भारतले निजर र टुनिसियासँग सम्बन्ध प्रगाढ बनायो

अफ्रिकी राष्ट्रहरूमाथि बढी ध्यान केन्द्रित गर्ने र उनीहरूसँग घनिष्ठ कुटनीतिक तथा आर्थिक सम्बन्ध स्थापित गर्ने प्रयासमा यसै साताको प्रारम्भमा भारतीय परराष्ट्र मामिला मन्त्री डा. एस जयशङ्करले निजर र टुनिसियाको भ्रमण गर्नुभयो। नयाँ दिल्लीले यी अफ्रिकी राष्ट्रहरूलाई धेरै महत्त्व दिन थालेको छ किनभने राष्ट्र संघ सुरक्षा परिषदका गैर-स्थायी सदस्यहरूको रूपमा उनीहरूले राष्ट्र संघमा भारतको मद्दत गरेको थियो। विदेश मन्त्रालयको महत्त्वपूर्ण ओहोदा ग्रहण गर्नुभएपछि उहाँको यो पहिलो अफ्रिकी भ्रमण थियो। 

निजरको राजधानी नियामीमा डा. जयशङ्करले निजरका राष्ट्रपति महमदू इसुफूलाई भेट्नुभयो। दुवै नेताहरूले संयुक्त रूपमा महात्मा गाँधी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभयो। यो केन्द्र महात्मा गाँधीको सम्मानमा भारतले अफ्रिकामा स्थापना गरेको पहिलो केन्द्र हो। यो वर्ष महात्मा गाँधीको १५०औँ जन्म जयन्ती मनाइँदैछ। यस केन्द्रको स्थापना भारत-निजर मित्रताको निसानी हो साथै अफ्रिकाप्रति भारतको दृढ प्रतिबद्धताको प्रतीक पनि हो। यो केन्द्र वृहत बनाइएको छ र त्यहाँ आधुनिक तथा वातावरण-अनुकूल सुविधा उपलब्ध छन् साथै त्यहाँ २००० जना अट्ने एउटा हल पनि छ जहाँ अफ्रिकी संघका सदस्य राष्ट्रहरूका उच्चस्तरीय एवम् विविध बैठकहरू र अन्य उच्चस्तरीय सभाहरू गरिने छन्।

नियामीमा परराष्ट्र मामिला मन्त्रीले निजरका प्रधान मन्त्री ब्रिगी रफिनीलाई पनि भेट्नुभयो। उहाँले आफ्ना समकक्षी कल्ला अङ्कूरावसँग विविध द्विपक्षीय, क्षेत्रीय तथा वैश्विक मामिलाहरूमाथि छलफल गर्नुभयो। दुई पक्षहरूले आतङ्कवाद विरुद्ध लड्ने आवश्यकता देखि लिएर विकास र सुरक्षाका साझा चुनौतीहरूमाथि छलफल गर्नु बाहेक द्विपक्षीय सम्बन्धको कार्यढाँचा बलियो बनाउने सम्झौतामा हस्ताक्षर पनि गरे। 

हालैका वर्षहरूमा दुई मुलुकहरूबीच द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण विस्तार भएको छ। भारतले निजरलाई यातायात, बिजुली, सौर ऊर्जा तथा स्वच्छ पिउने पानीसित सम्बद्ध परियोजनाहरूका लागि ऋण सहुलियत प्रदान गरेको छ। निजरका सयौँ अधिकारीहरूले भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आईटीईसी) कार्यक्रम अन्तर्गत भारतका क्षमता निर्माण प्रशिक्षण कार्यक्रमहरूको उपयोग गरेका छन्। भारतले पोहोर जुलाईमा नियामीमा सम्पन्न अफ्रिकी संघ सम्मेलनको आयोजना गर्नमा पनि सहायता गरेको थियो। निजरले अन्तर्राष्ट्रिय मञ्चहरूमा विभिन्न पदहरूका लागि भारतको उम्मेदवारीको समर्थन गर्दै आएको छ। विश्व भन्सार संगठनको अनुपालना एवम् सुविधाको निदेशक पद, २०२०-२०२३ कार्यकालका लागि विश्व स्वास्थ्य संगठनको बाह्य लेखा परीक्षकको पद अनि २०१९-२०२२ कार्यकालका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको परिषदमा भारतको उम्मेदवारीलाई निजरले समर्थन जनाएको छ। निजरसँग भारतको व्यापार २०१६-१७ आर्थिक वर्षमा ८ करोड १२ लाख ७० हजार डलर भएको थियो भने २०१७-१८ आर्थिक वर्षमा १४ करोड ४ लाख ५० हजार डलरको भयो। भारतको निर्यात निजरमा २०१९-२० वित्तीय वर्षको अप्रिलदेखि अक्टूबरसम्म ५ करोड १७ लाख ६० हजार डलरको भयो तथा सोही अवधिमा निजरको निर्यात भारतमा ३ लाख ४० हजार डलरको भयो। 

डा. जयशङ्करको टुनिसिया भ्रमणको बेला दुई मुलुकहरूले एउटा सूचना तथा सञ्चार प्रविधि नवाचार केन्द्रको स्थापना गर्ने सन्धिमा हस्ताक्षर गरे। परराष्ट्र मामिला मन्त्रीले टुनिसियाका राष्ट्रपति काइस सयेदलाई भेट्नुभयो, अनि द्विपक्षीय आर्थिक सम्बन्ध बढाउनका लागि विस्तृत रूपमा कुराकानी गर्नुभयो तथा दुवै पक्षहरू बहुपक्षीय मञ्चहरूमा निकट रूपमा काम गर्न सहमत भए। टुनिसिया फस्फेट्सको एक महत्त्वपूर्ण स्रोत रहिआएको छ। टुनिसियाको फस्फोरिक एसिडको वैश्विक निर्यातको लगभग ५० प्रतिशत निर्यात भारतमा हुँदछ। भारतले टुनिसियाका विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि १०० आईटीईसी स्लट र १० भारतीय सांस्कृतिक सम्बन्ध परिषद छात्रवृत्ति प्रदान गरेको छ।

यो भ्रमण, २०१७ मा नयाँ दिल्लीमा सम्पन्न टुनिसिया-भारत संयुक्त समितिको बैठकमा गरिएका निर्णय र सिफारिसको पृष्ठभूमिमा अति नै महत्त्वपूर्ण छ। सो बैठकको बेला एउटा दूरगामी मार्ग अपनाइएको थियो जसले भारत-टुनिसिया साझेदारीलाई अनेक महत्त्वपूर्ण र साझा हितका क्षेत्रहरूमा एउटा नयाँ आयाम दिने अपेक्षा राखिएको छ। यसबाहेक, यो भ्रमण सन् १९५८ यता यस उत्तर अफ्रिकी मुलुकमा कुनै एक भारतीय परराष्ट्र मामिला मन्त्रीको केवल दोस्रो भ्रमण हो।

निजर र टुनिसिया, दुवै भारतका लागि महत्त्वपूर्ण छन् किनभने उनीहरू राष्ट्र संघ सुरक्षा परिषदका गैर-स्थायी सदस्यहरू हुन् र नयाँ दिल्लीले यी मित्र अफ्रिकी राष्ट्रहरूबाट पटकपटक समर्थन प्राप्त गर्दै आएको छ। तसर्थ भारतको यो कुटनीतिक पहुँच पनि उनीहरूको समर्थनका लागि कृतज्ञता र सराहना व्यक्त गर्ने स्वभावको थियो।

आलेख: विनीत वाही, पत्रकार

अनुवाद एवम् वाचन: प्रणय सुब्बा