दिएका, आफ्नो युवावस्था झ्यालखानमा बिताएका, फाँसीको पासोलाई अङ्गालेका, र सत्याग्रहमार्फत् अहिंसाको भावना जगाउने सबैप्रति सम्मान व्यक्त गर्दछु। देशले बापुको नेतृत्वमा स्वतन्त्रता हासिल गऱ्यो। यसैप्रकार, स्वतन्त्रतापछिका वर्षहरूमा अनेकौँ व्यक्तिहरूले देशको शान्ति, समृद्धि र सुरक्षाका लागि योगदान गरेका छन्। आज, स्वतन्त्र भारतको विकास, शान्ति र समृद्धिका लागि अनि जनताका आशा र आकाङ्क्षाहरूको पूर्तिका लागि योगदान गर्नेहरूलाई सलाम गर्दछु। 

नयाँ सरकारको गठनपछि, म एकपल्ट फेरि तपाईंहरूसित संवाद गर्ने यो अवसरका लागि आभारी छु। यो नयाँ सरकारको गठन भएको १० साता पनि बितेको छैन। तर यो छोटो अवधिमा पनि सबै क्षेत्र र सबै दिशामा प्रयासहरू गरिएका छन्, नयाँ आयामहरू थपिएका छन्। जनताले हामीलाई उनीहरूको सेवा गर्ने जिम्मा सुम्पेको छ जसबाट उनीहरूले आफ्ना आशा, अपेक्षा र आकाङ्क्षाहरू हासिल गर्न सकुन्। हामी एक क्षणपनि नगुमाइकन सम्पूर्ण प्रतिबद्धताका साथ तपाईंहरूको सेवामा समर्पित छौँ। 

१० साता भित्रैमा अनुच्छेद ३७०र ३५ ए निरस्त गर्नु सरदार वल्लभ भाई पटेलको सपना साकार गर्ने दिशामा एक महत्त्वपूर्ण पाइलो हो। 

मात्र दस साताभित्रमा, हामीले ठुल्ठुला निर्णयहरू गऱ्यौँ जस्तै हाम्रा मुसलमान महिलाहरूका अधिकारहरूको सुरक्षाका लागि तीन तलाकविरुद्ध कानुन ल्याउनु, आतङ्कवादको मुकाबिला गर्नका लागि कानुनहरूमा प्रमुख संशोधन गरेर यसलाई बढी कडा अनि शक्तिशाली बनाउनु; प्रधान मन्त्री किसान सम्मान निधि योजनाका लाभार्थी किसानहरूका बैँक खाताहरूमा करिब ९० हजार करोड रुपियाँ हस्तान्तरण गर्नु। 

कृषि समुदायका हाम्रा दाजुभाई-दिदीबैनीहरू, र हाम्रा लघु उद्यमीहरूलाई उनीहरूले  ६० वर्षको उमेर पार गरेपछि जब शारीरिक रूपले कमजोड हुनेछन् र सहाराको खाँचो पर्नेछ तब पेन्शन पाउन सक्नेछन् र सम्मानपूर्ण जीवन जिउन सक्नेछन् भन्ने विश्वास कहिल्यै थिएन। उनीहरूका आवश्यकताहरूको पूर्तिका लागि हामीले पेन्शन योजना लागू गरेका छौँ। 

आजभोली जल सङ्कट ठुलो चिन्ताको विषय बनेको छ। आसन्न जल सङ्कट हामी सामु आइलाग्ने अड्कल लगाइएको छ। त्यस्तो स्थितिलाई ध्यानमा राखेर, हामीले एउटा बेग्लै जल शक्ति मन्त्रालयको गठन गरेका छौँ जहाँ केन्द्र र राज्य सरकारहरूले मिलेर जल सङ्कटका मामिलाहरूको सम्बोधनका लागि योजनाहरू र नीतिहरू विकसित गर्नेछन्। 

हाम्रो देशलाई मजबुत स्वास्थ्य सुविधाहरूका साथै ठुलो संख्यामा डक्टरहरूको खाँचो छ। यो आवश्यकताको पूर्ति गर्नका लागि हामीलाई नयाँ कानुन, उन्नत पूर्वाधार, नयाँ सोच र चिकित्सा पेसामा लाग्नका लागि युवाहरूलाई उत्प्रेरित गर्ने नयाँ अवसरहरूको सृजना गर्नु पर्ने आवश्यकता छ। यसलाई मध्येनजर राख्दै, हामीले कानुन बनाएका छौँ र चिकित्सा शिक्षामा पारदर्शिता ल्याउनका लागि महत्त्वपूर्ण पाइलाहरू सारेका छौँ। 

आजभोली, विश्वभरि बालाधिकार उल्लङ्घनका घटनाहरू देख्छौँ र  भारतले आफ्नै बच्चाहरूलाई जोखिममा छाड्न सक्दैन। बाल अधिकारहरूको रक्षाका लागि अतिवाञ्छित कडा कानुनको खाँचो थियो र यसलाई कानुन बनाइएको छ। 

दाजुभाई-दिदीबैनीहरू, तपाईंहरूले मलाई २०१४ देखि २०१९ सम्म पाँच वर्षका लागि सेवा गर्ने मौका दिनुभयो। हामीले सामान्यजनद्वारा मूलभूत सुविधाहरू प्राप्त गर्नका लागि भोग्नु पर्ने कठिनाइहरूमाथि ध्यान दियौँ। बितेका पाँच वर्षहरूमा, हाम्रो सरकारले जनसाधारणका दैनिक आवश्यकताहरूको पूर्ति गर्नका लागि सुविधाहरू उपलब्ध गराउने प्रयास गरिरहेको छ। गाउँहरूमा बस्ने, र गरिब, सीमान्त, उत्पीडित, शोषित, वञ्चित र जनजातिहरूलाई सुविधा दिन विशेष प्रयासहरू गरेको छ। हामी देशलाई विकासको मार्गमा ल्याउनका लागि यो दिशामा अथक प्रयास गरिरहेका छौँ। तर समय बदलिन्छ। २०१४ देखि २०१९ को अवधि तपाईंका मूलभूत आवश्यकताहरूको पूर्ति गर्ने अवधि थियो, २०१९ पछिका वर्षहरूमा तपाईंका आकाङ्क्षा र सपनाहरू पूरा भएको तपाईंहरूले देख्नु हुनेछ। 

२१औँ शताब्दीको भारत कस्तो देखिनु पर्दछ? यो कति चाँडो हिँड्नु पर्दछ? कति व्यापक ढङ्गले यसले काम गर्नु पर्दछ, कस्तो उँचाइ यसले हासिल गर्नु पर्दछ  – हामीले आगामी पाँच वर्षका लागि सडक मानचित्र तयार गर्दै एक-एक पाइलोगरी बढिरहेका छौँ, यी सबै कुराहरूलाई ध्यानमा राखेर। मेरो लागि यो नयाँ सुरुआत थियो। २०१३-२०१४ को चुनावभन्दा पहिला, म देशभरि घुमेँ र हाम्रा देशवासीहरूका भावनाहरूलाई बुझ्ने प्रयास गरेँ। तर सबैका अनुहारमा निराशा लच्छेप्रै थियो, सबैलाई शङ्का थियो। मानिसहरू अचम्म मानेर भन्थे, के देश कहिल्यै बदलिन सक्छ? के सरकार बदलिनाले देश बदलिन्छ? आशाहीनताको भावना जनसाधारणको दिमागमा पसेको थियो। लामो समयसम्मको उनीहरूको अनुभवको यो परिणाम थियो – आशाहरू दिगो भएनन्, उनीहरू चाँडैनै निराशाको गहिराइमा डुबे। तर २०१९-मा पाँच वर्षको कडा परिश्रमपछि, जनसाधारणप्रतिमात्रै कृतसङ्कल्पताका साथ, मुटुमा मात्रै मेरो देशलाई राखेर, मेरा करोडौँ देशवासीहरूलाईमात्रै दिलमा राखेर – यो भावनाका साथ हामी अगाडि बढ्दै गयौँ, यसका लागि हरेक पल संकल्पित गऱ्यौँ। जब २०१९-मा हामीले फेरि सत्ताका लागि चुनावमा भाग लियौँ, म आश्चर्यचकित भएँ। देशको मूड बदलिइसकेको थियो। निरासा आशामा बदलिएको थियो, सपनाहरू अठोटसित गाँसिए, उपलब्धि देखा परिरहेको थियो, र जनसाधारणमा एकमात्र दृढ सङ्कल्प थियो कि उसले आफ्नो देशलाई बदलिन सक्छ। हो, हामीले पनि हाम्रो देशलाई बदलिन सक्छौँ र हामी पछि पर्न सक्दैनौँ भन्ने भावना थियो।

१३० करोड नागरिकहरूको यो भावना, भावनाहरूको यो गुञ्जले हामीलाई नयाँ तागत र नयाँ विश्वास प्रदान गऱ्यो। 

हामीले एक मन्त्रकासाथ सुरुआत गरेका थियौँ – सबैको साथ, सबैको विकास, तर पाँच वर्ष भित्रैमा देशवासीहरूले सारा राष्ट्रको समग्र दिशालाई सबैको विश्वासको रङले रङ्गाए। विगत पाँच वर्षमा हरेकले हामीमाथि जो भरोसा र विश्वास राख्यो, त्यसले हामीलाई थप ऊर्जाका साथ राष्ट्रको सेवा गर्न प्रेरित गर्नेछ।

हालैको चुनावमा मैले के देखेँ  र त्यतिबेला के सोचेँ भने यो एक यस्तो चुनाव हो जसमा कुनै राजनेताले, कुनै राजनीतिक दलले, मोदीले वा मोदीका साथीहरूले चुनाव लडिरहेका थिएनन्। यो चुनाव त भारतका जनताले लडिरहेका थिए। १३० करोड भारतीयहरूले चुनाव लडिरहेका थिए। उनीहरूले आफ्ना सपनाहरूका लागि चुनाव लडिरहेका थिए। लोकतन्त्रको वास्तविक चरित्र यो चुनावमा हेर्न सकिन्छ। 

मेरा प्यारा देशवासीहरू, सपनाका अवधिहरू, दृढसङ्कल्प र उपलब्धिकासाथै समस्याहरूको समाधानका लागि हामीले अब मिलेर अगाडि बढ्नु पर्छ। समस्याहरूको समाधान हुँदा आत्म-निर्भरताको भावना विकसित हुन्छ भन्ने कुरा प्रमाणित भएको छ। समस्याहरूको समाधानले आत्म-निर्भरताको गतिलाई प्रोत्साहित गर्दछ। आत्म-निर्भरता प्राप्त भएपछि, स्वतःनै आत्म-सम्मान बढ्दछ र आत्म-सम्मानमा अति मजबूत सम्भाव्यता हुन्छ। आत्म-सम्मानको शक्ति कुनैपनि चिजको भन्दा बढी हुन्छ र जब समाधान, अठोट, क्षमता, आत्म-सम्मान हुन्छ, त सफलताको मार्गमा केही कुरो बाधक हुन सक्दैन र आज देशमा आत्म-सम्मानको त्यो भावना छ।

र आज, यो आत्म-सम्मानका साथ हामी सफलताका नयाँ शिखरहरू छुनका लागि अगाडि बढ्न दृढसङ्कल्पित छौँ। जब हामी समस्याहरूको समाधान गर्ने प्रयास गरिरहेका छौँ, हामीले एकला-एकलै यो सोच्ने होइन। कठिनाइहरू हुनेछन्। प्रशंसा पाउनका लागि मात्रै आधा-मनले गरिने प्रयासहरूले देशका सपनाहरू पूरा गर्नमा मद्दत गर्ने छैनन्। हामीले समस्याहरूलाई जरैदेखि मास्नका लागि प्रयत्न गर्नु पर्छ।

तपाईंहरूले देख्नुभएको हो कसरी हाम्रा मुसलमान छोरीहरू, दिदीबैनीहरू उनीहरूको टाउकोमा तीन तलाकको तरवारका साथ डरमा बाँच्ने गर्दथे। उनीहरू तीन तलाकको पीडितहरू नभएतापनि उनीहरूले यसको सामना कुनैपनि समयमा गर्न सक्छन् भनेर निरन्तर डरमा बसिरहेका हुन्थे। थुप्रै इस्लामिक मुलुकहरूले यो कुप्रथालाई धेरै समय अघिनै समाप्त गरिसकेका छन्। तर केही कारणले हामी हाम्रा मुसलमान आमा एवम् दिदीबैनीहरूलाई उनीहरूको अधिकार दिनमा हच्किरहेका थियौँ। यदि हामीले सती प्रथालाई समाप्त गर्न सक्छौँ, यदि हामीले कन्या भ्रुणहत्याविरुद्ध कानुन लागू गर्न सक्छौँ, यदि बाल विवाहविरुद्ध आवाज उठाउन सक्छौँ, यदि देशमा दाइँजो प्रथाविरुद्ध कडा पाइलाहरू सार्न सक्छौँ भने हामीले तीन तलाकविरुद्ध हाम्रो आवाज किन उठाउन सक्दैनौँ? हामीले यो महत्त्वपूर्ण निर्णय बाबा साहेब अम्बेडकरको सोचलाई सम्मान दिन भारतको लोकतन्त्र र संविधानको भावनाअनुरूप गरेका हौँ जसबाट हाम्रा मुसलमान दिदीबैनीहरूले समान अधिकार प्राप्त गर्न सकुन्; जसबाट उनीहरूमा नयाँ आत्मविश्वास जागोस्; जसबाट उनीहरूपनि भारतको विकास यात्रामा सक्रिय सहभागी बन्न सकुन्। यस्ता निर्णयहरू राजनीतिक लाभकालागि गरिएका होइनन्। यिनले हाम्रा आमाहरू र दिदीबैनीहरूलाई दिगो संरक्षणको ग्यारेन्टी दिन्छन्। 

यसैप्रकार, म एउटा अर्को उदाहरण दिन्छु। अनुच्छेद ३७० र ३५ ए निरस्त गर्नुपछाडि के कारण थियो? यो यस सरकारको विशेषता हो। हामीले समस्यालाई न टार्छौँ न पाल्छौँ। समस्याहरूलाई टार्ने वा बेवास्ता गर्ने समय छैन। विगत ७० वर्षदेखि गर्न नसकिएको कामलाई यो नयाँ सरकार सत्तामा आएको ७० दिनभित्रैमा पूरा गरियो। अनुच्छेद ३७० र ३५ ए-लाई राज्यसभा र लोकसभा दुवैले दुई-तृतियांश मतद्वारा निरस्त गरे। यसको अर्थ के हो भने सबैले यो निर्णय गरियोस् भनेर चाहन्थे, तर सायद उनीहरू कसैले यसको पहल गरोस् र यसलाई अगाडि लैजाओस् भन्ने प्रतीक्षामा थिए। मेरा देशवासीहरूले मलाई अह्राएको कार्य पूरा गर्न म अगाडि आएँ। म निस्वार्थ भावनाले काम गर्दछु।

हामी जम्मू एवम् कश्मीरको पुनर्गठनका साथ अगाडि बढिरहेका छौँ। ७० वर्षदेखि हरेक सरकारले केही गर्ने प्रयासहरू गरे।

तर अपेक्षित परिणाम हासिल भएन, र जब अपेक्षित परिणामहरू हासिल हुँदैनन्, नौलो तरिकाले सोच्नु पर्ने र नयाँ पाइलाहरू सार्नु पर्ने खाँचो हुन्छ। जम्मू एवम् कश्मीर तथा लद्दाखका जनताका आकाङ्क्षाहरू पूरा होस् भनी हेर्ने जिम्मेबारी हाम्रो हो। उनीहरूका सपनालाई नयाँ पखेटा दिने हाम्रो सामुहिक जिम्मेबारी हो। यो जिम्मा सबै १३०करोड मेरा देशवासीहरूको काँधमा छ। यो वचनबद्धताको पूर्ति गर्नका लागि हामीले मार्गमा रहेका सबै बाधाहरूलाई हटाउने प्रयासहरू गरेका छौँ। 

विगत ७० वर्षदेखि रहेको व्यवस्थाले पृथकतावादलाई झनै गम्भीर बनायो र आतङ्कवादलाई जन्म दियो। यसले वंशवादलाई प्रोत्साहित गऱ्यो र एकप्रकारले भ्रष्टाचार र भेदभावका जगलाई मजबुत नै पाऱ्यो। जम्मू एवम् कश्मीर र लद्दाखका महिलाहरूले उनीहरूका अधिकार पाउन् भनी हामीले प्रयास गर्नु पर्दछ। त्यहाँ बसोबास गर्ने मेरा दलित दाजुभाई-दिदीबैनीहरूले अहिलेसम्म उनीहरूलाई वञ्चित गरिएको अधिकार पाउन सकुन् भनी हामीले प्रयास गर्नु पर्दछ। भारतका जनजातिहरूले पाएका अधिकारहरू जम्मू एवम् कश्मीर अनि लद्दाखका मेरा जनजातीय दाजुभाई-दिदीबैनीहरूले पनि पाउनु जरुरी छ। त्यहाँ थुप्रै यस्ता समुदायहरू छन् जस्तै गुज्जरहरू, बकरवालहरू, गद्दीहरू, सिप्पीहरू वा बाल्टीहरू – यस्ता सबै समुदायहरूलाई राजनीतिक अधिकारहरूले सशक्त बनाइनु जरुरी छ। आश्चर्यको कुरा के छ भने जम्मू एवम् कश्मीरमा सफाई कर्मचारी दाजुभाई दिदीबैनीहरूमाथि कानुनी प्रतिबन्धहरू छन्। उनीहरूका सपनाहरूलाई लत्याइन्छ। अब, हामीले उनीहरूलाई ती साङ्लाहरूबाट मुक्त गरेका छौँ। 

भारतको विभाजन हुँदा, करोडौँ मानिसहरूले  उनीहरूका पुर्ख्यौली घरहरू आफ्नो कुनै गल्ती नहुँदा पनि छोडेर हिँड्नु परेको थियो। जम्मू एवम् कश्मीरमा बसोबास गर्न आएकाहरूले न त कुनै मानव अधिकार पाए औ न नागरिकताको अधिकार नै। जम्मू एवम् कश्मीरमा पहाडी इलाकामा बस्ने मानिसहरू छन्। हामी उनीहरूको कल्याणका लागि पाइलाहरू सार्ने मनसाय पनि राख्दछौँ। 

मेरा प्यारा देशवासीहरू, जम्मू एवम् कश्मीर तथा लद्दाखको शान्ति र समृद्धि भारतको लागि एक प्रेरणा हो। उनीहरूले भारतको विकासमा ठुलो योगदान गर्न सक्छन्। हामीले उनीहरूको गौरवशाली इतिहासलाई फर्काएर ल्याउने प्रयास गर्नु पर्ने आवश्यकता छ। हालैको पाइलोपछि अस्तित्वमा आउने नयाँ व्यवस्थाले यस्ता सुविधाहरूको सृजना गर्नेछ जसबाट राज्यका जनता सोझै लाभान्वित हुनेछन्। अब जम्मू एवम् कश्मीरको कुनैपनि व्यक्तिको देशका अन्य भारतीयहरू सरहनै दिल्लीमा सरकारसम्म पहुँच हुनेछ। बिचमा कुनै बाधा हुने छैन। हामीले एक यस्तो व्यवस्था स्थापित गर्नु पर्नेछ। अनुच्छेद ३७० र ३५ ए निरस्त गर्ने हाम्रो हालैको कारबाहीलाई समस्त देशले  साथै देशका सबै राजनीतिक दलहरूले बिना कुनै अपवाद स्वागत गरे। अनुच्छेद ३७०, ३५ ए हटाउनका लागि कोई प्रखर रूपले त कोई मूक रूपले समर्थनमा थिए। तर राजनीतिको गलियारामा चुनावको तराजूले तौल गर्नेवाला केही मानिसहरू३७० को पक्षमा केही न केही भनीनै राख्छन्। जसले ३७० को ओकालत गर्छन्, उनीहरूलाई देशले सोधिरहेको छ, यदि यो अनुच्छेद ३७०, यो ३५ ए यतिनै महत्त्वपूर्ण थियो भने , यति अनिवार्य थियो भने, त्यसैबाट भाग्य बदलिनेवाला थियो भने ७० वर्षसम्म यतिको बहुमत हुनाको बावजुद तपाईंहरूले यसलाई पर्मानेन्ट किन गर्नुभएन? टेम्पोरेरी किन बनाइराख्नुभयो? यति नै कन्भिक्शन थियो भने, अगाडि आएर पर्मानेन्ट गर्दा हुन्थ्यो। तर यसको मतलब यो हो, तपाईंलाई पनि थाहा थियो जो निर्धारित भएको थियो,  त्यो सही भएको थिएन, तर सुधार गर्ने तपाईंमा हिम्मत थिएन, मनसाय थिएन। राजनीतिक भविष्यमाथि प्रश्न चिह्न लाग्दथ्यो। मेरोलागि देशको भविष्य नै सबै थोक हो, राजनीतिक भविष्य केही हुँदैन। 

हाम्रा संविधान निर्माताहरूले सरदार वल्लभभाई पटेल जस्ता महापुरुषहरूले, देशको एकताको लागि, राजकीय एकीकरणको लागि त्यो कठिन समयमा पनि महत्त्वपूर्ण फैसला गरे, हिम्मतका साथ फैसलाहरू गरे। देशको एकीकरणको सफल प्रयास गरे। तर अनुच्छेद ३७० को कारण, ३५ ए को कारण केही रोकावटहरू आएका छन्। 

आज, लाल किलाबाट म जब देशलाई सम्बोधित गरिरहेको छु, म गर्वका साथ भन्छु, आज हरेक हिन्दुस्तानीले भन्न सक्छ – वन नेशन, वन कन्स्टिट्युशन र हामी सरदार साहबको एक भारत-श्रेष्ठ भारत, यसै सपनालाई चरितार्थ गर्नमा लागेका छौँ। तब यो सफ्फा-सफ्फा कुरा हो कि हामी यस्ता व्यवस्थाहरू विकसित गर्नेछौँ जसले देशको एकतालाई बल देओस्, देशलाई जोड्नका लागि सिमेन्टिङ्ग फोर्सको रूपमा सामुन्ने आओस् र यो प्रक्रिया निरन्तर चल्नु पर्दछ। त्यो एक समयको लागि हुँदैन, अविरल हुनु पर्दछ।

जि.एस.टि.-को माध्यमले हामीले वन नेशन, वन ट्याक्स, त्यो सपनालाई साकार गरेका छौँ। त्यसैप्रकारले पछिल्ला दिनहरूमा ऊर्जाको क्षेत्रमा वन नेशन, वन ग्रिड, यस कामलाई पनि हामीले सफलतापूर्वक पार गऱ्यौँ।

त्यसैप्रकारले वन नेशन, वन मोबिलिटी कार्ड – यो व्यवस्था पनि हामीले विकसित गरेका छौँ। र आज देशमा व्यापक रूपले चर्चा चलिरहेको छ, “एक देश, एक साथ चुनाव”। यो चर्चा हुनु पर्दछ कि लोकतान्त्रिक तरिकाले हुनु पर्दछ र कहिल्यै न कहिल्यै “एक भारत, श्रेष्ठ भारत” का सपनाहरूलाई साकार गर्नका लागि अरू पनि यस्ता नयाँ चीजहरूलाई हामीले जोड्नु पर्छ।

मेरा प्यारा देशवासीहरू, देशले नयाँ उँचाइहरू पार गर्नु छ, देशले विश्वमा आफ्नो स्थान प्रस्थापित गर्नु छ। त हामीले हाम्रो देशमा पनि गरिबीबाट मुक्तिको भावलाई बदलिनु पर्दछ।  तर यो पनि सच्चाइ हो कि आज हिन्दुस्तानमा करिब-करिब आधा घर यस्ता छन्, जुन घरहरूमा पिउने पानी उपलब्ध छैन। उनीहरूले पिउने पानी प्राप्त गर्नका लागि मेहनत गर्नु पर्छ। आमाहरू-दिदीबैनीहरूले सिरमाथि बोझ बोकेर, घैँटोहरू बोकेर दुई-दुई, तीन-तीन, पाँच-पाँच किलोमीटर हिँड्नु पर्छ। जीवनको धेरैजस्तो हिस्सा मात्र पानीको व्यवस्था गर्नमा बित्छ र त्यसैले यो सरकारले एक विशेष काममा बल दिने निर्णय गरेको छ र त्यो हो हाम्रो घरमा पानी कसरी पुग्नेछ? हरेक घरले पानी कसरी पाउनेछ? पिउने शुद्ध पानी कसरी पाउने? र यसका लागि आज म लाल किलाबाट घोषणा गर्दछु, हामी आगामी दिनहरूमा जल-जीवन मिशनलाई अगाडि बढाउनेछौँ। यो जल-जीवन मिशन, यसका लागि केन्द्र र राज्य सरकार एकसाथ मिलेर काम गर्नेछन् र आउनेवाला वर्षहरूमा साढे तीन लाख करोड रुपियाँ भन्दा बढी रकम यो जल-जीवन मिशनमा खर्च गर्ने हामीले सङ्कल्प गरेका छौँ। जल सञ्चय होस्, जल सिंचन होस्, वर्षाको थोपा-थोपाको संरक्षण गर्ने काम होस्, समुद्री पानी वा वेस्ट वाटरलाई ट्रिटमेन्ट गर्ने विषय होस्, किसानहरूका लागि “पर ड्रप, मोर क्रप” माइक्रो इरिगेशनको काम होस्, पानी बचाउने अभियान होस्, पानीप्रति सामान्यदेखि सामान्य मानिस सजग बनोस्, संवेदनशील बनोस्, पानीको महत्व बुझोस्, हाम्रा शिक्षा कर्महरूमा पनि बच्चाहरूलाई बाल्यकालदेखि नै पानीको महत्त्वको शिक्षा दिइयोस्। पानी सङ्ग्रहको लागि पानीका स्रोतहरूलाई पुनर्जीवित गर्नका लागि हामीहरू लगातर प्रयास गरौँ र हामी यो विश्वासका साथ अगाडि बढौँ कि पानीको क्षेत्रमा पछिल्ला ७० वर्षमा जो काम भएका छन्, हामीले ५ वर्षमा चार गुणाभन्दा पनि धेरै त्यो काम गर्नु पर्नेछ। अब हामी धेरै पर्खिन सक्दैनौँ र यस देशका महान सन्त, सैकडौँ वर्ष अघि, सन्त तिरुवल्लुवरजीले त्यतिबेला एउटा महत्त्वपूर्ण कुरा भनेका थिए, सैकडौँ वर्ष अघि, त्यतिबेला त सायद कसैले पानीको सङ्कटको बारेमा सोचेको पनि थिएन होला, पानीको महत्त्वको बारेमा पनि सोचेन होला, तर त्यतिबेला सन्त तिरुवल्लुवरजीले भनेका थिए – नीर इन्ड्री अमियादू, उल्गः, नीरइन्ड्री अमियादू, उल्गः” अर्थात् जब पानी समाप्त हुन्छ, त प्रकृतिको कार्य थामिन्छ, रोकिन्छ। एकप्रकारले विनाश सुरु हुन्छ।

मेरो जन्म गुजरातमा भयो, गुजरातमा तीर्थ क्षेत्र छ मह्डी, जो उत्तरी गुजरातमा छ। जैन समुदायका मानिसहरू त्यहाँ आउने-जाने गर्दछन्। आजभन्दा करिब १०० वर्ष अघि, त्यहाँ एक जैन मुनि थिए, उनी किसानको घरमा जन्मेका थिए, किसान थिए, खेतमा काम गर्दथे तर जैन परम्परासित जोडिएर उनी दीक्षित भए र जैन मुनि बने।

करिब १०० वर्ष अघि उनले लेखेर गएका छन् – बुद्धिसागरजी महाराजले लेखेका छन् – एक दिन यस्तो आउने छ, जब पानी किरानाको दोकानमा बिक्नेछ। तपाईँ कल्पना गर्न सक्नुहुन्छ, १०० वर्ष अघि एक सन्तले लेखेर गए कि पानी किरानाको दोकानमा बिक्नेछ र आज हामी पिउने पानी किरानाको दोकानबाट किन्छौँ। हामी कहाँबाट कहाँ पुग्यौँ।

मेरा प्यारा देशवासीहरू, न हामीले रोकिनु छ, न हामीले थामिनु छ, न हामीले रोकिनु छ, र न हामी अगाडि बढ्नबाट हच्किनु छ। यो अभियान सरकारी अभियान बन्नु हुँदैन। जल सञ्चयको यो अभियान, जस्तै स्वच्छताको अभियान चलेको थियो, जन-सामान्यको अभियान बन्नु पर्छ। जन सामान्यका आदर्शलाई लिएर, जन सामान्यका अपेक्षाहरूलाई लिएर, जन सामान्यको सामर्थलाई लिएर हामीले अगाडि बढ्नु छ। 

मेरा प्यारा देशवासीहरू, अब हाम्रो देश त्यो समयमा पुगेको छ जसमा अनेकौँ कुराहरूसित हामीले आफैलाई लुकाएर राख्नु पर्ने आवश्यकता छैन। चुनौतीहरूलाई सामुन्नेबाट स्वीकार गर्ने समय आइसकेको छ। कहिले हामी राजनीतिक नाफा-नोक्सानको मनसायले हामी निर्णय गर्छौँ तर यसमा देशको भावी पिँढीलाई धेरै नोक्सानी पुग्छ। 

त्यस्तै एक विषय हो जो आज म लाल किलाबाट स्पष्ट गर्न चाहन्छु। र त्यो विषय हो – हाम्रो यहाँ भइरहेको अत्यधिक जनसंख्या विस्फोट। यो जनसंख्या विस्फोटले हाम्रोलागि, हाम्रो भावी पिँढीका लागि अनेक नयाँ सङ्कट उत्पन्न गर्दछ, तर यो कुरा मान्नु पर्दछ कि हाम्रो देशमा एक जागरूक वर्ग छ, जसले यो कुरालाई राम्ररी बुझ्दछ। उनीहरूले आफ्नो घरमा शिशुलाई जन्म दिनुभन्दा अघि राम्ररी सोच्दछ कि मैले उसित अन्याय त गर्दिन? उसका जो मानवीय आवश्यकताहरू छन्, तिनको पूर्ति मैले गर्न सक्नेछु वा छैन, उसका जो सपना छन्, ती सपना पूरा गर्नमा मैले आफ्नो भूमिका खेल्न सक्नेछु वा छैन। यी सबै प्यारामिटर्समा आफ्नो परिवारको लेखाजोखा गरेर हाम्रो देशमा आजपनि स्व-प्रेरणाले एउटा सानो वर्गले परिवारलाई सीमित गरेर, आफ्नो परिवारको पनि भलो गर्दछ र देशको भलो गर्नमा अत्यन्तै ठुलो योगदान गर्दछ। यिनीहरू सबै सम्मानका हकदार छन्, यिनीहरू आदरका हकदार छन्। सानो परिवार राखेर पनि उसले देशभक्ति नै प्रकट गर्दछन्। उनीहरूले देशभक्ति अभिव्यक्त गर्दछन्। म चाहन्छु, हाम्रा सबै समाजका मानिसहरूले उनीहरूको जीवनलाई नियालेर हेरून् कि उनीहरूले आफ्नो परिवारमा जनसंख्या वृद्धिले आफैलाई बचाएर परिवारको कति सेवा गरेका छन्। हेर्दा हेर्दै एक दुई पिँढी होइन, परिवार कसरी अगाडि बढ्दै गएको छ, बच्चाहरूले कसरी शिक्षा पाएका छन्, त्यो परिवार बिमारीबाट मुक्त कसरी छ, त्यो परिवारले आफ्ना प्राथमिक आवश्यकताहरूलाई कसरी बढिया ढङ्गले पूरा गर्दछ। हामीले पनि उनीहरूबाट सिकौँ र हाम्रो घरमा कुनैपनि शिशु आउनुभन्दा पहिला हामी सोचौँ कि जो शिशु मेरो घरमा आउनेछ, के उसका आवश्यकताहरूको पूर्तिका लागि मैले आफैलाई तयार गरेको छु?  के म उसलाई समाजको भरोसामा नै छोड्नेछु? म उसलाई उसको भाग्यमाथिनै छोड्नेछु? कुनै पनि मातापिता यस्तो हुन सक्दैन जसले आफ्ना बच्चाहरूलाई जन्म दिएर यसप्रकारको जीवन जिउनका लागि बाध्य पार्ने छन् र त्यसैले सामाजिक जागरूकताको आवश्यकता छ। 

जसले यो अति ठुलो भूमिका खेलेका छन्, उनीहरूलाई सम्मानित गर्नु जरुरी छ, र उनैका प्रयासहरूको उदाहरण लिएर समाजका बाँकी वर्ग जो अहिलेपनि यसबाट बाहिर छन्, उनीहरूलाई जोडेर जनसंख्या विस्फोट – यसको हामीले चिन्ता गर्नु पर्नेछ। 

सरकारले पनि भिन्न भिन्न योजनाहरूअन्तर्गत अगाडि बढ्नु पर्नेछ। चाहे राज्य सरकार होस्, केन्द्र सरकार होस् – हरेकले यो दायित्व निर्वाह गर्नका लागि कुममा कुम मिलाएर हिँड्नु पर्नेछ। हामी अस्वस्थ समाज सोच्न सक्दैनौँ, हामी अशिक्षित समाज सोच्न सक्दैनौँ। २१औँ शताब्दीको भारतमा सपनाहरू पूरा गर्ने सामर्थ्य व्यक्तिबाट सुरु हुन्छ, परिवारबाट सुरु हुन्छ तर यदि जनसंख्या शिक्षित छैन भने, स्वस्थ छैन भने, त न त्यो घर नै सुखी हुन्छ, न त्यो देश नै सुखी हुन्छ।

जनसंख्या शिक्षित होस्, सामर्थ्यवान होस्, स्किल्ड होस् र आफ्ना इच्छा र आवश्यकताहरूको पूर्ति गर्नका लागि उपयुक्त वातावरण प्राप्त गर्नका लागि संसाधन उपलब्ध होस्, त मलाई लाग्छ देशले यी कुराहरूलाई पूरा गर्न सक्छ। 

मेरा प्यारा देशवासीहरू, तपाईंहरूलाई राम्ररी थाहा छ कि भ्रष्टाचार, भाइ-भतीजावादले हाम्रो देशलाई कल्पनाभन्दा अधिक नोक्सानी पुऱ्याएको छ र धमिरा सरह हाम्रो जीवनमा पसेको छ। त्यसलाई बाहिर निकाल्नका लागि हामी लगातार प्रयास गरिरहेका छौँ। सफलता पनि प्राप्त भएका छन्, तर रोग यति गहिरो छ, रोग यति फैलिएको छ कि हामीले अझ अधिक प्रयास, र त्योपनि मात्रै सरकारी स्तरमा होइन, हरेक स्तरमा गरिरहनु पर्दछ, र यस्तो निरन्तर गरिरहनु पर्दछ। 

सबै काम एकसाथमा गर्न सकिँदैन, कुबानी पुरानो रोग सरह हुन्छ। कहिलेकाँही यसको उपचार त हुन्छ तर कहिलेकाँही यो बल्झिन्छ। यो पनि रोग जस्तै हो जसका लागि हामीले थुप्रै पाइलाहरू चालेका छौँ , प्रविधिको निरन्तर प्रयोग गरी यसलाई नाश गरेका छौँ। सबै स्तरहरूमा पारदर्शी र ईमान्दारी बढाउन हरसम्भव प्रयास गरेका छौँ।

तपाईँहरूले देख्नुभयो कि सरकार गठन भएको लगत्तै र विगत पाँच वर्षमा पनि सरकारले धेरै शीर्ष अधिकारीहरूलाई हटायो। बाधा उत्पन्न गर्ने यस्ता सबै व्यक्तिहरूलाई भनियो कि देशलाई अबदेखि उनीहरूको सेवाको आवश्यकता छैन र उनीहरूलाई हटाइँदैछ।

मलाई विश्वास छ कि व्यवस्थामा परिवर्तन गरिनुपर्छ तर साथसाथै सामाजिक व्यवस्थामा परिवर्तन हुनुपर्छ। सामाजिक व्यवस्थामा परिवर्तनका साथ व्यवस्था सञ्चालन गरिरहेका मानिसहरूको विश्वास र मानसिकतामा परिवर्तन हुनु पनि धेरै जरूरी छ। तबमात्र वाञ्छित परिणाम हासिल गर्न सकिन्छ।

दाजु-भाई तथा दिदी-बहिनीहरू  स्वतन्त्रता हासिल गरेको धेरै वर्षपछि देश  परिपक्व भएको छ।

हामी स्वतन्त्रताको  ७५औँ वर्ष मनाउन गइरहेका छौँ। यो स्वतन्त्रता  हाम्रो लागि नैतिक मूल्य, अनुभूति र संवेदनशीलता सरह बहुमूल्य छ। जहिलेपनि म अधिकारीहरूसँग बैठक गर्छु म संधैनै भन्ने  गर्छु, मैले यो कुरा सार्वजनिक रूपमा भनेको थिइनँ तर आज मलाई यसबारे बोल्न मन लागेको छ , म अधिकारीहरूलाई पटक-पटक भन्ने गर्छु कि स्वतन्त्रताको धेरै वर्षपछि के सरकार लालफित्ता शाही समाप्त गरी सर्वसाधारणको दैनन्दिन जीवनमा सामेल हुन सक्दैन।

 मेरो लागि स्वतन्त्र भारतको अर्थ हो एक पारस्थितिकी तन्त्रको सृजना गर्नु जसले विस्तारै जनताको जीवनमा सरकारको सम्बद्धतालाई कम पार्दछ। यसले मानिसहरूलाई उनीहरूको लक्ष्य निर्धारित गर्ने साथै देश, परिवार र आफ्ना सपनाहरू पूरा गर्नका लागि स्वयं अगाडि आउने अवसर दिनेछ। 

नागरिकहरूले सरकारको दबाव महसूस गर्नुहुँदैन तर साथै संकटको घडीमा  सरकारको अभाव पनि हुनुहुँदैन। न सरकारको अभाव होस् न सरकारको दबाव होस्,  हामी सबै हाम्रा सपनाहरूका साथ अगाडि बढनुपर्छ। सरकार सदैव एक साथीको रूपमा हरेक पल  हाम्रो साथमा खडा हुनुपर्छ। आवश्यकता परेको खण्डमा मानिसहरूलाई आश्वस्त पार्नुपर्छ कि सरकार सदैव उनीहरूको साथमा खडा हुन्छ। के हामीले यस्तो व्यवस्थाको सृजना गर्न सक्छौँ?

हामीले थुप्रै अनावश्यक नियम कानुनहरू बनाएका छौँ जो निरर्थक प्रतिपादन गर्दै आएको छौँ। विगत पाँच वर्षमा मैलें हरेक दिन एउटा निरर्थक कानुनलाई व्यवहारिक रूपमा हटाएको छु। शायद सर्वसाधारण पनि यसका लागि जागरूक छन् कि एक निरर्थक कानुनलाई हरेक दिन हटाउनुको अर्थ हो लगभग १,४५० कानुनहरू हटाएर सर्वसाधारणको जीवनको बोझ कम गर्नु। नयाँ सरकारले मात्र १० साताको कार्यकाल पूरा गरेको छ र ‘जीवनयापनमा सुगमता’-का लागि  थप ६० कानुनहरूलाई निरस्त पारिदिएको छ। ‘जीवनयापनमा सुगमता’ एक स्वतन्त्र भारतका लागि अनिवार्य छ र हामी ‘जीवनयापनमा सुगमता’ ल्याउनका लागि ध्यानकेन्द्रित गर्न प्रतिबद्ध छौँ र यसलाई अगाडि बढाउन चाहन्छौँ।

आज, हामीले ‘कारोबारमा सुगमता’ ल्याउने दिशामा प्रगति गरेका छौँ। हामीले विश्व ऱ्याकिङ्गमा शीर्ष पाँचमा स्थान बनाउने उद्देश्य राखेका छौँ र यसका लागि थुप्रै सुधारहरू गर्नुपर्ने खाँचो छ, कसैले सानो व्यवसाय वा उद्योग स्थापित गर्न चाहेको छ भने थुप्रै साना र ठूला मुद्दाहरूको सामना गर्नुपर्छ, जस्तो कि थुप्रै फारामहरू भर्नुपर्छ, यता-उता भागदौड गर्नुपर्छ साथै  थुप्रै कार्यालयहरू धाउनुपर्छ तरपनि उसले आवश्यक मञ्जुरी प्राप्त गर्न सक्दैन। यो जटिल व्यवस्था समाप्त गर्ने प्रयास अन्तर्गत सुधारपछि सुधार गरिँदैछ, केन्द्र र राज्यहरूलाई एकजुट गरिँदैछ, शहर र मेट्रोपोलिटन नगरपालिकाहरूलाई साथमा लिइँदैछ र हामी ‘कारोबारमा सुगमता’ ल्याउने दिशामा एक निष्पक्ष सफलता हासिल गर्न सक्षम भएका छौँ।

समग्र विश्वमा के महसूस गरिँदैछ भने भारत जस्तो एक महान देश, एक विकासोन्मुख राष्ट्रले ठूलो सपना देख्न सक्छ र ठूलो फड्को मार्न सक्छ। ‘कारोबारमा सुगमता’ एक माइलखुट्टी जस्तो मात्र देखिन्छ, मेरो परम उद्देश्य  ‘जीवनयापनमा सुगमता’ हासिल गर्नु हो जहाँ सर्वसाधारणले सरकार वा अधिकारीहरूबाट मञ्जुरी प्राप्त गर्न स्वयंले परिश्रम गर्नुपर्दैन, उसले आफ्ना अधिकारहरू सजिलै प्राप्त गर्नसक्नेछ, यसैले हामी त्यस दिशातर्फ बढनु आवश्यक छ।

मेरा प्यारा देशवासीहरू, हाम्रो राष्ट्र अगाडि बढनुपर्छ तर देशले वृद्धिशील प्रगतिका लागि धेरै लामो प्रतीक्षा गर्न सक्दैन, हामीले एउटा ठूलो फड्को मार्नुपर्छ, हामीले हाम्रो सोचाईमा परिवर्तन ल्याउनुपर्छ। भारतलाई वैश्विक स्तरमा पुऱ्याउनका लागि हामीले आधुनिक पूर्वाधार संरचनाको निर्माण गर्नुपर्ने खाँचो छ।

घृणित मनोभाव भएतापनि सर्वसाधरणले सदैव एक राम्रो व्यवस्थाको सपना देखेको हुन्छ। उनीहरूलाई राम्रा कुराहरू मनपर्छन् र उनीहरूले यसका लागि आफूलाई विकसित गरेका हुन्छन्। यसैले हामीले यस समयावधिमा आधुनिक भौतिक संरचनाका लागि १०० लाख करोड रुपियाँ लगानी गर्ने निर्णय गरेका छौँ। यसले रोजगार सृजना गर्नेछ, नयाँ व्यवस्थाहरूको विकास हुनेछ र थुप्रै आकांक्षाहरू पुरा हुनेछन्। चाहे यो सागरमाला परियोजना होऊन् वा त भारत माला परियोजना, आधुनिक  रेलवे स्टेशन, बस स्टेशन वा विमानस्थल, यो चाहे आधुनिक अस्पतालहरू होऊन् वा विश्व स्तरका शैक्षिक संस्थानहरू, हामी समग्र पूर्वाधार संरचनाको विकास गर्न चाहन्छौँ। अब देशलाई समुद्री बन्दरगाहहरूको आवश्यकता छ। सर्वसाधारणमा बदलाऊ आएको छ र हामीले त्यसलाई बुझ्नुपर्छ।

यसभन्दा पहिले यदि कुनै विशेष क्षेत्रमा रेलवे स्टेशनको निर्माण गरिँदैछ भन्ने कागतमा लिइएको निर्णयले वर्षौसम्म एक सकारात्मक भावना रहिरहने गर्दथ्यो कि कुनै ठाउँमा एउटा नयाँ रेलवे स्टेशन उपलब्ध हुनेछ। तर अब समय बदलिएको छ। सर्वसाधारण मात्र एउटा रेलवे स्टेशनले सन्तुष्ट हुँदैनन्। उनीहरूले हठात् प्रश्न गर्छन् , “वन्दे भारत एक्सप्रेस हाम्रो क्षेत्रमा कहिले आइपुग्छ”? उनीहरूको सोचाईमा परिवर्तन आएको छ। यदि हामीले एउटा राम्रो बस स्टेशनको निर्माण गऱ्यौँ भने वा त पाँच तारे रेलवे स्टेशन, मानिसहरूले भन्नेछन्, “राम्रो भयो” । उनीहरूले तुरन्तै सोध्नेछन्, “विमानस्थल कहिले तयार हुन्छ ”। यसको अर्थ यो हो कि उनीहरूको सोचाईमा परिवर्तन आएको छ। मात्र एउटा रेल स्टेशनको निर्माणले खुसी हुने मानिसहरू अब सोध्ने गर्छन्, “ठीक छ, तर यहाँ विमानस्थल कहिले खोलिन्छ? ”

पहिले मानिसहरूले सोध्ने गर्थै, “हाम्रो क्षेत्रमा कालोपत्रे सडक कहिले बन्नेछ?”। अब मानिसहरू सोध्ने गर्छन्, “४ लेनको कि ६ लेनको सडक बन्छ ” उनीहरू अब कालोपत्रे सडकसँग सन्तुष्ट छैनन्। मेरो विचारमा महत्वाकांक्षी भारतका लागि यो एक अत्यन्त महत्त्वपूर्ण परिवर्तन हो।

यसअघि, जमिनमा बिजुलीका खम्बाहरू देख्दा मात्र पनि मानिसहरू खुसी हुन्थे, सोच्थे कि अब उनीहरूकोमा बिजुली पुग्यो। तर अहिले ट्रान्समिशनका तारहरू र इलेक्ट्रिक मिटरहरूको जडानपछि मानिसहरूले सोध्छन् , हामीले २४ घण्टा बिजुली आपूर्ति कहिलेदेखि पाउँछौँ?” अब उनीहरू मात्र खाँबो र तारहरूले मात्र खुसी हुँदैनन्।

यसअघि, जतिबेला मोबाइल फोनहरू प्रचलनमा आएको थियो त मानिसहरू मोबाइल फोन अन्ततः आइपुग्यो भनेर सन्तुष्ट थिए । तर अब त उनीहरू तुरन्तै डाटा स्पिडको बारेमा कुरा गर्छन्। हामीले यस मनोदशामा परिवर्तन र  बदलिदो समयलाई बुझ्नुपर्छ। हामी थुप्रै क्षेत्रहरूमा अगाडि बढनुपर्छ र त्यस्तै प्रकारले हामीले हाम्रो देशलाई आधुनिक पूर्वाधार संरचना, स्वच्छ ऊर्जा, ग्यास आधारित अर्थतन्त्र, ग्यास ग्रिड, ई-मोबिलिटी जस्ता वैश्विक मापदण्डका साथ अगाडि बढाउनुपर्छ।

मेरा प्यारा देशवासीहरू, सामान्यरूपमा हाम्रो देशमा सरकारको पहिचान यसरी बनिरह्यो कि सरकारले विशेष क्षेत्रका लागि के गऱ्यो, विशेष समुदाय वा वर्गका लागि के गऱ्यो?। सामान्यरूपमा सरकारले के दियो, कति दियो, कसले पायो जस्ता कुराहरूबाट सरकार र सर्वसाधारण हिँडिरहेका थिए। यसलाई राम्रो पनि मानिएको थियो।  शायद यो समयको माग र आवश्यकता थियो।

तर अब विगतमा जसले जे जति  पाए पनि हामी सबै मिलेर राष्ट्रका लागि  के सपना हासिल गर्न चाहन्छौँ त्यसबारे एकजुट भएर सोच्नुपर्छ। समयको माग के छ भने यी सपनाहरू पूरा गर्नका लागि जिउनु, जुध्नु र अगाडि बढनुपर्ने खाँचो छ। यसलाई ध्यानमा राख्दै हामीले पाँच ट्रिलियन डलरको अर्थतन्त्र हासिल गर्ने लक्ष्य राखेका छौँ। १३० करोड देशवासीहरू स-साना योगदानका साथ अगाडि बढन सक्नेछन्। ५ ट्रिलियन डलरको अर्थतन्त्रको लक्ष्य केही मानिसहरूलाई  कठिन लाग्छ होला। उनीहरू सही होलान् तर यदि हामीले कडा मेहनत गरेनौँ भने देश कसरी अगाडि बढनेछ? यदि हामीले कठिन चुनौती लिएनौँ भने हामी अगाडि बढने मानसिकताको विकास कसरी गर्नेछौँ?  मनोवैज्ञानिक दृष्टिले पनि हामीले सधैँ उच्च लक्ष्य राख्नुपर्छ र त्यो हामीले राखेका छौँ। तर यो मात्र हावामा होइन। स्वतन्त्रताको ७० वर्षपछि हामी २ ट्रिलियन डलरको अर्थतन्त्रमा पुग्यौँ, विकासको ७० वर्षको यात्रामा हामीले मात्र २ ट्रिलियन डलरको अर्थतन्त्र हासिल गर्न सक्यौँ। तर २०१४ देखि २०१९ सम्म पाँच वर्षभित्र हामी ३ ट्रिलियन डलरको अर्थतन्त्रमा पुग्यौँ। यदि मात्र पाँच वर्षमा यस्तो ठूलो फड्को मार्न सफल भयौं भने हामी आगामी ५ वर्षहरूमा ५ ट्रिलियन डलरको अर्थतन्त्र बन्न सक्छौँ। यो हरेक भारतीयको एउटा सपना हुनुपर्छ।

जब अर्थतन्त्र बढ्छ त यसले मानिसहरूको जीवनस्तर पनि राम्रो बनाउँछ। निम्न भन्दा निम्न व्यक्तिको सपना साकार गर्नका लागि अवसरहरूको सृजना हुन्छ। यी अवसरहरू सुजना गर्नका लागि हामीले  देशको आर्थिक क्षेत्रबारे सोच्नुपर्छ।

जब हामी किसानहरूको आय दोब्बर पार्ने सपना देख्छौँ, जब हामी देश स्वतन्त्र भएको ७५ वर्षपछि गरीब भन्दा गरीब परिवार सहित हरेक परिवारको आफ्नै घर हुनुपर्छ भन्ने सपना देख्छौँ, स्वतन्त्रताको ७५औँ वर्ष पूरा हुँदा हरेक परिवारले आफ्नो घरमा बिजुली पाउनुपर्छ भन्ने सपना देख्छौँ, स्वतन्त्रताको ७५ वर्षपछि भारतको हरेक गाउँमा अप्टिकल फाइबर नेटवर्क, ब्रड ब्यान्ड सम्पर्कता र लामो दूरीको शिक्षा होस् भन्ने सपना देख्छौँ त यी कुराहरू मात्र सपना हुनुहुँदैन।

हामीले हाम्रा समुद्री संसाधन र ब्लू इकोनमीमाथि ध्यान दिनुपर्छ। हामीले हाम्रा मछुवा समुदायलाई सशक्त पार्नुपर्छ। हाम्रा अन्नदाता किसानहरू ऊर्जा दाता बन्न सक्नेछन्।   उनीहरू किन निर्यातक बन्न सक्दैनन्, हाम्रा किसानहरूले उत्पादन गर्ने उत्पादहरूले अन्तर्राष्ट्रिय बजारमा किन स्थान पाउँदैनन्? हामी यी सपनाहरूका साथ अगाडि बढनुपर्छ। हाम्रो देशले आफ्नो निर्यातमा बढुवा दिनुपर्छ। वैश्विक बजारमा पहुँचका लागि हामी सबैले भरसक प्रयास गरौँ।

हाम्रो देशका हरेक जिल्लासँग एउटा देश बराबरको क्षमता छ, हाम्रा हरेक जिल्लाहरूसँग विश्वको एउटा सानो देश बराबरको क्षमता छ। हामीले यो शक्तिलाई बुझ्नुपर्ने र यो क्षमतालाई निर्देशित गर्नुपर्ने आवश्यकता छ। अनि हामीले हरेक जिल्लालाई एउटा निर्यात केन्द्र बनाउनेबारे किन नसोच्ने? हरेक जिल्लाको आफ्नै हस्तशिल्प छ र हरेक जिल्लाका आ-आफ्नै विशेषताहरू छन्। यदि केही जिल्लाहरू आफ्नो परफ्यूम अर्थात् अत्तरले परिचित छन्  भने अन्य केही जिल्लाहरूसँग साडीहरूको पहिचान छ त केही जिल्ला भाँडाका लागि प्रसिद्ध छन् भने केही जिल्लाहरू मिठाईका लागि चर्चित छन्। हाम्रा प्रत्येक जिल्लाहरूको एक विविध पहिचान र वैश्विक बजारको  क्षमता छ।

वैश्विक बजारहरूका लागि निर्माण उत्पादनमा जिरो डिफेक्ट जिरो इफेक्ट अर्थात् शून्य त्रुटी शून्य प्रभावको प्रयोग कसरी गर्न सकिन्छ त्यो हेर्ने प्रयास हामीले गरिरहेका छौँ। यदि हामीले यस विविधताबारे विश्वलाई जागरूक गरी निर्यातमा ध्यान दियौँ भने र विश्व बजार कब्जा गर्ने दिशामा कार्य गऱ्यौँ भने देशका युवाले रोजगार पाउनेछन्। यसले हाम्रो लघु  र सुक्ष्म स्तरका उद्योगलाई ठूलो बल प्राप्त हुनेछ। हामीले त्यो बललाई हैंसे प्रदान गर्नुपर्छ।

हाम्रो देश विश्वमा एक आकर्षक पर्यटक गन्तव्य बन्न सक्छ तर केही कारणले हामीले जति चाँडो गर्नुपर्ने थियो त्यति गर्न सकिरहेका छैनौँ। आउनुहोस्, हामी सबै देशवासीले देशमा पर्यटनलाई बढुवा दिनका लागि निर्णय लिऊँ। देशको अर्थतन्त्रले पनि बढुवा पाउनेछ। पर्यटनले बढुवा पायो भने पूँजी लगानीले थप रोजगार अवसरहरू उपलब्ध गराउनेछ। विश्वभरिका मानिसहरू आज नयाँ भारतलाई हेर्न तयार छन्। विश्वभरिका पर्यटकहरूलाई आकर्षित गर्नका लागि हामीले के गर्न सक्छौँ त्यसबारे सोचौँ, हामीले पर्यटन क्षेत्रलाई कसरी मजबुत पार्न सक्छौँ र पर्यटन स्थलहरूमा कस्तो व्यवस्था गर्न सक्छौँ त्यसबारे सोचौँ। हामीले सामान्य नागरिकहरूको आय बढाउने, उनीहरूका लागि राम्रो शिक्षा र नयाँ रोजगार अवसरहरू बारे पनि कुरा गर्नुपर्छ। मध्यम वर्गका मानिसहरूका लागि सुरुआत गर्ने ठाउँ हुनुपर्छ जसबाट उनीहरूले आफ्ना सपनाहरू महसूस गर्न सकुन्। हाम्रा वैज्ञानिकहरूसँग राम्रो सुविधा र संसाधनहरू हुनुपर्छ, हाम्रा बलहरूसँग असल हतियार र उपकरणहरू हुनुपर्छ जो स्वदेशमानै निर्मित होऊन्। मलाई विश्वास छ कि थुप्रै क्षेत्रहरू छन् जसले भारतलाई पाँच ट्रिलियन डलरको अर्थव्यवस्था दिनमा एउटा नयाँ तागत दिनेछ।

मेरा प्यारा दाजु-भाई अनि दिदी-बहिनीहरू आज हाम्रो देशमा आर्थिक सफलता हासिल गर्नका लागि उपयुक्त वातावरण छ। एक स्थिर सरकार छ भने नीतिहरू पूर्वकथनीय हुन्छन् र व्यवस्थाहरू स्थिर हुन्छन् तब विश्वले पनि तपाईँमाथि भरोसा गर्न थाल्छ। देशका जनताले यसलाई प्रदर्शित गरेका छन्। विश्वले अपार गर्व र सम्मानका साथ भारतको राजनीतिक स्थिरता हेरिरहेको छ। हामीले यस अवसरलाई खेरो जान दिनुहुँदैन। आज विश्व हामीसँग व्यापार गर्न इच्छुक छ। विश्व हामीसँग जोडिन चाहन्छ। आज हाम्रो लागि  एक ठूलो गर्वको विषय के बनेको छ भने मुद्रास्फीतिमाथि नियन्त्रण गरी विकास दर बढाउन हामी एक महत्त्वपूर्ण समीकरणका साथ अगाडि बढिरहेका छौँ। कहिलेकांही विकास दर बढन सक्छ तर मुद्रास्फीति नियन्त्रणमा हुन्छ। कहिलेकांही मुद्रास्फीति नियन्त्रणमा हुन्छ त विकास दर प्रभावित हुन्छ। तर हाम्रो सरकारले मुद्रास्फीतिलाई नियन्त्रणमा राख्नुका साथै विकास दर पनि बढाएको छ।

हाम्रो अर्थतन्त्रका आधारहरू मजबुत छन्। अनि यो मजबुतीले हामीलाई अगाडि बढनमा भरोसा दिएको छ। सोही प्रकारले जिएसटि जस्तो व्यवस्थाको विकास गरी दिवालियापन एवम् भुक्तान असक्षमता कानून जस्ता सुधारहरू ल्याएर हामीले भरोसाको वातावरण विकसित गरेका छौँ। हाम्रो देशमा उत्पादन बढाउनुपर्छ, हाम्रो प्राकृतिक सम्पत्तिको प्रशोधन बढाउनुपर्छ, विश्वमा मूल्य अभिवृद्धि र मूल्य अभिवृद्धि उत्पादहरूलाई बढाउनुपर्छ। हामीले किन सपना देख्न सक्दैनौँ जहाँ विश्वका हरेक देशले केही वा अन्य केही भारतीय उत्पादहरू आयात गरून्? भारतका  हरेक जिल्लामा निर्यात् गर्ने केही उत्पादहरू छन्। यी कुराहरूमाथि हामीले ध्यान दियौँ भने हामीले हाम्रो आय पनि बढाउन सक्छौँ। हाम्रा कम्पनी र उद्यमीहरूले पनि विश्व बजारमा पहुँचको सपना देख्न सक्छन्। विश्व बजारमा पहुँचपछि हाम्रा लगानीकर्ताहरू भारतको स्थिति राम्रो पार्न समर्थ हुनेछन्, हाम्रा लगानीकर्ता थप आर्जन गर्न सक्षम हुनेछन्, हाम्रा लगानीकर्ताहरूले थप रोजगार सृजना गर्नेछन्। रोजगार सृजनाका लागि लगानीकर्ताहरूलाई प्रोत्साहित गर्न हामी पूर्णरूपले तयार छौँ।

हाम्रो देशमा केही गलत मान्यताहरू उत्पन्न भएका छन् । हामी यस मान्यताबाट बाहिर आउनुपर्छ। देशका लागि सम्पत्तिको सृजना गर्ने, राष्ट्रका लागि सम्पत्ति सृजना गर्नमा योगदान दिने ती सबैले देशको सेवा गरिरहेका छन्। हामीले हाम्रा सम्पत्ति सर्जकहरूमाथि आशंकाको नजरले हेर्नुहुँदैन।

 हाम्रो राष्ट्रका सम्पत्ति सर्जकहरूलाई प्रोत्साहित गर्नु र मान्यता दिनु समयको माग हो। उनीहरूले थप मान- सम्मान प्राप्त गर्नुपर्छ। यदि सम्पत्तिको सृजना गरिएन भने, धन वितरित गर्न सकिँदैन। अझ भन्नुपर्दा, यदि सम्पत्ति वितरित गरिएन भने हामी हाम्रो समाजका गरीब वर्गको उत्थान गर्न सक्दैनौँ। यसैले हाम्रो देशका लागि सम्पत्तिको सृजना गर्नु महत्त्वपूर्ण छ जसलाई हामीले अझ विस्तार गर्नुपर्छ।

सम्पत्ति सृजना गर्ने प्रयास गरिरहेकाहरू मेरो विचारमा राष्ट्रका सम्पत्ति हुन् र उनीहरूलाई सशक्त पार्नुपर्छ।

मेरा प्यारा देशवासीहरू, आज शान्ति र सुरक्षा विकासका अनिवार्य पक्ष हुन्। दुनियाँ आज असुरक्षाले घेरिएको छ। दुनियाँको कुनै न कुनै भागमा, कुनै न कुनै रूपमा मृत्युको छाया मडराइरहेको छ। विश्व शान्तिको समृद्धिको लागि भारतले आफ्नो भूमिका खेल्नु पर्नेछ। वैश्विक परिवेशमा भारत मूक दर्शक बनेर बस्न सक्दैन र भारत आतङ्क फिँज्याउनेहरूविरुद्ध मजबुतीका साथ लडिरहेको छ। विश्वको कुनैपनि कुनामा आतङ्कको घटना मानवतावादविरुद्ध सुरु गरिएको एक युद्ध हो। त्यसैले यो आह्वान गरिन्छ  कि विश्वभरका मानवतावादी शक्तिहरू एक हौँ। आतङ्कवादलाई संरक्षण दिने, आतङ्कवादलाई प्रोत्साहन दिने, आतङ्कवाद एक्सपोर्ट गर्ने, यस्ता सारा तागतहरूलाई दुनियाँसामु उनीहरूको अस्सली स्वरूपमा प्रस्तुत गर्दै दुनियाँको तागतलाई जोड्दै आतङ्कवादलाई समाप्त पार्ने प्रयासहरूमा भारतले आफ्नो भूमिका खेलोस्, हामी यही चाहन्छौँ।

केही मानिसहरूले त भारतलाई मात्रै होइन हाम्रा छिमेकी देशहरूमा पनि आतङ्कवादद्वारा बर्बादी गरिराखेका छन्। बाङ्ग्लादेश पनि आतङ्कवादविरुद्ध जुधिरहेको छ, अफगानिस्तान पनि आतङ्कवादविरुद्ध जुधिरहेको छ। श्रीलङ्कामा चर्च भित्र बसिरहेका निर्दोष मानिसहरू मारिए। यो कत्ति ठूलो पीडादायी कुरा हो तसर्थ जब हामी आतङ्कवाद विरुद्ध लडाइँ लड्द छौँ त्यस समय हामी यस समग्र भूभागको शान्ति र सुरक्षाका लागि हाम्रो भूमिका निर्वाह गर्ने दिशामा सक्रिय भएर काम गरिराखेका छौँ। 

हाम्रो असल छिमेकी मित्र मुलुक अफगानिस्तानले चार दिनपछि आफ्नो स्वाधीनता दिवस मनाउन गइरहेको छ। यो उनीहरूको स्वतन्त्रताको  १००औँ वर्षगाँठ हो। म आज लाल किलाबाट अफगानिस्तानका मेरा मित्रहरू, जो चार दिनपछि १००औँ स्वतन्त्रता दिवस मनाउन गइरहेका छन्, उनीहरूलाई अनेकौँ अनेकौं शुभकामना दिँदछु।

आतङ्कवाद र हिंसाका वातावरण उत्पन्न गर्नेहरूलाई तथा यसलाई फैलाउनेहरूलाई, भयको वातावरण बनाउनेहरूलाई निर्मूल पार्न सरकारका नीति र रणनीतिहरू स्पष्ट छन्।  यस्तो गर्न हामीलाई कुनै पनि हिचकिचाहट हुने छैन। हाम्रा सैनिक, सुरक्षा बल, सुरक्षा एजेन्सीहरूले धेरै प्रशंसनीय काम गरेका छन्। संकटको घडीमा समेत देशलाई शान्ति दिनका लागि वर्दीमा खडा भएका सबै मानिसहरूले आज आफ्ना प्राणको आहूति दिएर हाम्रो भोलीका दिनहरूलाई उज्यालो दिनका निम्ति जीवन गुमाएका छन्। म उनीहरू सबैलाई सलुट गर्दछु। म उनीहरूलाई नमन गर्दछु। तर समय रहँदा नै सुधार गर्नु अत्यावश्यक हुँदछ।

तपाईँहरूले देख्नुभएको छ होला हाम्रो देशमा सैन्य व्यवस्था, सैन्य शक्ति, सैन्य संसाधन र यसमा सुधारका लागि दीर्घ समयदेखि चर्चा चलिरहेको छ। अनेक सरकारहरूले यसमाथि चर्चा गरे। अनेक आयोगहरू गठन गरिए, अनेक रिपोर्टहरू आए तथा सबै रिपोर्टहरूले एउटै स्वरलाई उजागर गर्दै आएका छन्। १९-२० को फरक मात्रै छन्, ज्यादा फरक छैन, तर ती कुरा निरन्तर बताएका छन्। हाम्रो सेनाको तीनै अङ्ग; जल, थल र वायुसेना बिच तालमेल रहेको छ।  यस सैन्य व्यवस्थामाथि हामी गर्व गर्छौँ। कुनै पनि हिन्दुस्तानीले भारतीय सेनामाथि  गर्व गर्न सक्छ। उनीहरू आ-आफ्नै तरिकामा आधुनिकीकरणको दिशामा अगाडि बढिराखेका छन्।

तर आज विश्व परिवर्तन भइराखेको छ, युद्धको दायरा परिवर्तन भइराखेको छ, युद्धको रूप परिवर्तन भइराखेको छ। यो अहिले प्रविधिमा आधारित बनेको छ र यस्तो स्थितिमा भारतले पनि खण्डित सोच राख्नु हुँदैन। हाम्रो समग्र सैन्य शक्ति एकबद्ध भएर काम गर्नुपर्छ अनि अघि बढ्नु पर्छ। नौसेना, थलसेना तथा वायुसेना मध्ये कुनै एउटा मात्र अगाडि बढेको खण्डमा, अनि तीमध्ये दुई चाहिँ पछि रहेको अवस्थामा असल ढंगमा बढ्न सकिँदैन। तीनै अङ्ग एउटै गतिमा एकैसाथ अघि बढ्नु पर्नेछ। त्यहाँ असल तालमेल हुनुपर्छ अनि यो हाम्रा मानिसहरूको आकांक्षाअनुरुप हुनुपर्दछ। यो, बद्लिँदो युद्ध र सुरक्षा वातावरणअनुकूल हुनुपर्दछ र आज म लाल किलाबाट एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु। यस विषयका विज्ञहरूले धेरै समयदेखि यसको माग गरिरहेका थिए। आज हामीले सेनाका तीनै अङ्गका लागि एउटा प्रमुख (चीफ अफ द डिफेन्स स्टाफ, सीडीएस) बनाउने निर्णय गरेका छौँ र यो पद स्थापित भइसकेपछि तीनवटै सेवाले उच्चस्तरमा प्रभावी नेतृत्व पाउने छन्। विश्वमा भारतको सामरिक गतिमा सुधार ल्याउने हाम्रो सपनामा  सीडीएस प्रणाली एक अत्यन्त महत्त्वपूर्ण र बाध्यकारी कार्य हो।

मेरा प्यारा देशवासीहरू, हामी भाग्यमानी छौँ किन कि हामी यस्तो समयमा जन्मेका छौँ, हामी यस्तो समयमा बाँचिरहेका छौँ जुन समय हामीमा केही गर्ने क्षमता रहेको छ। कहिलेकाहिँ मेरो मनमा यस्तो सम्झना आउँछ कि जब हामी स्वाधीनताका लागि लडाइँ लड्दै थियौँ त्यतिखेर भगत सिंह, सुखदेव र राजगुरू जस्ता महापुरुषहरूले  आफ्नो बलिदान दिनका लागि प्रतिस्पर्धा गरिरहेका थिए। महात्मा गान्धीको नेतृत्वमा स्वतन्त्रता सङ्ग्रामीहरू उनीहरूको स्वाधीनताको सपना साकार गर्नका खातिर देशलाई जगाउन घरका दैलो-दैलो पुगिरहेका थिए। हामी त्यसबेला जन्मेका थिएनौँ। देशका लागि बलिदान दिने अवसर हामीले पाएनौँ तर हामीले निश्चय नै देशका लागि जिउने मौका पाएका छौँ। अनि यो खुसीको कुरा हो कि यो समय उस्तै नै हो, यो वर्ष हाम्रो निम्ति अत्यन्त्यै महत्त्वपूर्ण छ। यो साल बापु महात्मा गान्धीको १५०औँ जन्मोत्सव हो। 

यस्तो अवसर पाएकोमा हामी धन्य बनेका छौँ। हाम्रो स्वाधीनताको ७५ साल अनि देशका निम्ति बलिदान दिनेहरूको सम्झनाले, हामीलाई केही गर्ने प्रेरणा दिँदछ। हामीले यस अवसरको उपयोग गर्नुपर्छ। महात्मा गान्धी र देशका स्वाधीनता सेनानीहरूको सपना साकार गर्न हामी १३० करोड देशवासी अघि बढ्नु पर्छ। हामीले स्वाधीनताको ७५ साल र गान्धीको १५० वर्षलाई  एक उत्सव बनाउनु पर्दछ। यो हाम्रो प्रेरणाका लागि ठूलो अवसर हो। 

यसै लाल किलाबाट मैले २०१४ मा स्वच्छताबारे बोलेको थिएँ। म विश्वस्त छु कि २०१९-को आगामी केही साता भित्रमा  भारतले स्वयं खुल्लामा शौचमुक्त भएको घोषणा गर्नेछ। खुल्लामा शौचमुक्त अभियानको सम्बन्धमा राज्य, गाउँ, नगरपालिका, मीडिया, सबैले  जनअभियान सुरु गरेका छन् । यसमा सरकार काहिँ पनि देखा परेको छैन, यस जनअभियानमा मानिसहरूले भाग लिएका हुन् तथा यसका परिणामहरू प्रस्ट देख्न सकिन्छ।

मेराप्यारा देशवासीहरू, म तपाईँहरू समक्ष एउटा सानो अनुरोध गर्न चाहन्छु। यो २ अक्टोबरको दिन के हामी भारतलाई एउटै पनि प्लास्टिक प्रयोग नगरिएको दिन बनाउन सक्छौँ? हामी यताउता घुमौँ, टीमहरू बनाउँ अनि घर, स्कूल र कलेजबाट बाहिर निस्कौँ।

परम पूज्यनीय बापुलाई सम्झदै  हामी घरबाट बाहिर निस्केर आङ्गन, बाटो, सडक, चौक र नालाहरूबाट एक-एकवटा प्लास्टिक टिपऊँ। नगरपालिका, नगरनिगम तथा ग्राम पञ्चायतहरूले प्रयोग भएको हरेक प्लास्टिक टिप्ने चाँजो मिलाउनु पर्छ। के हामी अक्टूबर २ तारिख भारतलाई प्रयोग भएको प्लास्टिकबाट मुक्त बनाउने दिशामा पहिलो ठूलो पाइलो सार्न सक्छौँ?

आउनुहोस् मेरा देशवासीहरू, यसलाई अगाडि लैजाऊँ।

म स्टार्टअप सङ्गठन, प्राविधिक तथा उद्यमीहरूलाई अनुरोध गर्ने छु कि ती प्लास्टिकलाई रिसाइकल गर्न हामीले के गर्न सक्ने छौँ। प्लास्टिकलाई सडक निर्माण गर्न प्रयोग गर्ने गरिन्छ। त्यहाँ यस्ता अनेकौँ उपायहरू छन्। तर त्यस्ता समस्याहरू हटाउन हामीले जनान्दोलन सुरु गर्नु पर्नेछ तर सँग-सँगै हामीले वैकल्पिक प्रणालीतर्फ पनि ध्यानकेन्द्रित गर्नु पर्दछ। साइन बोर्डहरू भएका सबै पसलेहरूलाई म अनुरोध गर्न चाहन्छु कि कृपयागरी तपाईँहरूले आफ्ना ग्राहकहरूलाई प्लास्टिकको प्रयोग नगर्ने सुझाउदै त्यो सँगै अर्को बोर्ड पनि लगाउनुहोस्। तपाईँहरूले सो बोर्डको माध्यमद्वारा आफ्ना ग्राहकहरूलाई उनीहरूका सरसमानहरू बोक्न कपडाको थैला साथमा ल्याउन वा किन्न अनुरोध गर्नुहोस्। आउनुहोस् हामी यस्तो वातावरण सिर्जना गरौँ। दिवालीमा हामी उपहारहरू दिने गर्छौँ। ती उपहारहरूलाई यो वर्ष तथा हरेक वर्ष कपडाको झोलामा प्याक गर्ने गरौँ न। यदि मान्छेहरू कपडाको झोला लिएर बजार गए भने, तपाईँको कम्पनीको विज्ञापन पनि हुनेछ। यदि तपाईँले डायरी वा क्यालेण्डर दिनुभयो भने केही पनि हुने छैन। तर तपाईँले एउटा झोला दिनुभयो भने, त्यो तपाईँको विज्ञापनको माध्यम बन्नेछ। यो सन्पाटको झोला हुनुपर्छ। यसले किसानहरूलाई मद्दत गर्नेछ। यी सब साना कुरा हुन्। यसले बुनाइसिलाइ पेसामा सलंग्न गरीब बिधवाहरूलाई मद्दत गर्नेछ। हाम्रा साना-साना पाइलाहरूले आम मानिसहरूको जीवनमा परिवर्तन ल्याउन सक्छन् तथा हामीले त्यस दिशामा काम गर्नु पर्नेछ।

मेरा प्यारा देशवासीहरू, चाहे त्यो ५ ट्रिलियन अर्थतन्त्रको सपना होस् वा आत्मनिर्भर भारतको सपना, हामीले महात्मा गान्धीका सिद्धान्तहरूको अनुसरण गरिराखेका छौँ। महात्मा गान्धीका विचारहरू अहिलेको समयमा पनि सान्दर्भिक छन्। त्यसर्थ, हामीले हाम्रो मेक इन इन्डियामिशनलाई अघि लैजानु पर्नेछ। भारतमा निर्मित उत्पादहरू के हाम्रो प्राथमिकता बन्न सक्दैन र ? आउनुहोस् हामी निर्णय गरौँ कि हाम्रो मुलुकमा जे पनि बनिन्छ वा उपलब्ध हुन्छ, त्यो हाम्रो निम्ति प्राथमिकता हुनेछ। हामीले स्थानीय उत्पादहरूमाथि जोड दिनुपर्छ, उज्जवल भविष्यका लागि हामीले स्थानीय सर-सामग्रीहरूलाई नै बढी प्राथमिकता दिनुपर्छ। ग्रामीण क्षेत्रमा जे पनि उत्पादन हुन्छ त्यसलाई प्राथमिकता दिनुपर्नेछ। यदि त्यो कुरा ग्रामीण क्षेत्रमा उपलब्ध छैन भने हामी त्योभन्दा बाहिर तहसिल, जिल्ला त्यसपछि राज्यस्तरसम्म पुग्नु पर्नेछ। मलाई लाग्दैन कि कोही पनि आफ्ना आवश्यकताहरू पूरा गर्न राज्यबाट बाहिर जानुपर्छ। हाम्रो ग्रामीण अर्थव्यवस्थाले गति प्राप्त गर्नेछ, हाम्रा साना उद्यमीहरूले पनि गति प्राप्त गर्ने छन् साथै हाम्रा परम्परागत कुराहरूले ऊर्जा पाउने छन्।  

दाजु-भाइ तथा दिदी-बहिनीहरू, हामी मोबाइल फोन मन पराउछौँ, हामीलाई ह्वाट्सएप म्यासेज पठाउन मन पर्छ, हामी फेसबुक र ट्वीटर चलाउन मन पराउछौँ। तर हामी यी माध्यमहरूद्वारा मुलुकको अर्थव्यवस्थालाई मद्त गर्न सक्छौँ। प्रविधि ती मानिसहरूका लागि उपयोगी हुन्छ जसलाई त्यसको उपयोगिताबारे थाहा हुन्छ। प्रविधि एक आधुनिक भारतको विकासका लागि मदतगार हुनेछ। हामी डिजिटल भुक्तानीको दिशामा किन अघि बढ्दैनौ र? आज गर्व गर्छौँ कि हाम्रो रूपे कार्ड सिङ्गापुरमा स्वीकार्य बनेको छ। निकट भविष्यमा हाम्रो रूपे कार्ड अधिक मुलुकहरूमा स्वीकार गरिनेछ। हाम्रो डिजिटल प्ल्याटफर्म तीव्र गतिले फैलिरहेको छ। के हामी डिजिटल भुक्तानीलाई गाउँ, साना पसल तथा शपिङ्ग मॉलहरूमा जोड दिन सक्दैनौ र? इमानदारिता, पारदर्शिता तथा हाम्रो मुलुकको अर्थतन्त्र मजबुत बनाउनका खातिर आउनुहोस् डिजिटल भुक्तानीको दिशामा अघि बढौँ। यदि तपाईँहरू गाउँघरहरू जानुभयो भने तपाईँहरूले सामान्यत:  व्यापारीहरूले “ओनली क्याश, नो क्रेडिट कार्ड प्लीज लेखेका बोर्डहरू लगाएको देख्नुहुनेछ। म व्यापारीहरूलाई से येस टू डिजिटल पेमेन्ट एन्ड नो टू क्याश लेखेको अर्को बोर्ड लगाउन आग्रह गर्दछु। यस्तो एउटा वातावरण तयार गर्नु पर्दछ। म बैंकिङ्ग क्षेत्रसँग आग्रह गर्दछु, म ब्यापार जगतका मानिसहरूसँग आग्रह गर्दछु कि आउनुहोस् हामी यी चीजहरूमाथि बल दिउँ। 

हाम्रो देशमा मिडल क्लास, हाइयर मिडल क्लास-को बल्क बढ्दै गइरहेको छ, राम्रो कुरा हो। वर्षमा एकदुईपल्ट परिवारसँग, बच्चाहरूसँग दुनियाँका अलग-अलग देशहरूमा टुरिस्टको रूपमा पनि जान्छौँ, बच्चाहरूले एक्सपोजर पाउँछन्, राम्रो कुरा हो। तर म आज यस्ता सबै परिवारहरूलाई आग्रह गर्दछु, देशको लागि जब देशले आजादीको ७५ वर्ष मनाउन गइरहेको छ, देशको लागि यतिका महापुरुषहरूले बलिदान दिएका छन् तब, जिन्दगी बिताइदिए तब, के तपाईं चाहनुहुन्न् कि तपाईंको सन्तानले पनि हाम्रो देशका मसिना कुराहरूलाई बुझुन्। कुन मातापिताले चाहँदैन कि हाम्रो-तपाईंको भावी पिँढी भावनात्मक रूपले यो माटोसित जोडिउन्, यसको इतिहाससित जोडिउन्, यसका हावाहरू, यसको पानीबाट नयाँ ऊर्जा प्राप्त गरून्। यो हामीले प्रयत्नपूर्वक गर्नु पर्छ। हामी जतिनै अगाडि बढे पनि, जराहरूबाट काटिनुले हामीलाई कहिल्यै बचाउन सक्दैन, बढाउन सक्दैन। र त्यसैले जो दुनियाँमा टुरिस्टको रूपमा गएतापनि, के म तपाईंहरूसँग एउटा कुरा माग्न सक्छु, लाल किलाबाट देशका नौजवानहरूको रोजगारका लागि, विश्वमा भारतको पहिचान बनाउनका लागि, भारतको सामर्थ्य उजागर गर्नका लागि, मेरा प्यारा देशवासीहरू आज म तपाईंहरूसँग एउटा सानो माग गर्दैछु – के तपाईं फैसला गर्नु हुन्छ कि २०२२ आजादीको ७५औँ वर्षभन्दा अगाडि हामी आफ्नो परिवारसित भारतको कमसेकम १५ टुरिस्ट डेस्टिनेशन्समा जानेछौँ। त्यहाँ कठिनाइहरू पनि हुनेछन्, त पनि जानेछौँ। त्यहाँ राम्रा होटेल छैनन्,त पनि जाने छौँ। कहिलेकाहीँ कठिनाइहरू पनि जिन्दगी जिउने काममा आउँछन्। हामी बच्चाहरूमा बानी बसालौँ कि यही हाम्रो देश हो। एकपल्ट जान थाल्यौँ भने त्यहाँ व्यवस्थाहरू विकसित गर्नेवाला मानिसहरू पनि जाने सुरु गर्नेछन्। हाम्रो देशमा १ सय यस्ता बढिया टुरिस्ट डेस्टिनेशन डेभलप किन नगरौँ, हरेक राज्यमा २ वा ५ वा ७ टप क्लास टुरिस्ट डेस्टिनेशन तयार किन नगरौँ, टार्गेट राखेर तयार गरौँ। हामी फैसला गरौँ – हाम्रो नर्थइस्टमा यति प्राकृतिक सम्पदा छ, तर कति युनिभर्सिटिज छ्न् जसले आफ्ना टुरिस्ट डेस्टिनेशन नर्थइस्टलाई बनाउँछन्। धेरै कन्ट्रिब्युट गर्नु पर्दैन। तपाईंले ७ दिन, १० दिन निकाल्नु पर्नेछ तर देशभित्रनै निकाल्नुहोस्।

तपाईं हेर्नुहोस्, तपाईं जहाँ गएर आउनुहुनेछ, त्यहाँ नयाँ दुनियाँ जमाएर आउनुहुनेछ, बिऊ छरेर आउनु हुनेछ र जीवनमा तपाईंलाई पनि सन्तोष हुनेछ। हिन्दुस्तानका मानिसहरू जान सुरु गरेपछि दुनियाँका मानिसहरू पनि आउन थाल्नेछन्। हामी दुनियाँमा जानेछौँ र भन्नेछौँ तपाईंले त्यो देख्नुभएको छ? कुनै टुरिस्टले हामीलाई सोध्नेछ कि तपाईं हिन्दुस्तानबाट आउनुभएको हो, तपाईंले तमिलनाडूको त्यो टेम्पल देख्नुभएको छ? अनि हामी भन्नेछौँ, म त्यहाँ गएको छैन, त उसले भन्नेछ, कमाल छ, म त तपाईंको देशको तमिलनाडूको मन्दिर हेर्न गएको थिएँ र तपाईं यहाँ आउनुभएको छ। हामी दुनियाँमा जाऔँ, आफ्नो देशलाई जानेपछि जाऔँ। हामी यति काम गर्न सक्छौँ। 

म, मेरा किसान दाजुभाईहरूसित आज आग्रह गर्न चाहन्छु। तपाईंहरूबाट म केही माग्न चाहन्छु। मेरो किसानको लागि, मेरा देशवासीहरूका लागि यो धरती हाम्री आमा हुन्। भारत माताको जय भन्ने बित्तिकै हामीभित्र ऊर्जाको सञ्चार हुन्छ। वन्देमातरम भन्ने बित्तिकै यो धरती आमाको लागि न्यौछावर हुने प्रेरणा प्राप्त हुन्छ। एउटा दीर्घकालिक इतिहास हामी सामु छ तर के हामीले कहिल्यै हाम्री धरती माताको स्वास्थ्यको चिन्ता गरेका छौँ। हामी जुन प्रकारले केमिकलको प्रयोग गरिरहेका छौँ, केमिकल फर्टिलाइजरको उपयोग गरिरहेका छौँ, पेस्टिसाइड्सको उपयोग गरिरहेका छौँ। हामी हाम्री यी धरती आमालाई बर्बाद गरिरहेका छौँ। यो आमाको सन्तानको रूपमा , एक किसानको रूपमा मलाई मेरी धरती आमालाई बर्बाद गर्ने कुनै हक छैन। मेरी धरती आमालाई दुःखी पार्ने हक छैन, मेरी धरती आमालाई रोगी बनाउने हक छैन। 

आउनुहोस्, आजादीको ७५ वर्ष हुन गइरहेको छ। पूज्य बापूले हामीलाई बाटो देखाउनुभएको छ। के हामीले १० परसेन्ट, २० परसेन्ट, २५ परसेन्ट आफ्नो खेतमा यो केमिकल फर्टिलाइजर कम गर्नेछौँ, हुन सके मुक्तिकर अभियान चलाउने छौँ। तपाईं हेर्नुहोस्, देशको कति ठुलो सेवा हुनेछ। हाम्री धरती आमालाई बचाउनमा, तपाईंको कति ठुलो योगदान हुनेछ। वन्देमातरम् भनेर जो फाँसीको तखतामा चढेको थियो, उसको सपनालाई पूरा गर्नका लागि, यो धरती आमालाई बचाउनका लागि तपाईंको कामले, उसको पनि आशीर्वाद प्राप्त गर्नेछ, जसले फाँसीको तखतामा चढेर वन्देमातरम् भनेको थियो। त्यसैले म आग्रह गर्दछु र मलाई विश्वास छ मेरा देशवासीहरूले यो गरेरै छाड्नेछन्। मेरा किसानले मेरो यो मागलाई पूरा गर्नेछन्, यो मलाई पूरा विश्वास छ। 

मेरा प्यारा दाजुभाई-दिदीबैनीहरू, हाम्रो देशका प्रोफेशनल्स, उनीहरूको आज पूरा दुनियाँमा गुञ्ज छ। उनीहरूको सामर्थ्यको चर्चा छ। मानिसहरूले उनीहरूको लोहा मान्दछन्। स्पेस होस्, टेक्नोलोजी होस्, हामीले नयाँ मन्जिलहरू हासिल गरेका छौँ। हाम्रोलागि खुसीको कुरा यो छ कि हाम्रो चन्द्रयान तेजीले चन्द्रमाको त्यो किनारातर्फ बढिरहेको छ, जहाँ अहिलेसम्म कोही गएको छैन। हाम्रा वैज्ञानिकहरूको सिद्धि हो। 

त्यसैप्रकारले खेलका मैदानहरूमा हामी धेरै कम देखिन्थ्यौँ। आज दुनियाँका खेलका मैदानहरूमा मेरो देशका १८-२० वर्ष, २२ वर्षका छोरा-छोरीहरूले हिन्दुस्तानको तिरङ्गा झण्डा फहराइरहेका छन्। कति गर्व हुन्छ। देशका खेलाडीहरूले देशको नाम उज्ज्वल पारिरहेका छन्। 

मेरा देशवासीहरू, हामीले हाम्रो देशलाई अगाडि बढाउनु छ। हामीले हाम्रो देशमा परिवर्तन ल्याउनु छ। हामीले देशमा नयाँ उँचाइहरू पार गर्नु छ र मिलिजुली बस्नु छ। सरकार र जनताले मिलेर काम गर्नु छ। १३० करोड देशवासीहरूले गर्नु छ। देशको प्रधान मन्त्री पनि तपाईंहरू सरह यो देशको एक बालक हो, यो देशको एक नागरिक हो। हामी सबैले मिलेर बस्नु छ। 

चाहे आउने दिनहरूमा गाउँहरूमा डेढ लाख वेलनेस सेन्टरहरू बनाउनु छ, हेल्थ सेन्टर बनाउनु छ वा, हरेक तीन लोकसभा निर्वाचन क्षेत्रको बिचमा एउटा मेडिकल कलेज बनाउनु छ, हाम्रा नौजवानहरूले डक्टर बन्ने सपना पूरा गर्नु छ। दुई करोडभन्दा अधिक गरिबहरूका लागि घर बनाउनु छ। हामीले १५ करोड ग्रामीण घरहरूमा पिउने पानी पुऱ्याउनु छ। सवालाख किलोमिटर ग्रामीण सडकहरू बनाउनु छ। हरेक गाउँलाई ब्रडब्यान्ड कनेक्टिभिटी, अप्टिकल फाइबर नेटवर्कसित जोड्नु छ। ५० हजार भन्दा धेरै नयाँ स्टार्टअपको जाल बिछ्याउनु छ। अनेक सपनाहरूलाई लिएर अगाडि बढ्नु छ। त्यसैले दाजुभाई-दिदीबैनीहरू, हामी देशवासीहरूले मिलेर सपनाहरूलाई लिएर देशलाई अगाडि बढाउनका लागि हिँड्नु पर्नेछ र आजादीको ७५ वर्ष, यसको लागि धेरै ठुलो प्रेरणा हो। 

मलाई थाहा छ, लाल किलाको प्राचीरमा समयको पनि एक सीमा छ। १३० करोड देशवासी, उनीहरूका पनि सपना छन्, १३० करोड देशवासीहरूका आफ्ना चुनौतीहरू पनि छन्। हरेक सपनाको, हरेक चुनौतीको आफ्नै महत्त्व पनि छ। कोही अधिक महत्त्वपूर्ण छ, कोही कम महत्त्वपूर्ण छ, यस्तो छैन। तर वर्षाको मौसम छ, लामो बोल्दा-बोल्दा स्पिच पूरा हुने सम्भावना छैन र त्यसैले हरेक इश्युको आफ्नो महत्त्व हुनाको बावजुद जति कुराहरू आज भन्न पाएँ, र जो भन्न पाइन, ती सबै महत्त्वपूर्ण छन्। ती कुराहरूलाई लिएर हामी अगाडि बढौँ, देशलाई हामीले अगाडि बढाउनु छ। 

आजादीको ७५ वर्ष, गान्धी जीको १५० वर्ष र भारतको संविधानको ७० वर्ष भएको छ। बाबा साहेब अम्बेडकरका सपना र यो वर्ष महत्त्वपूर्ण छ, गुरू नानकदेवजीको ५५०औँ पर्व पनि छ। आउनुहोस्, बाबा साहेब अम्बेडकर, गुरू नानकदेवजीको शिक्षाका साथ हामी अगाडि बढौँ र एउटा उत्तम समाजको निर्माण, उत्तम देशको निर्माण, विश्वका आशाहरू-अपेक्षाहरूअनुरूप भारतको निर्माण हामीले गर्नु छ। 

मेरा प्यारा दाजुभाई-दिदीबैनीहरू, हामीलाई थाहा छ, हाम्रो लक्ष्य हिमालय जति अग्लो छ, हाम्रा सपना अनगन्ति असंख्य ताराहरूभन्दा पनि धेरै छन्, तर हामीलाई यो पनि थाहा छ कि हाम्रा हौसलाको उडानको अगाडि आकास पनि केही होइन। यो सङ्कल्प हो, हाम्रो सामर्थ्य हिन्द महासागर जति अथाह छ, हाम्रा कोशिसहरू गङ्गाका धारा जति पवित्र छ, निरन्तर छ र सबैभन्दा ठुलो कुरा हाम्रा मूल्यहरूको पछाडि हजारौँ वर्ष पुरानो संस्कृति, ऋषिहरूको, मुनिहरूको तपस्या, देशवासीहरूको त्याग, कठोर परिश्रम – यही हाम्रो प्रेरणा हो। 

आउनुहोस्, हामी यिनै विचारहरूका साथ, यिनै आदर्शहरूका साथ, यिनै सङ्कल्पहरूका साथ सिद्धि प्राप्त गर्ने लक्ष्यलाई लिएर अगाडि बढौँ, नयाँ भारतको निर्माणका लागि, आफ्ना जिम्मेबारीहरूलाई पूरा गर्दै, नयाँ आत्मविश्वास, नयाँ सङ्कल्प, नयाँ भारत बनाउने जडीबूटी हो। आउनुहोस्, हामी मिलेर देशलाई अगाडि बढाऔँ। यसै एक अपेक्षाका साथ, म फेरि एकपल्ट देशको लागि जिउने, देशको लागि जुझ्ने, देशको लागि मर्ने, देशको लागि केही गर्नेवाला हरेकलाई नमन गर्दै मसँग भन्नुहोस् – 

जय हिन्द

जय हिन्द

भारत माताको जय

भारत माताको जय

वन्देमातरम्

वन्देमातरम्

धेरै धेरै धन्यवाद।