भियतनाम: भारतको पूर्वोन्मुखी कार्य नीतिमा एक प्रमुख सहयोगी

भियतनाम समाजवाद गणराज्यकी उप राष्ट्रपति दाङ थाई नगोक थिह्न भारतका उप राष्ट्रपति श्री एम. वेंकैया नायडुसित शिष्टमण्डल स्तरको वार्ता गर्नका लागि भारतको आधिकारिक भ्रमणमा आउनुभएको थियो। भियतनाम भारतको एक्ट ईस्ट पोलिसी अर्थात पूर्वोन्मुखी कार्य नीति र भारतको वृहत् हिन्द-प्रशान्त रणनीतिको एक प्रमुख सहयोगी हो। यसको अतिरिक्त, हनोईले नयाँ दिल्लीको सीएलएमभी मुलुकहरू (कम्बोडिया, लाओ पीडीआर, म्यानमार तथा भियतमान) माथिको दृष्टिकोणमा एउटा महत्त्वपूर्ण भूमिका खेल्दछ किन कि भारतको मुख्य उद्देश्य नै दक्षिण-पूर्व एसियासँग व्यापक आर्थिक तथा सामरिक सम्बन्ध स्थापित गर्नु रहेको छ।  

हालैको यो भ्रमणको उद्देश्य भारत र भियतनाम बिचको बृहत सामरिक साझेदारितालाई अझै बलियो बनाउनु रहेको थियो। भारत र भियतनामबिच सोझो उडानको उद्धघोषणा उप-राष्ट्रपति दाङ थाई नगोक थिह्नको भ्रमणको बेला सबभन्दा बढी ध्यान आकर्षिक गरेको विषय थियो । साथै दिल्लीमा भ्वाइस अफ भियतनामको रेसिडेन्ट कार्यालय स्थापित गर्न एउटा सम्झौतामा पनि हस्ताक्षर गरियो। भ्रमणको क्रममा भियतनामकी उप-राष्ट्रपति बोध गया पनि जानुभयो।   

प्रधान मन्त्री नरेन्द्र मोदीको २०१६-मा भियतनाम भ्रमणको बेला एक नियम-आधारित क्षेत्रीय व्यवस्थालाई समर्थन गर्ने उद्देश्यले द्विपक्षीय सम्बन्धलाई बढाउँदै एक बृहत सामरिक साझेदारितामा परिणत गरिएको थियो। भियतनामले भारतको पूर्वोन्मुखी कार्य नीतिप्रति एक सकारात्मक दृष्टिकोण यथावत राखेको छ र क्षेत्रीय मामिलाहरूमा भारतको एक सक्रिय भूमिकाको लागि स्वागत गर्ने गर्दछ। उच्च स्तरीय भ्रमणहरू, सेना-सेना बिच सहयोग, नौसैन्य जहाजहरूका भ्रमण, प्रशिक्षण र क्षमता निर्माण, रक्षा उपकरण खरीद, प्रविधि हस्तान्तरण तथा क्षेत्रीय मञ्चहरू जस्तै आसियानका रक्षा मन्त्रीहरूको बैठक, पूर्वी एसिया शिखर सम्मेलन, मेकङ गङ्गा सहयोग, एसिया-युरोप बैठक, र राष्ट्र संघ तथा विश्व व्यापार संगठनमा सहयोगबमोजिम द्विपक्षीय रक्षा तथा सुरक्षा सहयोग मजबुत भएको छ। 

२०१६ मा भारतले भियतनामलाई ५० करोड डलरको रक्षा ऋण सहुलियत प्रदान गरेको थियो। यसको उपयोग गर्दै पेट्रोलले चल्ने तीव्र गतिका डुङ्गाहरू खरीद गर्नका लागि लार्सन एन्ड टूब्रो र भियतनाम बोर्डर गार्ड्स बिच अनुबन्धमा हस्ताक्षर गरिएको छ। यसको अतिरिक्त, भारतले नाह ट्राङ स्थित दूरसञ्चार विश्वविद्यालयमा एउटा आर्मी सफ्टवेयर पार्कको निर्माणका लागि ५० लाख डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ। यसबाहेक, अन्तर्देशीय अपराधहरू विरुद्ध लड्नका लागि दुई मुलुकहरूका तट रक्षक बलहरूबिच एउटा समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरिएको छ। यसको अतिरिक्त, भियतनामको सार्वजनिक सुरक्षा मन्त्रालय र भारतको इलेक्ट्रोनिक तथा सूचना प्रविधि मन्त्रालयबिच साईबर सुरक्षामाथि एउटा समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरिएको छ।   

रक्षा र सुरक्षा सहयोग सँग-सँगै आर्थिक सहयोग द्विपक्षीय सम्बन्धको एउटा महत्त्वपूर्ण खाँबो हो। भारत हनोईका दस शीर्ष व्यापार साझेदार मुलुकहरूमध्ये एक हो। आसियान भित्र भियतनाम, सिङ्गापुर पश्चात भारतको दोस्रो सबभन्दा ठूलो निर्यात गन्तव्य हो साथै इन्डोनेसिया, सिङ्गापुर तथा मलेसिया पश्चात चौथो ठूलो व्यापार साझेदार हो।

पाँच महत्त्वपूर्ण क्षेत्रहरूमाथि विशेष ध्यान दिइँदैछ, जसमा परिधान तथा कपडा, औषधी, कृषि सामग्री, छाला तथा जुत्ता-चप्पल र इन्जीनियरिङ्ग सामेल छन्। दक्षिणपूर्व एसियाकै सबैभन्दा तीव्र गतिमा विकास भइराखेको अर्थतन्त्रको रूपमा भियतनामले भारतलाई अनेक अवसरहरू दिँदछ। भारतले ऊर्जा, खनिज पदार्थको अन्वेषण, कृषि प्रसंस्करण, चिनी उत्पादन, कृषि रसायन, आईटी तथा वाहनका पार्टपुर्जा जस्ता क्षेत्रहरूमा लगानी गरेको छ। भियतनामले भारतीय लगानीहरूलाई स्वागत जनाएको छ जुन लगानीहरू विवादित दक्षिण चीन सागर समेतमा गरिएको छ। भियतनाममा ओएनजीसी-विदेशको हिस्सेदारी हाईड्रोकार्बन अन्वेषण ब्लकहरूमा रहेको छ जसमा ब्लक 6.1 जो एक उत्पादक सम्पत्ति हो तथा ब्लक 128 जो फू खाह्न अफशोर बेसिन स्थित एक अन्वेषणकारी सम्पत्ति हो,  सामेल रहेका छन्। ओएनजीसी बाहेक, टाटा पावर, रिलायन्स इन्डस्ट्रिस, जिमपेक्स, जेके टायर्स, तथा ग्लेनमार्क फारमासिटिकल्स लिमिटेड समेत थुप्रै भारतीय कम्पनीहरूले भियतनामा कारोबार अवसरहरूको लाभ उठाइरहेका छन्। 

भारत र भियतनाम बिचको सामरिक साझेदारिताको जरो इतिहासमा पाउन सकिन्छ। सन् १९५४ मा पन्डित जवाहरलाल नेहरू भियतनामले दिअन बिअन फू भन्ने ठाउँमा फ्रान्स विरुद्ध विजय हासिल गरेपछि भियतनामको भ्रमण गर्ने प्रथम आगन्तुकहरूमध्ये एक हुनुहुन्थ्यो। तत्पश्चात्, राष्ट्रपति हो ची मिह्न, जसलाई भारतमा पनि “हो अङ्कल” भनिन्छ, १९५८ मा भारत आउनु भएको थियो। त्यस लगत्तै १९५९ मा भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसाद भियतनाम भ्रमणमा जानुभएको थियो। त्यसबेला देखिनै उच्च स्तरीय भ्रमणहरू जारी छन् जसले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको छ। भियतनाम भारतको पूर्वोन्मुखी कार्य नीतिको केन्द्रमा रहेकोले, ऐतिहासिक प्रभाव, समान क्षेत्रीय तथा वैश्विक उद्देश्यहरू र भू-सामरिक घटनाक्रमहरू उदाङ्गो भइराखेको पृष्ठभूमिमा विशाल हिन्द-प्रशान्त क्षेत्रमा सहयोग तीव्र पार्दै भारतले भारत-भियतनाम बृहत सामरिक साझेदारितालाई नयाँ उचाइहरूमा पुऱ्याउनका लागि लगानी गर्न जारी राख्नेछ।

आलेख: पूर्व तथा दक्षिण पूर्व एसिया मामिलाकी सामरिक विश्लेषक, डा. तित्ली बासु

अनुवाद एवम् वाचन: प्रणय सुब्बा