राफेललाई भारतीय वायुसेनामा सामेल गरिइयो

भारतका रक्षा मन्त्री राजनाथ सिंहले फ्रान्सको मेरिगनक वायुसेना अड्डामा ३६ वटा परमाणु क्षमतासम्पन्न राफेल लडाका विमान मध्येको पहिलो विमानलाई औपचारिक रूपमा भारतीय वायुसेनामा सामेल गराउनु भयो। यसका साथै भारतीय वायुसेनालाई आफ्ना प्रतिद्वन्द्वीहरूको विरुद्धमा दीर्घापेक्षित लड्नेक्षमता र तकनिकी सामर्थ्य प्राप्त भएको छ। सबै सैन्यरूपमा विकसित राष्ट्रहरूले द्वन्द्वको समग्र आयाममा सर्वश्रेष्ठता हासिल गर्ने प्रयास गर्दछन्, चाहे त्यो पारम्परिक, सामरिक वा अपारम्परिक लडाइँका क्षेत्र किन नहोस्।

भारतले निकट छिमेकी देशको नेतृत्वबाट राष्ट्रसंघको महासभामा समेत परमाणु युद्धको धम्की निरन्तर पाइराखेको बेलामा, राफेल लडाका विमान समाविष्ट गरिनाले निश्चय पनि देशको रक्षा क्षमता बढ्नेछ। यहाँ यो उल्लेख गर्नु जरूरी छ कि सम्भावित प्रतिद्वन्द्वीहरूको हतियार खरिद कार्यक्रम लगातार बढिराखेको र विश्वभर नयाँ-नयाँ सैन्य प्रविधिहरूको उदय भइराखेकोले गर्दा भारतीय रणनीतिज्ञहरूले निरन्तर देशको सैन्य शस्त्रगार समुन्नत गर्ने योजना बनाइराखेका छन्। यसैको पृष्ठभूमिमा एक परमाणु क्षमतासम्पन्न बहु-भूमिका खेल्नसक्ने लडाका विमान शीघ्र खरिद गर्नु पर्ने आवश्यकता महसूस भएको हो।

थकित बनाउने एक लामो प्रक्रिया अन्तर्गत, भारतीय वायुसेनाले विदेशमा निर्मित छ: वटा चौथो पिँढीका लडाका विमानहरूको परीक्षण गरेको थियो। उक्त प्रक्रियामा भारतीय वायुसेनाले ६०० मापदण्डहरू तय गरेको थियो जसमा उतीर्ण अङ्क ५९० राखिएको थियो। निर्धारित अङ्कभन्दा थोरै पनि कम प्राप्त गरेको भए राफेल सो परीक्षणबाट पार लाग्ने थिएन। राफेल एक मध्यम वर्गी बहु-भूमिका युक्त लडाका विमान हो जसले भारतको वायुक्षेत्रको सुरक्षा व्यापक रूपमा बढाउनेछ, जुन वायुक्षेत्रको रक्षा वर्तमानमा रसिया-निर्मित सुखोइ एसयू-30एमकेआई र मिग-29 साथै फ्रान्स-निर्मित मिराज-2000 तथा स्वेदशमा निर्मित एचएएल तेजसले गरिराखेका छन्।

राफेल पूर्णरूपले बहुमुखी विशेषतासम्पन्न विमान हो। यसले हवाई वर्चस्व र हवाई रक्षा लगायत क्लोज एयर सपोर्ट, गहिराइमा हमला गर्ने, शत्रुको ठेगाना पत्तो लगाउने र परमाणु प्रहार रोक्ने जस्ता सबै हवाईजन्य अभियानहरू कुशलताका साथ पूरा गर्न सक्छ। विश्लेषकहरूको भनाइअनुसार राफेल भारतीय वायुसेनाका लागि खेल परिवर्तक बन्नेछ किनभने यो सित कुनै पनि शत्रुद्वारा यसको हवाई कारबाहीमा हस्तक्षेप गर्न नसक्ने क्षमता छ। छिमेकी मुलुकबाट उत्पन्न खतराको महसूस भइराख्दा समेतमा भारतले शान्तिमा विश्वास राखेको छ  र यही उद्देश्य पूरा गर्न रोकथामको नीतिलाई कायम राख्नु अत्यावश्यक हुन्छ।  रक्षा मन्त्री राजनाथ सिंहले राफेल समाविष्ट समारोहमा दिनुभएको भाषणबाट उक्त अडान प्रतिबिम्बित भएको छ। उहाँले भन्नुभयो, राफेलका साथ भारतीय वायुसेनाको लड्ने क्षमतामा अपार वृद्धि भएको छ तर यो वर्धित क्षमता हमलाका लागि  नभएर रोकथामका लागि हो। वास्तवमा सैन्य शक्ति युद्ध रोक्नका लागि हुन्छ, यसको सुरुआत गर्नका लागि होइन। सैन्य क्षमताको निर्माण शत्रुलाई अप्रिय घटनाहरूबाट टाढा राख्नका लागि गरिन्छ।

भविष्यमा कुनैपनि द्वन्द्व भएको खण्डमा हवाई शक्तिले निश्चित रूपमा एक अग्रणी भूमिका खेलेको हुनेछ। प्रभावकारिता, लामो दूरी तय गरी युद्ध स्थलसम्म अचुक प्रहार गर्ने हतियारले वायुसेनालाई एक विश्वसनीय रोकथाम क्षमता प्रदान गर्दछ।

अझ महत्त्वपूर्ण कुरा के हो भने, कुनैपनि मुलुकको विचाराधीन राजनीतिक लक्ष्य हवाई शक्तिको सर्वोत्तम प्रयोगमार्फत हासिल गर्न सकिन्छ। यसै वर्ष फेब्रुअरीमा बालाकोटस्थित आतङ्की प्रशिक्षण शिविरमाथि गरिएको हवाई आक्रमण वायु शक्तिलाई राजनीतिक उद्देश्य हासिल गर्नका निम्ति प्रयोग गरिएको एक उत्कृष्ट उदाहरण हो। विश्वसनीय रोकथाम क्षमता हासिल गर्न भारतीय वायुसेनालाई शक्तिशाली बनाउनु भारतका लागि अनिवार्य छ।

एक अत्यन्तै छोटो समयावधिमा सेवामुक्त लडाका विमानहरूलाई नयाँ लडाका विमानहरूद्वारा प्रतिस्थापना गरिनु पनि आवश्क छ। लडाका विमान बिक्नका लागि तम्तयार वस्तु बजारबाट किनेको सरह होइन। यसको खरिद प्रक्रिया लामो समय लाग्ने र त्यो समय छोट्याउनु अति कठिन हुने गर्दछ। विनिर्माण प्रक्रियामा अनेकौँ पुर्जा र महङ्गी कच्चा वस्तुहरूलाई जोड्नु पर्ने हुन्छ जुन काम एकैसाथ पूरा गर्न सकिँदैन। यसले गर्दा,वायुसेनाको आवश्यक लड्ने क्षमता कायम राख्नका लागि राजनीतिक स्तरमा निर्णय लिने समयलाई घटाइनु पर्ने हुन्छ। सराकारको ३६ महिनाको समयावधिमा सोझै ३६ राफेल लडाका विमानहरू खरिद्ने निर्णय वास्तवमा प्रशंसनीय छ।

राफेलको समाविष्टिले वायुसेनाको परिचालन क्षमता व्यापक रूपमा बढ्नेछ। यसको अतिरिक्त, राफेलले भारतीय वायुसेनाको लड्ने क्षमतालाई पनि पर्याप्त मात्रामा बढाउने छ र भविष्यमा हुनसक्ने कुनै पनि द्वन्द्वलाई टार्न समग्र सैन्य रोकथाम शक्तिलाई थप बढाउने छ।

आलेख: उत्तम कुमार विश्वास, रक्षा विश्लेषक

अनुवाद: प्रणय सुब्बा