मंगोलियाका राष्ट्रपतिको भारत भ्रमणबाट सम्बन्धहरू मजबुत

मंगोलियाका राष्ट्रपति खल्तमागिन बत्तुल्गा हाल भारतको राजकीय भ्रमणमा हुनुहुन्छ। उहाँ राष्ट्रपति रामनाथ कोविन्दको निमन्त्रणामा भारत आउनुभएको हो। मंगोलियाका कुनै पनि राष्ट्रपतिले लगभग एक दशकको अन्तरालपछि भारत भ्रमण गर्दै हुनुहुन्छ। मंगोलियाका राष्ट्रपतिसँग सरकारी अधिकृत र व्यावसायिक हस्तीहरूलगायतको एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल पनि भारत आएको छ।

श्री बत्तुल्गाले राष्ट्रपति श्री कोविन्दसँग विस्तृत विषयहरूमा गहन विचार विमर्श गर्नुभएको छ। श्री कोविन्दले भ्रमणरत राष्ट्रपतिको सम्मानमा एउटा भोजको आयोजना पनि गर्नुभएको थियो। उपराष्ट्रपति वेंकैया नाइडूले पनि मंगोलियाका राष्ट्रपतिसँग भेटघाट गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति बत्तुल्गासँग शिष्टमण्डलस्तरीय वार्ता गर्नुभयो। श्री मोदी र श्री बत्तुल्गाबिच भएको विचार विमर्शमा दुई देशहरूले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी विषयहरूलाई समेटेर विस्तृत चर्चा गर्नुभयो। सामर्थ्य निर्माण, प्रतिरक्षा, सुरक्षा, पूर्वाधार, ऊर्जा, विपदा व्यवस्थापन र सांस्कृतिक आदान प्रदान जस्ता पाटाहरूलाई समेटेर तयार पारिएको एजेन्डामा द्विपक्षीय कुराकानी भएको थियो। यहाँ के उल्लेख गर्नु जरुरी छ भने, प्रधानमन्त्री मोदी र राष्ट्रपति बत्तुल्गाबिच दुई हप्ताभित्रमा भएको यो दोस्रो बैठक थियो। यही महिनाको पहिलो हप्ता रसियाको सुदूर पूर्वमा अवस्थित भ्लादिभोस्तकमा सम्पन्न पूर्वी आर्थिक फोरम (इइएफ)- को पाँचौँ बैठकको छेक पारी श्री मोदी र श्री बत्तुल्गाबिच भेट भएको थियो।

भारत, पूर्वसँगका आफ्ना संलग्तालाई पुनः सक्रिय तुल्याउन खोज्दै छ र प्रधानमन्त्री मोदीले सन् २०१५ मा मंगोलियाको एक महत्त्वपूर्ण भ्रमण गर्नुभएको थियो। दुवै देशले सन् २०१५ मा स्वतन्त्रता र लोकतान्त्रिक आदर्शहरूका साथै साझा बौद्ध धरोहरको मजबुत जगमा आधारित सामरिक साझेदारी स्थापना गर्न एउटा सम्झौता गरेका थिए। मंगोलियाका राष्ट्रपतिको हाल जारी ५-दिने भारत भ्रमणले दुई देशबिचका सम्बन्धहरूलाई थप बलियो पारेर सामरिक साझेदारीलाई सशक्त बनाउने सम्भावना प्रबल भएको छ।

भारत र मंगोलियाले सन् १९५५ को डिसेम्बर महिनामा कुटनयीक सम्बन्धहरू स्थापना गरेका थिए। मंगोलिया एउटा भूपरिवेष्टित देश हो र रसिया अनि चीन मात्र यसका छिमेकी देश हुन्। मंगोलिया आफ्नो चाखलाग्दो ‘तेस्रो छिमेकी’-नीतिमार्फत अन्य देशहरूसँग सम्बन्धहरू गाँस्दै छ। बौद्ध धर्मी सम्बन्ध तथा ऐतिहासिक सम्पर्कहरूका कारण मंगोलियाका धेरै मानिसहरू भारतलाई ‘आध्यात्मिक छिमेकी’ का रूपमा हेर्छन्। मंगोलियामा भारतका पूर्व राजदूत बकुला रिम्पोछेलाई यो देशमा मायाले याद गरिन्छ। रिम्पोछेले उलानबाटारमा सन् १९९० देखि सन् २००० सम्मको १०-वर्षे कार्यकालमा भारतसँग बौद्ध सम्पर्कको धरोहरलाई मजबुत पार्ने दिशामा महत्त्वपूर्ण योगदान गर्नुभएको थियो। उहाँले कैयौँ बौद्ध मठहरूलाई पुनर्जीवित पार्ने दिशामा मद्दत गर्नुभएको थियो।

मंगोलिया विशाल प्राकृतिक संसाधनहरूले समृद्ध एक विशाल देश हो, तर यसको जनसङ्ख्या राजधानी उलानबाटारमै बढी केन्द्रित छ। अपार सम्भावनाहरूका बावजुद, दुई देशबिचको व्यापार निकै तल्लो स्तरमा रहेको छ। सन् २०१८-१९ मा दुई देशबिचको कुल व्यापार २ करोड ३८ लाख ३० हजार अमेरिकी डलर मात्र रहेको थियो। जे होस्, दुई देशबिच वर्तमान व्यापार बढ्दो क्रममा छ। हालको व्यापार सन्तुलन भने भारतको पक्षमा रहेको छ।

विश्वव्यापी रूपमा पूर्वतर्फ चासो बढिराखेको हुनाले भारत पनि पूर्वका देशहरूसँग सम्बन्धहरू मजबुत बनाउने जमर्को गर्दै छ। भारत, “पूर्व कार्यनीति” र हाल आएर “सुदूर पूर्व कार्यनीति”-मा सक्रिय रूपमा अघि बढ्दै छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यही महिनाको सुरुमा आफ्नो रसिया भ्रमणका बेला यसको घोषणा गर्नुभएको थियो। मंगोलियाले विश्वका पूर्वी भागहरूसँग सम्बन्ध सुदृढ पार्ने भारतका चाहनाहरूमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। प्रधानमन्त्री मोदीले सन् २०१५ मा मंगोलियाको भ्रमण गर्दा यो देशका लागि घोषणा गर्नुभएको सहुलियत दरमा प्रदान गरिने १ अर्ब अमेरिकी डलर ऋणअन्तर्गत भारत एउटा तेल परिशोधन परियोजनालाई व्यवहारमा ल्याउन खोज्दै छ। नयाँ दिल्लीले, श्री मोदीले यही महिना गर्नुभएको रसिया भ्रमणका बेला रसियालाई पनि सहुलियत दरमा १ अर्ब डलरको ऋण प्रदान गरेको थियो।

अन्तर्राष्ट्रिय स्तरमा पेचिला मामलाहरूमा मंगोलियाका विचारहरू भारतसँग मिल्दाजुल्दा नै छन्। भारतले सन् २०१७ देखि पूर्ण सदस्यता पाएको साङ्घाइ सहयोग सङ्गठन (एससिओ)-मा मंगोलिया पनि एक पर्यवेक्षक देश हो।

भारत र मंगोलियाले सुरक्षा र प्रतिरक्षाका क्षेत्रमा पनि सहयोग गर्ने छन्। वर्षेनी भारत र मंगोलियाबिच “नोम्याडिक एलिफेन्ट” युद्धाभ्यास हुन्छ। वर्षौँदेखि भारत र मंगोलियाबिच जन-जन सम्पर्क तथा सांस्कृतिक सहयोग बढ्दो क्रममा छ। राष्ट्रपति बत्तुल्गाको यस भ्रमणले भारत र मंगोलियाबिचका सम्बन्धहरूलाई थप गहिराइमा लैजाने अपेक्षा गरिँदै छ।

आलेख: सि. आइ. एस.-सम्बन्धी सामरिक विश्लेषक डा. अतहर जफर

अनुवाद तथा वाचन: दीपक पौडेल