जाम्बियाका राष्ट्रपतिको भारत भ्रमणबाट द्विपक्षीय सम्बन्धहरूमा सुधार

राष्ट्रपति रामनाथ कोविन्दको निमन्त्रणामा जाम्बियाका राष्ट्रपति एड्गार लुंगू भारत भ्रमणमा आउनुभएको थियो। जाम्बियामा नयाँ सरकार गठन भएपछि त्यहाँका राष्ट्रप्रमुखले गर्नुभएको यो पहिलो उच्चस्तरीय भ्रमण हुनुका साथै राष्ट्रपति लुंगूको पनि पहिलो राजकीय भारत भ्रमण पनि हो। यसअघि सन् २००३ मा जाम्बियाका तत्कालीन राष्ट्रपति लेभी म्वानावासा भारत भ्रमणमा आउनुभएको थियो।

अफ्रिकासँग सहकार्य गरी सम्बन्धमा सुधार गर्ने भारतको नीतिलाई हेर्दा यो भ्रमणको ठुलो महत्त्व छ जसका कारण तेस्रो भारत-अफ्रिका सम्मेलनपछि भारत र अफ्रिकी नेताहरूले ३५-३५ पल्ट एकार्काका देशको भ्रमण गरिसकेका छन्। यसका अतिरिक्त रामनाथ कोविन्दले पोहोर अप्रिल महिनामा भारतकाराष्ट्रपति पद सम्हाल्नुभएको १६ महिनापछि जाम्बियाका राष्ट्रपतिको भारत भ्रमण भएको हो। यो भ्रमणले द्विपक्षीय सम्बन्धहरूका सम्पूर्ण विषयहरूको समीक्षा गर्ने अवसर प्रदान गरेको छ।

जाम्बियाका राष्ट्रपतिको भारत आगमनका प्रमुख आकर्षणहरूमा, राष्ट्रपति भवन प्राङ्गणमा उहाँको भव्य स्वागतका साथ सुरु भई राजघाटको दौडाहा, राष्ट्रपति कोविन्दसँग बैठक र प्रधान मन्त्री नरेन्द्र मोदीसँग शिष्टमण्डलस्तरीय वार्ता सामेल छन्। श्री लुंगू, नयाँ दिल्लीमा आयोजित भारत-जाम्बिया व्यावसायिक फोरमको बैठकमा पनि सहभागी हुनुभयो।

शिष्टमण्डलस्तरीय वार्ताका क्रममा जाम्बियाका राष्ट्रपति र भारतका प्रधान मन्त्रीले रक्षा, प्रतिरक्षा, खनिज संसाधन, व्यापार तथा लगानी, पूर्वाधार, ऊर्जा, स्वास्थ्य, सामर्थ्य निर्माण तथा संस्कृतिका क्षेत्रमा सहयोग बढाउनुका साथै क्षेत्रीय र विश्वव्यापी मामिलाहरूमा उपयोगी विचार-विमर्श गर्नुभयो। उहाँहरूले, अप्रिल २०१८ मा राष्ट्रपति कोविन्दको जाम्बिया भ्रमणका बेला हस्ताक्षर गरिएका सम्झौता र सहमत भई लिइएका निर्णयहरूको समीक्षा गर्नुभयो र तिनका सम्बन्धमा भइरहेको प्रगतिमा सन्तुष्टि प्रकट गर्नुभयो। राष्ट्रपति लुंगूले पोहोर श्री कोविन्दको भ्रमणका बेला घोषणा गरिएबमोजिम भारतको तर्फबाट ३० लाख डलर बराबरका औषधि तथा चिकित्सकीय उपकरण र महात्मा गान्धी प्राथमिक विद्यालयका लागि एक लाख डलर अनुदान राशि प्राप्त भएको पुष्टि गर्नुभयो।

विकास कार्यहरूमा साझेदारीका सम्बन्धमा राष्ट्रपति लुंगूले खासगरी उहाँको देशको सुरक्षा बलको सामर्थ्य निर्माणमा योगदानलगायत भारतले जाम्बियाका विकास कार्यक्रमहरूमा गरेको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले रक्षा क्षेत्रमा समझदारी पत्रमा हस्ताक्षर गरिएकामा खुसी जाहेर गर्नुभएको छ जसअन्तर्गत भारतीय थलसेना र वायुसेनाका तालिम दिने टोलीलाई जाम्बियाको सशस्त्र बलको सामर्थ्य निर्माणमा मद्दत गर्न त्यो देशमा तैनाथ गरेर यस खण्डमा सहयोग बढाइने छ।

दुई देशले हस्ताक्षर गरेका अन्य सम्झौता तथा समझदारी पत्रहरूमा, भूगर्भ विज्ञान तथा खनिज संसाधन, स्वास्थ्य तथा औषधिका क्षेत्रमा सहयोग, कला र संस्कृतिका क्षेत्रमा समझदारी पत्र, भारतीय विदेश सेवा संस्थान र जाम्बियाको कुटनीति तथा अन्तर्राष्ट्रिय अध्ययन संस्थानबिच समझदारी पत्र, भारतीय चुनाव आयोग र जाम्बियाको निर्वाचन आयोगबिच चुनावहरूका क्षेत्रमा परस्पर समझदारी तथा सहयोगसम्बन्धी सम्झौता तथा इ-भि. बि. ए. बि. नेटवर्क परियोजनामा हस्ताक्षर गरी दूरस्थ शिक्षा तथा औषधिका क्षेत्रमा जाम्बियाको सहभागिताका लागि एउटा समझदारी पत्र सामेल छन्।

भारतले सौर ऊर्जा र लघु तथा मझौला उद्यमहरूका सम्बन्धमा केही महत्त्वपूर्ण घोषणाहरू पनि गरेको छ जसलाई राष्ट्रपति लुंगूले सहर्ष स्वीकार्नुभएको छ। यी घोषणाहरूमा जाम्बियामा लघु तथा मझौला उद्यमहरूको विकासलाई हैंसे प्रदान गर्न एउटा लघु तथा मझौला उद्यम विकास केन्द्रको स्थापना गर्नु, कृषि क्षेत्रमा सहयोग गर्नका लागि १०० वटा सौर सिंचाइ पम्पहरूका लागि अनुदान दिनु, जाम्बियाको वायुसेना अड्डाका लागि पाँचवटा वारुणयन्त्र प्रदान गर्नु तथा मानवीय सहायतास्वरूप १००० मेट्रिक टन चामल र १०० मेट्रिक टन दुध पाउडर अनुदानका रूपमा दिने कुरा सामेल छन्। यी घोषणाहरूले जाम्बियाको विकास र उन्नतिका क्षेत्रमा भारतको निरन्तर प्रतिबद्धता झल्काउँछन्।

व्यापार तथा लगानी भनेका द्विपक्षीय सहयोगका महत्त्वपूर्ण अङ्ग हुन्छन्। दुवै नेताहरूले व्यापार सम्बन्धहरूलाई बढाउनुका साथै तिनलाई विविध क्षेत्रमा विस्तार गर्नु पर्छ भन्ने कुरामा जोड दिनुभएको छ। द्विपक्षीय व्यापारको परिमाण विस्तारै वृद्धि भई आर्थिक वर्ष २०१८-१९ मा ८३ करोड अमेरिकी डलर पुगेको थियो जसमा जाम्बियाबाट हुने निर्यातको ठुलो भूमिका छ। जाम्बियामा भारतको निजी लगानी पनि विस्तारै बढ्दै छ र यसमा उत्खनन, पूर्वाधार, कारखाना निर्माण तथा फार्मासिउटिकलका साथै हालै आएर कृषि क्षेत्र पनि जोडिएको छ।जाम्बियाका राष्ट्रपतिको यस भ्रमणले निश्चित रूपमा नै भारत र जाम्बियाबिच पहिल्यैदेखि रहिआएका मजबुत द्विपक्षीय सम्बन्धहरूका लागि अत्यन्तैजरुरी हैंसे प्रदान गरेको छ।

आलेख:अफ्रिका मामिलाकी सामरिक विश्लेषक, डॅ. निवेदिता रे

अनुवाद तथा वाचन: दीपक पौडेल