हाउडी मोदी-एउटा अभूतपूर्व कार्यक्रम

ह्यूस्टन , टेक्सासमा अत्यधिक सफल “हाउडी मोदी” कार्यक्रमका साथ प्रधान मन्त्री नरेन्द्र मोदीको संयुक्त राज्य अमेरिका भ्रमणको उत्साहपूर्वक सुरूआत भयो। त्यहाँ उहाँले राष्ट्रपति डोनल्ड ट्रम्पसित मञ्च साझा गर्नुभयो र ५० हजारभन्दा बढी भारतीय-अमेरिकी जन-समुदायलाई सम्बोधित पनि गर्नुभयो।

प्रधान मन्त्री मोदीले यसपूर्व २०१४-मा न्यू-यर्कको मेडिसन स्क्वायर गार्डन र २०१५-मा सेन जोसमा भारतीय-अमेरिकी जन-समुदायलाई सम्बोधन गर्नुभएको थियो तर, राष्ट्रपति ट्रम्पको उपस्थितिले ह्यूस्टन कार्यक्रमलाई गुणात्मक रूपले उच्च स्थान प्रदान गरेको छ। डेमोक्रेटिक पार्टीका वरिष्ठ सांसद स्टेनी होयर लगायत अनेकौँ सांसदहरू र सीनेटरहरूको उपस्थितिले भारत-अमेरिका साझेदारी प्रति समर्थनको द्विपक्षीय प्रकृतिलाई रेखाङ्कित गरेको छ।

“सबैभन्दा ठूला दुइ लोकतन्त्रहरूको मुटुको धड़कन” प्रतिनिधित्व गर्ने यस कार्यक्रममा राष्ट्रपति ट्रम्पको परिचय दिनुहुँदै प्रधान मन्त्री मोदीले कार्यक्रममा उपस्थित हुनु भएको लागि उहाँको हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। श्री ट्रम्पलाई “मेरो साथि, भारतको मित्र तथा एक महान अमेरिकी राष्ट्रपति”-को रूपमा सम्बोधन गर्नुहुँदै श्री मोदीले “मेक अमेरिका ग्रेट अगेन” अर्थात अमेरिकालाई फेरी महान बनाउने क्रममा राष्ट्रपतिको नेतृत्व र संकल्पको लागि उहाँको प्रशंसा समेत गर्नुभयो।

राष्ट्रपति ट्रम्पले यो क्षणलाई “ विशेष रूपले ऐतिहासिक” अनि भारत र अमेरिकालाई एकताबद्ध गर्ने उत्सवको रूपमा वर्णन गर्नुभयो। उहाँले श्री मोदीको नेतृत्वको लागि प्रशंसा व्यक्त गर्नुभयो अनि ३० करोड जनतालाई गरीबी मुक्त गर्नमा उहाँको सफलताको सराहना गर्नुभयो। उहाँले ४० लाख भारतीय-अमेरिकी समुदाय, “चिकित्सा क्षेत्रमा कठोर परिश्रम गर्ने अग्रदूतहरू, नयाँ व्यवसायको स्थापना र हजारौँ मानिसहरूलाई रोजगार प्रदान गरेकोमा पनि श्री मोदीको प्रशंसा गर्नुभयो। भारत-अमेरिका सम्बन्ध यत्तिको बलियो कहिले पनि नरहेको बताउनुहुँदै श्री ट्रम्पले ऊर्जा, सुरक्षा तथा रक्षा र अन्तरिक्ष सहयोगमाथि प्रकास पार्नुभयो। दुवै देशहरू कट्टरवाद तथा आतङ्कवाद विरूद्ध एक साथ उभिने छन् भन्ने उहाँको बयानलाई सबैले उल्लासका साथ स्वागत गरे। उहाँले भारतीय कम्पनीहरूद्वारा अमेरिकामा गरिदैँ गरेको लगानीको पनि सराहना गर्नुभयो।

एउटा जोशिलो भाषणमा श्री मोदीले भारतको विकाससम्बन्धी आफ्नो परिकल्पना प्रस्तुत गर्नुहुँदै भन्नुभयो, “हामीले स्वयंलाई चुनौती दिइ राखेका छौँ, हामी स्वयंलाई बदलाई रहेको छौँ।”  विगत पाँच वर्षहरूमा ११ करोड शौचालयहरूको निर्माणका साथ ग्रामीण स्वच्छता ३८ प्रतिशतबाट बढेर ९९ प्रतिशतमा पुगेको छ; १५ करोड नयाँ खाना पकाउने ग्यास कनेक्शनहरू थपिएका छन्; ग्रामीण सम्पर्कता ५५ प्रतिशतबाट बढेर ९७ प्रतिशतमा पुगेको छ अनि ब्याङ्कहरूको पहुँच सत प्रतिशतमा पुग्न गएको छ। डिजिटल भारतबाट डेटा किफायती हुन गएको र यसले व्यवसायको परिवेशलाई सहज पार्ने दिशामा योगदान गरेको छ। भारतलाई न्यून दरको मुद्रास्फिती, न्यून दरको बजेट घाटा र वृद्धि दर उच्च रहेको अर्थव्यवस्था बताउनुहुँदै उहाँले भारत ५ ट्रिलियन डलरको अर्थव्यवस्था बन्ने क्रममा प्रयत्नशील रहेको हुँदा पूर्वाधारमाथिको व्यव, निवेश र निर्यातहरू बढाउने योजना रहेको उल्लेख गर्नुभयो। कैयौँ क्षेत्रहरूमा नियमहरूलाई खुकुलो पारिएबाट भारत विदेशी सोझो लगानीको लागि बढी असल गन्तव्य स्थल बन्न गएको छ।

भारतले अनेकौँ थोत्रा नियम-कानूनहरू र अभ्यासहरूलाई तिलाञ्जली दिएको छ। भारतले जम्मू एवम् कश्मिरका जनतालाई विकासका फाइदाहरूबाट वन्चित राख्ने तथा अलगाववादी र आतङ्कीहरूद्वारा प्रयोग गरिराखिएको अनुच्छेद ३७०-लाई पनि तिलाञ्जली दिएको छ। आतङ्दवादका उत्प्रेरक र प्रायोजकहरू विरूद्ध एउटा निर्णायक लडाईँको लागि आह्वान गर्नुहुँदै प्रधान मन्त्रीले अप्रत्यक्ष रूपमा पाकिस्तानको उल्लेख गर्नुभयो र भन्नुभयो, “अमेरिका विरूद्ध ११ सेप्टेम्बर, २००१-मा भएको ९/११ आतङ्की हमलाका हुन वा भारत विरूद्ध नोभेम्बर, २००८-मा भएको २६/११ आतङ्की हमलाका षडयन्त्रकारी, ती कहाँ फेला परे त?”

“हाउडी मोदी”-माथि गरिएको प्रश्नको जबाफ दिनुहुँदै भारतीय प्रधान मन्त्रीले विभिन्न भारतीय भाषाहरूमा “सब थोक ठीक ठाक” छ भनेर भारतको सांस्कृतिक विविधता प्रदर्शित गर्नुभयो। उहाँले भन्नुभयो, यो विविधता भारतीय लोकतन्त्रको मुटु र प्रेरणा हो। “हाउडी मोदी” कार्यक्रमले दुइ नेताहरूको न्यू-यर्कमा औपचारिक भेटघाट हुँदा अगाडीको विचार-विमर्शको लागि मञ्च तयार पारेको छ। यो कार्यक्रम भारत र अमेरिकाबीच विद्यमान सम्बन्धहरूमा रहेको न्यानोपना र सुदृढताको एक बेजोड प्रदर्शन हो।

त्यसपूर्व प्रधान मन्त्रीले ह्यूस्टन पुगेर ऊर्जा कम्पनीहरूको प्रमुख कार्यकारीहरूसित एउटा गोलमेज बैठक गर्नुभयो। ऊर्जा सुरक्षा तथा भारत र अमेरिका बीच पारस्परिक लगानीका अवसरहरूको विस्तार निम्ति मिलेर कार्य गर्न माथिनै विचार-विमर्शको ध्यान केन्द्रित रहेको थियो। प्रधान मन्त्रीले प्रवासी भारतीय समुदायसित पनि भेटघाट गर्नुभयो।

श्री मोदी न्यू-यर्क पुगिसक्नु भएको छ, जहाँ उहाँले ७४-औँ राष्ट्र संघ महासभालाई सम्बोधन गर्नका साथै विभिन्न द्विपक्षीय बैठकहरूमा पनि सरिक हुनुहुने छ।

आलेख: संयुक्त राज्य अमेरिकामा भारतीय पूर्व राजदूत, नवतेज सरना

अनुवाद तथा वाचनः सुरेन्द्र जैरू