राष्ट्र संघ सुरक्षा परिषदको रिपोर्टमा पाकिस्तान अन्तर्राष्ट्रिय आतङ्कवादको केन्द्रबिन्दु रहेको पुष्टि

भारतले भनेको छ हालैमा जारी राष्ट्र संघ सुरक्षा परिषदको रिपोर्टमा पाकिस्तान अन्तर्राष्ट्रिय आतङ्कवादको केन्द्रबिन्दु हो भन्ने भारतको दीर्घम्यादी अडान सही रहेको पुष्टि भएको छ। परराष्ट्र मामिला मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यो कुरो कुनै व्यक्तिविशेष अथवा समुहहरू अफगानिस्तानको शान्ति, स्थिरता र सुरक्षाका लागि खतरा बन्नसक्ने कुरामाथि अध्ययन गर्ने राष्ट्र संघ सुरक्षा परिषदको विश्लेषणात्मक सहायता तथा प्रतिबन्ध निगरानी टोलीले जम्मा गरेको रिपोर्टको सम्बन्धमा मिडियाद्वारा सोधिएको प्रश्नको जवाफमा भन्नुभएको हो।   

उहाँले भन्नुभयो राष्ट्र संघले आतङ्कवादी संगठन घोषित गरेको अल कायदा र यसका सहयोगी संगठनहरूका टाउकेको उपस्थिति अफगानिस्तानमा लगातार रहिआएको रिपोर्टमा उल्लिखित कुरालाई भारतले बढी गम्भीरतापूर्वक लिएको छ।

श्री श्रीवास्तवले भन्नुभयो पाकिस्तान उसको नियन्त्रणमा रहेको भूमिमा उत्पन्न भइरहेको आतङ्कवादप्रतिको आफ्नो समर्थनलाई अन्त्य गर्ने अन्तर्राष्ट्रिय दायित्व पुरा गर्न विफल भएको छ। उहाँले भन्नुभयो अफगानिस्तानमा शान्ति, सुरक्षा र स्थिरताका लागि गरिने समग्र प्रयासहरूलाई लगातार समर्थन र तिनमा योगदान गर्न भारतले जारी राख्नेछ। .