कोभिड१९ विरुद्ध लड्दा सतर्क बस्न प्रधान मन्त्रीको आग्रह

प्रधान मन्त्री नरेन्द्र मोदीले अल इण्डिया रेडियो नेटवर्कमा प्रासित हुने आफ्नो मासिक “मन की बात” कार्यक्रममा मानिसहरूलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो संयुक्त प्रयासमार्फत मुलुकमा कोरोनाभाइरसविरुद्ध भीषण युद्ध लडिँदैछ। भारतीय अर्थव्यवस्थाको ठूलो पाटो खुलेको हुनाले कोभिड१९लाई ध्यानमा राखी अब धेरैभन्दा धेरै सजग र सावधान बस्न उहाँले मानिसहरूलाई आग्रह गर्नुभयो।  

प्रधान मन्त्रीले भन्नुभयो पर्पाप्त रोकथाम उपायहरूका साथमा २०० ट्रेनको सञ्चालन पुन: सुरु गरिएको छ। उहाँले भन्नुभयो हवाई सेवाको सञ्चालन पनि सुरु गरिएको छ र उद्योग सामान्य क्रियाकलापतिर फर्केको छ। उहाँले मानिसहरूलाई सुस्तपन नदेखाउन र दुई गजको दूरीलाई कायम राख्न, मुहार छोप्ने मास्क लगाउन र जतिसक्दो घरभित्रै बस्न आग्रह समेत गर्नुभयो। अत्याधिक मेहनतका साथ स्थिति नियन्त्रण गर्ने मुलुकले प्रभावकारी कार्य खेर नजाओस् भन्ने कुरामाथि श्री मोदीले बल दिनुभयो।    

भारतीय प्रधान मन्त्रीले देशका नागरिकहरूद्वारा देखाइएका सेवाभावको प्रशंसा गर्नुभयो जसलाई उहाँले सबभन्दा ठूलो ताकत बताउनुभयो। उहाँले भन्नुभयो ‘सेवा परमो धर्म:’ अर्थात् सेवा नै परम धर्म हो भन्ने उक्ति हामी सबैलाई थाहा भएकै कुरो हो। देशभरि खटिरहेका चिकित्साकर्मीहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्नुहुँदै प्रधान मन्त्रीले मुलुकका डक्टर, नर्स, सफाइकर्मी, सुरक्षाकर्मी तथा मीडियाकर्मीहरूले दिएका सेवाको प्रशंसा गर्नुभयो। संकटको अवधिमा महिला स्वयं सहायता समूहहरूले गरेका उल्लेखनीय कार्यको  पनि उहाँले प्रशंसा गर्नुभयो।

उहाँले तमिलनाडुका केसी मोहन, अगरतलाका गौताम दास, पठानकोटका एक दिव्याङ्ग व्यक्ति राजु जस्ता आम नागरिकहरू सिमित साधनहरू हुनका बावजुद पनि यस संकटको घडीमा अरूलाई मदत गर्न अगि आएका उदाहरण दिनुभयो। उहाँले अझ भन्नुभयो मुलुकका कुनाकुनाबाट महिला स्वयं समूहहरूका सराहनीय कार्यका अनेक गाथाहरू सामुन्ने आइरहेका छन्। साथै श्री मोदीले यो महामारीसँग निप्टिन हरेक नागरिकले खेलेको सक्रिय भूमिकाको पनि प्रशंसा गर्नुभयो। आफ्नो ट्र्याक्टरसँग सफाइ मशिन जोड्ने नाशिकका राजेन्द्र यादवको उदाहरण उहाँले दिनुभयो। अनेक पसलेहरूले उनीहरूका पसलमा ‘दो गज की दूरी’को नियम पालन गर्न ठूला पाइपलाइनहरू लगाएका छन्।  

महामारीका कारण मानिसहरूले झेलिरहेका पीडा र कठिनाइहरूप्रति वेदना प्रकट गर्नुहुँदै प्रधान मन्त्रीले भन्नुभयो कोरोनाभाइरसले वञ्चित श्रमिक र कामदारहरूलाई सबभन्दा धेरै प्रभावित गरेको छ। केन्द्र र राज्य सरकार, हरेक विभाग र संस्थान काँधमा काँध मिलाइ तीव्र गतिमा काम गरिहेका छन्। उहाँले भन्नुभयो समग्र मुलुकले यो बुझ्छ र महसूस गर्न सक्छ कि
उनीहरू हाल कुन परिस्थितिबाट गुज्रिरहेका छन् र केन्द्र, राज्यदेखि लिएर स्थानीय निकायहरू सबैले चौबिसै घण्टा काम गरिरहेका छन्। 

प्रधान मन्त्रीले भन्नुभयो सरकारले यो दिशामा अनेक पाइलाहरू सारेको छ। उहाँले थप भन्नुभयो केन्द्रले भर्खरै चालेका कदमहरूको फलस्वरूप ग्रामीण रोजगार, स्वरोजगार र सानो परिमाणको उद्योग खोलिने सम्भावनाहरू प्रचुर मात्रामा बढेका छन्। उहाँले ‘आत्मनिर्भर भारत’ अभियानले यही दशकभित्रमा मुलुकलाई नौलो उचाइमा पुऱ्याउने विश्वास व्यक्त गर्नुभयो।

प्रधान मन्त्री भन्नुभयो कोरोना महामारीको वर्तमान समयमा सबै ठाउँका मानिसहरू ‘योग’ र ‘आयुर्वेद’ का बारेमा अझ बढी जान्न र यिनलाई जीविनका हिस्सा बनाउन चाहन्छन्। उहाँले ‘कम्युनिटि, इमिन्युनिटि र युनिटि’ अर्थात समुदाय, रोग प्रतिरोधक क्षमता र एकताको पक्षमा योगको वकालत गर्नुभयो।  उहाँले भन्नुभयो वर्तमान कोरोना महामारीको समयमा योग धेरै महत्त्वपूर्ण बन्दै गइरहेको छ किनभने यो भाइरसले श्वास प्रणालीलाई क्षति पुऱ्याउदछ। योगमा धेरै प्रकारका प्रणायाम हुन्छन् जसले श्वास प्रणालीलाई बलियो पार्दछ र दीर्घम्यादी लाभ पुऱ्याउदछ। प्रधान मन्त्री मोदीले महामारीसित निप्टिने सरकारका प्रयासहरूको प्रशंसा गर्नुभयो र ‘आयुषमान भारत’ योजनाका लाभार्थीहरूको संख्या एक करोड नाघेको कुरो साझा गर्नुहुँदै गौरवान्वित महसुस गर्नुभयो।

प्रधान मन्त्रीले भन्नुभयो हामी एकै समय कोरोनाभाइरस र अम्फान तुफान जस्ता आपदाहरूसित लडिरहेका छौं। उहाँले आम्फानजस्तो विनाशकारी तुफानसँग लड्न पश्चिम बंगाल र ओडिशाका मानिसहरूले देखाएको सहासको प्रशंसा गर्नुभयो। राज्यहरूमा किसानहरूले सलह किराको प्रहारबाट सामना गरेका क्षतिहरूका लागि उहाँले सम्वेदना प्रकट गर्नुभयो। उनीहरूले यो संकष्टको सामना गर्न जुन दृढता र हिम्मत देखाए त्यो प्रशंसनीय छ भनी उहाँले भन्नुभयो।

वर्तमान पिँढीलाई पानीको संरक्षण गर्ने जिम्मेवारी राम्ररी बुझ्ने आवश्यकता रहेको कुरोमाथि उहाँले विशेष बल दिनुभयो। उहाँले वर्षाको पानी संरक्षण गर्ने खाँचोमाथि जोड दिनुभयो र भन्नुभयो सबै मानिसहरू नै जल संरक्षणप्रति सचेत हुनुपर्छ। उहाँले देशवासीहरूलाई यो वर्षको पर्यावरण दिवसमा केही बिरुवाहरू रोपीकन प्रकृतिसँगको हाम्रो दैनन्दिनको सम्बन्धलाई मजबुत पार्ने संकल्प लिन अनुरोध गर्नुभयो। उहाँले भन्नुभयो लकडाउनले जीवनलाई सुस्त बनाइदिएको छ तर यसले प्रकृतिलाई नियालेर हेर्ने एक अवसर दिएको छ र जङ्गली जनावरहरू बढी मात्रामा बाहिर निस्कन थालेका छन्।

आलेख: अल इण्डिया रेडियोका समाचार विश्लेषक, कौशिक राय

अनुवाद: प्रणय सुब्बा