भारत तथा जर्मनी- एक बहुआयामिक साझेदारिता

भारतका परराष्ट्र मामिला मन्त्री डक्टर एस. जयशङ्कर म्युनिकमा आयोजित सुरक्षा सम्मेलनमा भाग लिनका लागि जर्मनी जानुभएको थियो। भ्रमणको क्रममा डा. जयशङ्करले ओमान, स्पेन, कुवैत, आर्मेनिया, सऊदी अरब तथा अस्ट्रेलियाका विदेश मन्त्रीहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले सिङ्गापुर, जर्मनी तथा बेल्जियमका रक्षा मन्त्रीहरूलाई पनि भेट्नुभयो। उहाँले युरोपेली परिषदका अध्यक्षसित पनि अन्तर्क्रिया गर्नुभयो। 

त्यसपछि परराष्ट्र मामिला मन्त्री जर्मनीका विदेश मन्त्री हेयको मास तथा रक्षा मन्त्री सुश्री एन्नीग्रेट क्राम्प केरेनबयरसँग द्विपक्षीय सम्बन्ध र परस्पर हितका क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मामिलाहरूमाथि विस्तृत रूपमा छलफल र विचारहरू आदानप्रदान गर्नका लागि बर्लिन जानुभयो। भारत र जर्मनीले बलियो द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय मञ्चहरूमा अत्यन्तै राम्रो सहकारी साझेदारिता साझा गर्दछन्। यही परम्परालाई अघि बढाउँदै भारतले बहुपक्षीयवादका लागि फ्रान्स र जर्मनीद्वारा संवर्धित गठबन्धनमा सामेल हुने महत्त्वपूर्ण निर्णय लियो। यसको घोषणा गर्नुहुँदै डा. जयशङ्करले भन्नुभयो, राष्ट्रवाद र आयातभन्दा निर्यात धेरै गर्नुपर्छ भन्ने खालको विचारधाराले गर्दा बहुपक्षीयवाद  खतरामा परेको छ। भारतले राष्ट्र संघको केन्द्रीयता र अन्तर्राष्ट्रिय व्यापरमा विश्व व्यापार संगठनको प्रासङ्किगतामाथि विश्वास राख्दछ।  

महत्त्वपूर्ण रूपमा दुई विदेश मन्त्रीहरूले राष्ट्र संघ सुरक्षा परिषदको स्थायी सदस्यता विस्तार गर्ने प्रक्रियालाई तीव्र पार्नुपर्ने आवश्यकतामाथि विस्तृत छलफल गर्नुभयो। भारत र जर्मनी दुवै चार राष्ट्रहरूको समूह अर्थात जी-4 का सदस्यहरू हुन् जसले स्थायी सदस्यता प्राप्तिका लागि राष्ट्र संघ सुरक्षा परिषदमा सुधार गर्नुपर्ने विषयमाथि जोड दिइराखेका छन्। मीडियासँग अन्तर्क्रिया गर्नुहुँदै डा. जयशङ्करले भन्नुभयो, यो एक यस्तो विषय हो जसमाथि भारत र जर्मनीले केही वर्षदेखि एकसाथ मिलेर काम गरिरहेका छन्। भारतका दुइवटा बहुपक्षीय पहलहरू अन्तर्राष्ट्रिय सौर गठबन्धन (आईएसए) र आपदा प्रतिरोधी संरचनाका लागि गठबन्धन (सीडीआरआई) लाई समर्थन दिएकोमा परराष्ट्र मामिला मन्त्रीले उहाँका जर्मन समकक्षीलाई धन्यवाद दिनुभयो। 

 भारत र जर्मनीले हालसम्मै उच्चस्तरीय सम्पर्क कायम गर्दै आएका छन्। पोहोर जर्मन चान्सलर एङ्गेला मर्केल भारत भ्रमणमा आउनुभएको थियो। दुई राष्ट्रहरूले सौहार्दपूर्ण व्यापार साझा गर्दछन् तथा उनीहरूबिच सामरिक साझेदारिता पनि उत्तिकै प्रगाढ छ। दुई मुलुकहरूले विभिन्न अन्तर्राष्ट्रिय निकायहरूमा सहकार्य गर्दै आएका छन्।

भ्रमणको बेला चान्सलर मर्केल र प्रधान मन्त्री मोदीले भारत र जर्मनी बिचको सामरिक साझेदारिता समान मूल्य र लोकतन्त्र, स्वतन्त्र एवम् निष्पक्ष व्यापार, नियमहरू-आधारित अन्तर्राष्ट्रिय व्यवस्था साथै परस्पर विश्वास र सम्मानमाथि आधारित रहेको दोहोऱ्याउनुभएको थियो।

भारत र जर्मनीले वर्ष २०२० मा उनीहरूको सामरिक सामरिक साझेदारिताको २०औँ वर्षगाँठ मनाउँदै छन्। दुवै पक्षले भारतको परराष्ट्र सचिवालय तथा जर्मन संघीय कार्यालयको विदेश सचिवालयबिच विदेश परामर्श कार्यालय स्थापित गर्ने निर्णय गरेका छन्। उनीहरूले ट्र्याक 1.5 सामरिक संवाद पनि स्थापित गरेका छन् जसले मुख्य सरोकारवालाहरूलाई राष्ट्रिय, क्षेत्रीय र सामरिक हितहरूको परस्पर बुझाइ बढाउनका लागि विचारहरू आदानप्रदान गर्न र संयुक्त संलग्नताका सिफारिसहरूमाथि काम गर्न र साथै व्यक्तिगत नीति क्षेत्रहरूमाथि कार्य गर्न वर्षमा एकचोटी भेला हुने अवसर प्रदान गर्दछ। भारत र जर्मनी, दुवै पक्षबाट मीडिया क्षेत्रका पेसावालहरूको भ्रमणलाई सुगम बनाएर दुई मुलुकहरूबिच सूचनाको आदानप्रदान सुधार्न प्रतिबद्ध छन्।

जर्मनीका रक्षा मन्त्रीसितको बैठकमा डा. जयशङ्करले रक्षा सहयोग प्रगाढ बनाउने हाल जारी कार्यक्रमहरूबारे छलफल गर्नुभयो। दुवै देश द्विपक्षीय रक्षा सहयोगसम्बन्धी सम्झौता कार्यान्वयन गर्न तत्पर भएका छन्। यसले वैश्विक, क्षेत्रीय, समुद्री तथा साइबर सुरक्षा जस्ता मामिलाहरूमाथि ध्यान केन्द्रित गर्नका साथै वर्तमान सुरक्षा नीतिमा रहेको सहयोग र नयाँ रक्षा एवम् सुरक्षा संवादका प्रारूपहरूलाई गति प्रदान गर्नेछ भन्ने नयाँ दिल्ली र बर्लिनको अपेक्षा छ।  

भारत र जर्मनीका रक्षा मन्त्रीहरूले दुई वर्षमा कम्तीमा पनि एकपटक बैठक गर्ने निर्णय गरेका छन्। जर्मनीले भारतीय राज्यहरू उत्तरप्रदेश र तमिलनाडुमा स्थापित दुई रक्षा करिडोरहरूमा पनि रुचि देखाएको छ।

बर्लिनमा केही समय रहनुहुँदा भारतीय परराष्ट्र मामिला मन्त्रीले बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भारत मण्डपको उद्घाटन पनि गर्नुभयो। आफ्नो सम्बोधनमा डा. जयशङ्कले भन्नुभयो, यस प्रतिष्ठित बर्लिन फिल्म महोत्सवमा भारतको साझेदारिताले  फिल्म निर्माणका विभिन्न पाटामा उत्कृष्टता हासिल गर्ने प्रचुर अवसरहरू प्रदान गर्दछ। भारत र जर्मनीले रक्षा र अर्थव्यवस्था तथा कुटनीतिकदेखि लिएर सांस्कृतिक क्षेत्रसमेतमा बहुआयामिक सम्बन्ध साझा गर्दछन् र यो सम्बन्ध आगामी वर्षहरूमा अझै प्रगाढ हुने अपेक्षा छ।

आलेख: रणजीत कुमार, वरिष्ठ पत्रकार

अनुवाद एवम् वाचन: प्रणय सुब्बा