प्रतिरक्षा मन्त्रीले भन्नुभयो,भारत शान्तिका लागि प्रतिबद्ध तर क्षेत्रीय अखण्डताको रक्षा गर्नका लागि तयार छ

प्रतिरक्षा मन्त्री राजनाथ सिंहले पूर्वी लद्दाखको स्थिति बारे लोकसभामा संक्षिप्त जानकारी दिनुभएको छ। प्रतिरक्षा मन्त्रीले भन्नुभयो, भारत-चीन सीमाको व्यस्थापन सन्धि तथा सम्झौता र ऐतिहासिक व्यवहार तथा अभ्यासद्वारा  स्थापित भौगलिक सिद्धान्तहरूमाथि आधारित रहेको कुरामा भारतलाई विश्वास छ।  शताब्दीऔँदेखि दुइ पक्ष यस वास्तविकबाट सुपरिचित छ। तर चिनियाँ पक्षलाई दुइ देशबीचको सीमालाई औपचारिक रूपले सीमाङ्कित गरिएको छैन भन्ने विश्वास छ।

 सीमा सम्बन्धी प्रश्न एउटा जटिल मुद्दा रहेको र यसमा धैर्यताको आवश्यकता रहेकोबारे भारत र चीन दुवैले औपचारिक रूपले सहमति जनाए र संवाद तथा शान्तिपूर्ण कुराकानीमार्फत एक निष्पक्ष, उचित र पारस्परिक रूपले स्वीकार्य समाधानको प्रयास गर्ने प्रतिबद्धता दुवैले व्यक्त गरे।  दुइ पक्ष सीमा क्षेत्रमा शान्ति र सुरक्षा कायम राख्न पनि सहमत भए जुन द्विपक्षीय सम्बन्धलाई अझ मजबुत पार्नका लागि एउटा आवश्यक आधार हो। 

प्रतिरक्षा मन्त्रीले भन्नुभयो, विभिन्न सम्झौताहरू अन्तर्गत दुइ पक्ष वास्तविक नियन्त्रण रेखाको व्यवस्थापनमा आ-आफ्ना स्थितिहरू तथा सीमा प्रश्नमा बिना कुनै पूर्वाग्रह  शान्ति र सुरक्षा कायम राख्न सहमत भएका छन्। यो यस आधारमा भएको छ किनकि १९८८ यता हाम्रो समग्र सम्बन्धमा धेरै प्रगति देखिएको छ।  सीमा सम्बन्धी प्रश्नको समाधान गर्न विचार-विमर्शका साथै द्विपक्षीय सम्बन्ध पनि विकसित हुन सक्छ भन्ने भारतलाई विश्वास छ।

प्रतिरक्षा मन्त्रीले सदनलाई सूचित गर्नुभयो कि गत अप्रिलयता पूर्वी लद्दाखसँग जोडिएका सीमा क्षेत्रहरूमा चीनद्वारा सैनिकहरू र युद्ध सामग्रीहरू बढाइएको कुरा भारतले संज्ञानमा लिएको छ। मे-महिनको प्रारम्भमा चीनको पक्षबाट गलवान घाटी क्षेत्रमा भारतीय सैनिकहरूको सामान्य र पारम्परिक गश्तीलाई अबरूद्ध गर्ने प्रयास भएको थियो जसको परिणामस्वरूप झडपको सामना गर्नुपऱ्यो।  द्विपक्षीय सम्झौता र सन्धिका प्रावधान अनुसार यस स्थितिलाई ग्राउण्ड कमाण्डरहरूले सम्बोधित गरिराखेका थिए र मे-को मध्यमा चिनियाँ पक्षले पश्चिमी क्षेत्रका अन्य भाग स्थित वास्तविक नियन्त्रण रेखामा थुप्रैपटक सम्बन्धित नियमहरू उल्लंघन गर्ने  प्रयास गऱ्यो। यसमा कोङ्गका ला, गोगरा र पैंगोङ्ग झीलको उत्तरी किनार सामेल थिए। यी प्रयासहरूबारे चाँडै थाहा पाइएको थियो र यसको परिणामस्वरूप हाम्रा सशस्त्र सेनाले उचित जवाफ दियो।

 कुटनीतिक र सैन्य दुवै माध्यमहरूमार्फत भारतले चीनलाई स्पष्ट पारिसकेको छ कि बेजिङ्गले एकपक्षीय रूपले यथास्थिति बदल्ने प्रयास गरिरहेको छ। यो अस्वीकार्य छ भन्ने कुरा स्पष्ट पारिसकिएको छ।

श्री सिंहले भन्नुभयो, यी घटनाहरूको बेला हाम्रा सशस्त्र बलको आचरणबाट थाहा लाग्यो कि  उक्साउने कारबाईमा उनीहरूले “संयम” अर्थात धैर्यता कायम राखे साथै  “शौर्य” अर्थात वीरता प्रदर्शित गरे जुन क्षेत्रीय अखण्डताको रक्षाको लागि पनि आवश्यक थियो।

प्रतिरक्षा मन्त्रीले भन्नुभयो, सीमाहरूको रक्षा गर्नमा  भारतको दृढ संकल्पमाथि कसैले पनि  सन्देह गर्नुहुँदैन। परस्पर सम्मान र संवेदनशीलता छिमेकीहरूका साथ शान्तिपूर्ण सम्बन्धका आधार हुन् भन्ने कुरामा भारत विश्वास राख्दछ। उहाँले भन्नुभयो, भारत  वर्तमान स्थितिको समाधान संवादमार्फत गर्न चाहन्छ। चीनका साथ कुराकानीमा भारतले तीन मुख्य सिद्धान्तमाथि जोड दियो जसमा दुइ पक्षले वास्तविक नियन्त्रण रेखाको कडा पालन र सम्मान गर्नुपर्छ, कुनै पनि पक्षले यथास्थिति बदल्ने प्रयास गर्नुहुँदैन र दुइ पक्षबीचका सबै सम्झौता र समझदारीलाई पूर्णरूपले पालना गरिनुपर्छ।

चीनको कारबाईले विभिन्न द्विपक्षीय सम्झौताको घोर उल्लंघन गरिएको कुरालाई दर्शाएको छ। चीनद्वारा सैनिकहरूलाई  एकत्र गरिनु पछिल्ला सम्झौताहरू विरूद्ध छ। वास्तविक नियन्त्रण रेखाको सम्मान र यसको  कडाईका साथ पालन गर्नु सीमा क्षेत्रमा शान्ति र सुरक्षाको आधार हो र १९९३ र १९९६-मा भएका सम्झौताहरूलाई स्पष्टरूपले मान्यता दिनु हो। भारतीय सशस्त्र बलले यसलाई ईमान्दारीले पालन गरेको छ तर चीनको पक्षबाट यस्तो हुन सकिरहेको छैन।

प्रतिरक्षा मन्त्रीले जोड दिएर भन्नुभयो, भारत शान्तिपर्ण वार्ता तथा परामर्शको माध्यमले सीमा क्षेत्रका वर्तमान मुद्दाहरू समाधान गर्न प्रतिबद्ध छ। यस उद्देश्यको अनुरूप उहाँले मस्कोमा आफ्ना समकक्षीसँग भेट गर्नुभयो र उहाँहरूले गम्भीरताका साथ चर्चा गर्नुभयो। चीनलाई  स्पष्ट शब्दहरूमा भनिएको छ कि सीमामा धेरै संख्यामा सैनिकहरू एकत्रित हुनु, उनीहरूको आक्रामक व्यापार र द्विपक्षीय सम्झौताको उल्लंघन गर्ने तथा पूर्व स्थितिलाई एकपक्षीय रूपले परिवर्तित गर्ने प्रयास समेत चिनियाँ पक्षका गतिविधिहरूलाई लिएर भारत चिन्तित छ। मस्कोमा चीनका विदेश मन्त्री र भारतीय परराष्ट्र मन्त्रीले पनि भेटघाट गर्नुभयो।

दुवै पक्षले सहमति जनाए कि चीन पक्षले यसलाई ईमान्दारीले पालन गर्दछ भने सीमा क्षेत्रमा शान्ति र सुरक्षा बहाली हुनेछ तथा विवादित क्षेत्रबाट सैनिकहरू पूर्णरूपले हटनेछ।

प्रतिरक्षा मन्त्रीले सदनलाई भारतको सशस्त्र बलको मनोबल धेरै उच्च रहेको आश्वस्त पार्नुभयो। यस क्षेत्रमा भएको प्रधान मन्त्रीको महत्त्वपूर्ण यात्राले के आश्वस्त पारेको छ भने हाम्रा कमाण्डर र सैनिकहरूले पूरा राष्ट्र उनीहरूको साथमा भएको कुरा बुझेका छन्। हाम्रो रक्षा र सुरक्षाका लागि लद्दाखमा प्रतिकूल मौसम तथा अत्यधिक उचाईँमा मातृभूमिको रक्षा गर्ने सशस्त्र बलको समर्थनमा एउटा प्रस्ताव पारित गर्नका लागि श्री सिंहले सदनलाई प्रेरित गर्नुभएको छ।

 

आलेख: अल इण्डिया रेडियोका समाचार विश्लेषक पदम सिंह

अनुवादः रञ्जना खवास