भारत-जापान आर्थिक साझेदारी मजबुत हुँदै

इन्भेस्ट इण्डिया एक्सक्लूसिभ फोरम-जापान एडिसनको तेस्रो सम्मेलन  हालै आयोजना गरिएको थियो। यसको उद्देश्य कोविड-१९ महामारीको  सामना गरिरहेका व्यवसायहरूका लागि स्थितिलाई सक्षम बनाउन हेतु भारत-जापान व्यापार र लगानी सहयोगलाई थप मजबुत पार्नु रहेको थियो । भारतको आर्थिक आधुनिकीकरणलाई अगाडि बढाउनु र प्रधान मन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर भारतको दृष्टिकोणलाई साकार बनाउनुमा प्रमुख साझेदारहरूमध्ये जापान पनि एउटा हो। जापानको अत्याधुनिक प्रौद्योगिकी र सार्वजनिक तथा निजी क्षेत्रको लगानीलाई सक्रिय रूपले जुटाउनु नयाँ दिल्लीका लागि अत्यन्त महत्त्वपूर्ण छ। 

विशाल बजारको कारण जापानी कम्पनीहरूका लागि भारत एउटा मनपर्ने गन्तब्य हो। जापान अन्तर्राष्ट्रिय सहयोग बैंक, जेबीआईसी-द्वारा जापानका उत्पादन कम्पनीहरूको विदेशी व्यापार सञ्चालन सम्बन्धी गरिएको हालैको सर्वेक्षण अनुसार चीनलाई उछिनेर भारत शीर्ष स्थानमा छ। जापान भारतको चौथो ठूलो लगानीकर्ता हो जसअन्तर्गत २००० देखि २०२० सम्मको अवधिमा ३३.५ अर्ब अमेरिकी डलरको सञ्चयी प्रत्यक्ष विदेशी लगानी,एफडीआई प्रवाह भयो जुन भारतको कुल एफडीआई प्रवाहको ७ प्रतिशत भन्दा धेरै हो। भारतमा लगभग १४४१ जापानी कम्पनीहरू छन्। जापानले घरेलु र विश्वव्यापी बजारहरूमा सुजुकी-तोशिबा-डेन्सोका साथ संयुक्त उद्यम गरी अटोमोटिभ लिथियम-आयन ब्याट्री प्याक ल्याउने  र मेड- इन- इण्डिया सुजुकी बलेनो कारहरूको  

अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी ‘मेक इन इण्डिया’ अन्तर्गत सफलता हासिल गर्ने अनुमान गरेको छ।

जापानी व्यापारलाई अगाडि बढाउनका लागि सीमा शुल्क, गुणवत्ता, निर्यात् प्रक्रिया र सामान लगायत भारतमा लगानीकर्ताहरूले सामना गर्ने केही चुनौतीहरू  समाधान गर्नमा एउटा केन्द्रित अन्तर-मन्त्रीस्तरीय समूह समर्पित छ। यो समूहमा उद्योग, वित्त, रेलवे र सडक तथा भूतल परिवहन मन्त्रालयका प्रतिनिधिहरू सामेल छन्। उनीहरूले चार सत्रहरूमा लगभग ५० जापानी कम्पनीहरूका साथ बैठकहरू गर्ने कार्यक्रम रहेको  छ। जापानी पक्षले भारतमा लगभग २ सय लगानी योजनाहरू बनाएको छ। यस समूहका केही कम्पनीहरूले पहिलेदेखिनै भारतमा काम गरिरहेका छन्। यसैबीच कारोबार गर्न सजिलोमा सुधार ल्याउने उद्देश्यले एउटा प्यान-इण्डिया लगानी स्वीकृति सेल २०२१-देखि सुरु हुने सम्भावना छ।

लगानीको सुविधाका लागि डिसेम्बर २०१९-मा वाणिज्य तथा उद्योग मन्त्रालय र जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयबीच भारत-जापान औद्योगिक प्रतिस्पर्धा साझेदारीको सुरुआत गरिएको थियो। यसको उद्देश्य एफडीआई, रसदको लागतलाई कम गर्नु र यस्तै अन्यलाई प्रोत्साहित गर्नका लागि औद्योगिक क्षेत्रको राम्रो प्रयोग गरी भारतको औद्योगिक प्रतिस्पर्धालाई बढुवा दिने दिशामा सहकार्य गर्नु रहेको छ। यसरीनै जापान प्लस पनि जापानी व्यवसायका लागि भारत-प्रवेश योजनाहरूको खोज र कार्यान्वयनका लागि वन स्टप शप हो।

जापान इन्ड्रस्ट्रियल टाउनशिप्स, जेआईटी-को स्थापनाका साथ लगानी प्रोत्साहन प्रदान गर्नमा उल्लेखनीय प्रगति भएको छ। जापान एकमात्र यस्तो देश हो जोसँग हाल भारतमा १२ समर्पित देश-केन्द्रित औद्योगिक टाउनशिप छ। यस अतिरिक्त घरेलु उत्पादन निर्माणलाई बढुवा दिनका लागि असममा १३औँ जेआईटी स्थापित गर्ने योजना बनाइएको छ। साथै स्टार्ट-अप इकोसिस्टमबीचको अन्तराललाई जोडने उद्देश्यका साथ भारत-जापान स्टार्ट-अप केन्द्र बेङ्गलुरुमा स्थापित गरिएको थियो जसले सम्बन्धित स्टार्ट-अप्स र कम्पनीहरूबीच एउटा इन्टरफेसको काम गर्दछ र बजार तथा लगानीकर्ताका साथ सहयोगको सुविधा प्रदान गर्दछ।

यसैबीच, २०१९-मा भारतले  प्रतिकूल व्यापार सन्तुलनप्रति चिन्ता व्यक्त गरेको थियो र  व्यापक आर्थिक साझेदारीको समीक्षाको माग गरेको थियो किनकि भारतका वस्तु र सेवाहरूको बजार पहुँच यसको पूर्ण क्षमतासम्म पुगेको थिएन। व्यापार सन्तुलन भारतका लागि एउटा शीर्ष नीति प्राथमिकता हो। भारत-जापान द्विपक्षीय व्यापार २०१८-१९-को अवधिमा बढेर १७.६३ अर्ब अमेरिकी डलर थियो। यस अवधिमा जापानबाट भारतमा  १२.७७ अर्ब अमेरिकी डलरको निर्यात र ४.८६ अर्ब अमेरिकी डलरको आयात गरिएका थिए।।

प्रधान मन्त्री मोदी र जापानका प्रधान मन्त्री शिन्जो आबेले उच्चस्तरीय कुटनीतिको युगलाई बढुवा दिनुभएको छ। भारतीय प्रधान मन्त्रीले भन्नुभएको छ, सशक्त भारत र जापानले दुइ राष्ट्रहरूलाई मजबुत पार्नुका साथै यी दुइ मुलकहरू एसिया र विश्वमा एउटा स्थिर कारक पनि हुनेछन्। मजबुत आर्थिक संलग्नता भारत-जापान विशेष रणनीतिक र विश्वव्यापी साझेदारीको एउटा प्रमुख स्तम्भ पनि हो। आफ्ना जनसांख्यिकी प्रोफाइल र जापानको हार्डवेयर र भारतको सफ्टवेयरमा पूरक हुनुका साथै भविष्यमा भारत-जापान आर्थिक सहयोग मजबुत पार्नका लागि थुप्रै सम्भावना पनि रहेको छ।

आलेखःडा. तितली बसु, पूर्व तथा दक्षिण पूर्व एसिया मामिलाका कुटनीतिक विश्लेषक

अनुवादः रञ्जना खवास