ओमान: एक युगको अन्त्य

लामो समयदेखि बिरामी अवस्थामा रहेपछि १० जनवरीको दिन, ओमानमा पाँच दशकभन्दा बढी समयसम्म शासन गरेका सुलतान कबूस बिन सैयद अल सैयदको निधन भएपछि एक युगको नै अन्त्य भयो साथै खाडीको यो महत्त्वपूर्ण राष्ट्रमा सत्ता परिवर्तनको मार्ग प्रशस्त भएको छ। सुलतान कबूस उच्चकोटीका शासक हुनुहुन्थ्यो र उहाँको सम्मान विश्वभर नै गरिन्थ्यो। ७९ वर्षीय सुलतानले ओमानलाई स्थायित्व र स्वतन्त्र विदेश नीति प्रदान गर्नुभयो र क्षेत्रका सऊदी अरब र ईरान जस्ता गहकिला राष्ट्रहरूसँग सन्तुलन कामय गर्नुभयो। सुलतान कबूसले १९७० मा एउटा रक्तहीन सत्तापलटमा उहाँका रूढिवादी पिता सैयद बीन तैमुरलाई सत्ताबाट हटाएपछि धोफर विद्रोहलाई दमन गर्दै दासत्व हटाउनुभयो, ओमानलाई आधुनिकताको मार्गमा अगाडि बढाउनुभयो, १९९६ मा पहिलो लिखित संविधान प्रस्तुत गर्नुभयो अनि राजनीति, व्यवसाय र खेलकूदमा महिलाहरूको संलग्नताद्वारा महिला सशक्तिकरणलाई प्रोत्साहित गर्नुभयो। आधुनिक ओमानका यी प्रणेतालाई २०१५ मा भएको ईरान परमाणु सम्झौतामा मध्यस्थता गर्ने उहाँका प्रयासहरूका लागि, साथै यमनमा युद्धमा संलग्न पक्षहरूलाई एकसाथ अघि ल्याउनमा खेलेको मध्यस्थताको भूमिकाका लागि व्यापक रूपमा चिनिन्छ।

स्वभाविक उत्तराधिकारी नरहेको हुँदा, ओमानमा कठिन राज्यारोहण उत्पन्न हुनसक्ने आशङ्काहरू समाप्त भएका छन् किनभने उहाँको परिवारले पूर्वसुलतानले नै मन पराएका हैथम बिन अल सैयदलाई उत्तराधिकारी घोषित गर्ने निर्णय गरेको छ। उहाँ सुलतान कबूसका भतिजो हुनुहुन्छ। अक्सफोर्डमा पढाइ गर्नुभएको हैथम बिन अल सैयद सलतनतमा संस्कृति एवम् विरासत मन्त्रालयको नेतृत्व गरिरहनुभएको थियो।

नयाँ सुलतानले विरासतमा एक यस्तो देश पाउनुभएको छ जुन देशमा सुलतान कबूसले स्वयं एक प्रधान मन्त्री, रक्षा मन्त्री, वित्त एवम् विदेश मन्त्री र केन्द्रीय बैंकका गभर्नरको रूपमा शासन गर्नुभएको थियो। उहाँलाई पूर्वशासक सरह सम्मान र प्रशंसा अर्जित गर्नु त्यति सजिलो हुने छैन। देशको तङ अर्थिक अवस्था र विशाल बरोजगारी नयाँ शासकसामु एउटा ठूलो चुनौती हुनेछ। उहाँले क्षेत्रीय वैरभावमा कुनै एकको पक्ष लिनका लागि विदेशी दबावको सामना गर्नु पर्नेछ र यो, उहाँका निम्ति एक तटस्थ विदेश नीति अपनाउने दिशामा एउटा कठिन परीक्षा हुनेछ। यद्यपि, ओमानका सुलतानको रूपमा शपथ लिएपछि हैथम बिन तारिकले देशलाई विकासको मार्गमा अघि बढाउँदै, सबै देशहरूसँग मैत्रिपूर्ण सम्बन्ध कायम राख्ने उहाँको पूर्वाधिकारीका नीतिहरूलाई नै निरन्तरता प्रदान गर्ने आश्वासन दिनभयो।

मस्कटले कबूस बिन सैयदको निधनमा तीन दिने राजकीय शोक पालन गर्ने र आगामी चालिस दिनसम्म झण्डाहरू आधा झुकाउने घोषणा गरेको छ। एक अनुभवी राजनीतिज्ञको निधनमा संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, सऊदी अरब, कतर, टर्की, जोर्डन, ईजिप्ट तथा बाहरीनले सम्वेदना र शोक व्यक्त गरेका छन्। भारतका प्रधान मन्त्री श्री नरेन्द्र मोदीले ओमानका नेतालाई भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्नुभयो। कबूस “भारतका एक सच्चा मित्र” रहेको कुरोमाथि बल दिँदै श्री मोदीले सुलतान कबूस “हाम्रो क्षेत्र र विश्वका लागि शान्ति दूत” हुनुहुन्थ्यो भन्नुभयो। भारतका राष्ट्रपति श्री राम नाथ कोविन्दले सुलतान कबूसलाई “भारतका एक घनिष्ठ मित्र” बताउनुभयो र विश्वले “क्षेत्र र विश्वमा शान्ति स्थापित गर्ने दिशामा अथक काम गर्ने एक महान नेता र राजनीतिज्ञ” गुमाएका छन् भन्नुभयो।

भारतको गृह मन्त्रालयले महामहिम सुलतान कबूस बिन सैयद अल सैयदको सम्मानमा भारतले जनवरी १३ तारिख राजकीय शोक पालन गर्ने घोषणा गऱ्यो। यस दिन भारतीय झण्डा दिनभरि नै आधा झुक्यो। भारतका अल्पसंख्यक मामिला मन्त्री मुख्तर अब्बास नकवीले १४ जनवरी २०२० को दिन भारत सरकार र मानिसहरूको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्न मस्कटमा भारतीय शीष्टमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ।

सुलतान कबूसको निधनमा शोक सम्वेदना व्यक्त गर्दै प्रधान मन्त्री मोदीले दिवंगत सूलतानले भारत र ओमानबिच “एक जीवन्त सामरिक साझेदारिता स्थापित गर्न मजबुत नेतृत्व प्रदान गर्नुभएको” उल्लेख गर्नुभयो। श्री मोदीले नयाँ सुलतानलाई बधाई दिनुभयो र भारत यस सामरिक साझेदारितालाई अझ बलियो बनाउन सुलतान हैथमसँग सहकार्य गर्न चाहन्छ भन्नुभयो। भारत र ओमानले एक सामरिक र सौहार्दपूर्ण सम्बन्ध साझा गर्छन्  र प्राचीन कालदेखि नै यी दुई मुलुकहरू व्यापारमा संलग्न रहिआएका छन्। ओमानमा ८ लाखभन्दा बढी भारतीय प्रवासीहरू कार्यरत छन् जसले रेमिटेन्स स्वदेश पठाउछन्। भारतीय कामदारहरूले सलतनतको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याएका छन्। भारत नयाँ सुलतानको नेतृत्वमा ओमानसित घनिष्ठ सम्बन्ध कायम गर्न चाहन्छ र पहिलेको जस्तै समान स्तरमा सलग्न रहने कामना गर्दछ।

आलेख: डक्टर लक्ष्मी प्रिया, शोध विश्लेषक, आईडीएसए

अनुवाद एवम् वाचन: प्रणय सुब्बा