प्रधान मन्त्रीद्वारा राहत तथा पुनर्बास कार्यका लागि पश्चिम बंगाललाई १००० करोड रुपियाँ र ओडिशालाई ५०० करोड रुपियाँको घोषणा

केन्द्र सरकारले अम्फान तुफानबाट भएको क्षतिपूर्तिका लागि पश्चिम बंगाल सरकारलाई अग्रिम आर्थिक सहायतास्वरूप १००० करोड रुपियाँ प्रदान गर्नेछ। प्रधान मन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले संयुक्तरूपमा उत्तर २४ परगना र दक्षिण २४ परगनाका तुफान प्रभावित इलाकाहरूको हवाई सर्वेक्षण गर्नुभयो। सर्वेक्षणपश्चात् सम्पन्न भएको प्रशासनिक बैठकमा शक्तिशाली तुफान अम्फानले गरेको क्षतिको पूर्तिका लागि उक्त आर्थिक सहायताको घोषणा गरिएको हो। प्रधान मन्त्री मोदीले तुफानमा मृत्यु हुने प्रत्येक व्यक्तिको परिवारजनलाई दुई लाख रुपियाँ दिने घोषणा पनि गर्नुभएको छ। 

शुक्रबार प्रधान मन्त्री नरेन्द्र मोदीले तुफान प्रभावित ओडिशाका लागि अग्रिम आर्थिक सहायतास्वरूप ५०० करोड रुपियाँ प्रदान गर्ने घोषणा पनि गर्नुभयो। तुफान प्रभावित इलाकाहरूको हवाई सर्वेक्षण गरिसकेपछि उहाँले राज्यपाल गणेशी लाल तथा मुख्य मन्त्री नवीन पटनायकसँग समीक्षा बैठक गर्नुभयो। प्रधान मन्त्रीले प्रत्येक मृतकको परिवारजनलाई २ लाख रुपियाँ तथा प्रत्येक घाइतेलाई  ५०,००० रुपियाँ क्षतिपूर्ति रकम दिने घोषणा पनि गर्नुभएको छ।