लकडाउनको कडा अनुपालन गर्ने प्रधान मन्त्री मोदीको आह्वान, कोविड-१९ बारे जानकारीका लागि हेल्प डेस्कको स्थापना

प्रधान मन्त्री नरेन्द्र मोदीले कोविड-१९-को प्रसारलाई रोक्न सामाजिक दूरी एक मात्र उपाय रहेको दोहोऱ्याउनु भएको छ। उहाँले भन्नुभएको छ, भाइरसले भेदभाव गर्दैन र यसले कसैलाई पनि संक्रमित गर्न सक्छ।

भिडियो कन्फ्रेन्सिङ्ग मार्फत वाराणसीमा मानिसहरूसँग कुराकानी गर्दै श्री मोदीले भन्नुभयो, ज्ञानका साथ सशक्त भएर पनि केही मानिसहरूले चेतावनीलाई ध्यान दिइरहेका छैनन् जुन दुर्भाग्यपूर्ण कुरा हो। उहाँले भन्नुभयो, महाभारतको युद्ध १८ दिनमा जितिएको थियो र   कोरोना भाइरस विरूद्ध समग्र मुलुकले लडिरहेको यो युद्ध २१ दिनसम्म चल्नेछ र यसमा जित्ने लक्ष्य छ।

श्री मोदीले मानिसहरूलाई कुनै पनि औषधी लिनुभन्दा पहिले चिकित्सकहरूसँग कुरा गर्न भन्नुभयो र हालसम्म कोरोना भाइरसको कुनै औषधी वा खोप नभएको बताउनुभयो।

उहाँले मानिसहरूलाई प्रकोपबारे झुटो हल्लामाथि विश्वास नगर्न भन्नुभयो। उहाँले अझ भन्नुभयो, सरकारले कोरोना भाइरस सम्बन्धी विश्वसनीय जानकारी दिनका लागि हेल्पडेस्क बनाउन व्हाट्सएपका साथ करार गरेको छ। नम्बर हो- ९०१३१५१५१५।

प्रधान मन्त्रीले भन्नुभयो, डक्टर र नर्सहरू भगवानका अवतार हुन् र उनीहरूले मानिसहरूलाई बचाउन स्वयंलाई जोखिममा पारेका छन् र उनीहरूको सम्मान गर्नुपर्छ। श्री मोदीले काबुलमा गुरुद्वारामा भएको आतङ्की हमलामा मारिएका मानिसहरूको परिवारजनप्रति संवेदना व्यक्त गर्नुभएको छ।