भारत कोभिड-२९को रोकथाम योजनालाई आत्मासात गरी अघि बढ्दै

दुई महिनापश्चात सोमबार ५३२ विमानहरू भारतीय आकासका अग्ला उचाइहरूमा फेरि उडे। यसले यो कुरा प्रस्ट हुन्छ कि चुनौती जतिसुकै ठुलो किन नहोस् त्यसले विपरीत परिस्थितिसित जुझ्ने भारतको दृढ संकल्पलाई पटक्कै जित्न सक्तैन। विमानस्थलहरू र यात्रीहरूले भारत घातक कोभिड-१९को रोकथामका लागि एकदमै राम्रोसँग तयार छ भन्ने कुरा प्रदर्शित गरे किनभने उनीहरूले भाइरस फैलिन नदिनका लागि उचित उपायहरूलाई अपनाए।  

मास्क लगाएर एक पाँच वर्षीय केटो एक्लै दिल्लीबाट बैंगलुरू गएको घटनाक्रमले सामान्य जनजीवन छिट्टै फर्कनेछ भन्ने मानिसहरूको भरोसालाई अझ बलियो बनाउन मदत गरेको छ। दुई महिना लकडाउनको समयावधिमा भारतले आफ्ना नागरिकहरू र निकायहरूलाई भाइरसको संक्रमण रोक्ने थुप्रै उपायहरू अपनाउन लगायो। यात्रीहरूले सामाजिक दूरीका सर्तहरू पालन गर्नाले तथा आरोग्य सेतु एपलिकेशनको फाइदा उठाउनाले विमानहरूको परिचालन अझ धेरै सहज हुनेछ।

वास्तवमा सरकारले विभिन्न गन्तव्य स्थलहरूबिच स्पेशल ट्रेनहरू सञ्चालन गर्ने अनुमति प्रदान गरेपछि हवाई यातायात सेवा सुरु गर्ने अनुमति दिएको हो। आफ्ना गन्तव्य स्थलहरूसम्म पुग्न लाखौं मानिसहरूले रेल सेवाको उपभोग गरे। १ जूनदेखि १२०० ट्रेनहरू फेरि गुड्न थाल्नेछन्। अबोप्रान्त भारतमा जीवन थमिरहन सक्तैन भन्ने कुरा यसले प्रस्टै बुझाउँछ। मुलुकमा सामान्य जनजीवन फर्किसकेको अस्वीकार गर्नै नसक्ने तथ्य मानिसहरूको हिँडडुल हो। 

तर भारतमा कोभिड-१९को चुनौती अझै पनि व्याप्त छ र यो एक वास्तविकता हो। संक्रमणको कुल संख्या १,५१,५६७ पुगेको छ। अर्कोतिर ६४,४२६ संक्रमित व्यक्तिहरू निको भएको कुरा प्रोत्साहनजनक छ। अग्रपङ्क्तिमा लड्ने योद्धाहरूसमेत ४३३७ जनाले गुमाएका बहुमूल्य ज्यान, भाइरसविरुद्ध भारतले लडेको भीषण युद्धका प्रतीक हुन्। एउटा खुसीको कुरा के छ भने भारतमा मृत्यु दर केवल ३ प्रतिशत रहेको छ। अधिकांश संक्रमित व्यक्तिहरूलाई इन्टेन्सिभ केयर सुविधाको आवश्यकता नरहेको कुरा खुसीको अर्को एउटा खबर हो। रेवलेको लगभग आधाजति सम्पदा कोभिड-१९ रोगीहरूका लागि आइसोलेशन कमराहरूको रूपमा प्रयोग गर्न दिइएको थियो जसलाई अबका केही दिनभित्रमा फिर्ता लिइनेछ। यात्री रेल सेवा सुरु गरिएकोले संक्रमितहरूको संख्या एकदमै कम्ती रहेको बुझ्न सकिन्छ।   

वास्तवमा भारतले लकडाउनको समयलाई सावधानीपूर्वक स्वास्थ्य पूर्वाधार बलियो पार्न तथा मास्क, पीपीई र भेन्टिलेटरलगायत जाँच एवम् संरक्षण उपकरणहरू निर्माण गर्नका लागि प्रयोग गऱ्यो। भारतीय प्राविधिक संस्थानहरूले किफायती भेन्टिलेटर निर्माण गरेका छन् जुन भेन्टिलेटरलाई कोभिड-१९को उपचारमा चाहिने महत्त्वपूर्ण उपकरणहरूमध्ये एक मानिएको छ। लकडाउनको अवधिमा विभिन्न राज्यहरूमा अस्पतालका ओछ्यानहरू र आइसोलेशन कमराहरूको संख्यामा उल्लेखनीय वृद्धि भयो। यो सँगै भारतका शोध संस्थानहरू कोभिड-१९ को खोप विकसित गर्ने ठूलो चुनौतीलाई साथमा लिएर निरन्तर अगाडि बढिरहेका छन्। मुलुकमा द सेरम इन्सटिट्युटले एउटा खोप विकसित गरेको छ जसको परीक्षण पुणेमा भइरहेको छ भन्ने खबर प्राप्त भएको छ। देशमा हाल एकैसाथ थुप्रै अनुसन्धानहरू चलिरहेका छन् जसमध्ये कतिपय अनुसन्धान अन्तर्राष्ट्रिय सहकार्यमा भइरहेका छन्। 

दुई महिनाभन्दा लामो अवधिको लकडाउनले गर्दा आर्थिक गतिविधि ठप भएको छ र मानिसहरूसमक्ष कठिन परिस्थिति उत्पन्न भएको छ। भाइरसको संक्रमण शृंखला तोड्न प्रमुख उपायको रूपमा विश्वभर लकडाउन गर्दा भारत यसबाट अलग्गै बस्न सक्तैन थियो। लकडाउनले अर्थतन्त्रमाथि पारेको नराम्रो असरबारे सबै अवगत नै छ। तथापि भारत सरकारले यो चुनौतीलाई एक अवसरमा परिवर्तन गर्ने दृढ संकल्प देखाएको छ। लगानीहरू भित्र्याउन केन्द्र सरकारले सबै क्षेत्रलाई समेटेर २० लाख करोड रुपियाँको आर्थिक प्याकेज प्रदान गरेको छ। आर्थिक मन्दीको सबभन्दा धेरै असर गरिबमाथि परेको छ। सरकारले राहत उपायहरू प्रदान गर्न गरिबहरूलाई शीर्ष प्राथमिकता दिइराखेको छ। प्रधान मन्त्री नरेन्द्र मोदीले देशका जनतालाई घरेलु उत्पादहरूलाई बेसी महत्त्व दिन आह्वान गर्नुभएको हुनाले सरकारले ती क्षेत्रहरूकहाँ सहयोगका हात अघि बढाउन चाहिरहेको छ जसले बढी संख्यामा मानिसहरूलाई रोजगार दिइराखेका छन्  र साथै उहाँले भारतलाई एक आत्मनिर्भर मुलुक बनाउने आह्वान समेत गर्नुभएको छ।

राज्यहरूले सामान्य स्थिति बहाल गर्न अधिकांश गतिविधिलाई अनुमति दिएका हुनाले भारतले आफ्नो अर्थतन्त्रलाई उद्धार गर्नका साथै कोभिड-१९ महामारीमाथि विजय निश्चय नै पाउनेछ।

 

आलेख: द न्यु इण्डियन एक्सप्रेसका वरिष्ठ विशेष संवाददाता मनीष आनन्द

अनुवाद: प्रणय सुब्बा