भारत अफ्रिकामा सहयोग बडाउँदै 

एक महत्वपूर्ण मानवीय सहायताको भावना दर्शाउँदै र आवश्यकता परेको बेला अफ्रिकाका मानिसहरूलाई सहयोग गर्ने भारतीय परम्परालाई कायम राख्दै भारतले सुडान, दक्षिण सुडान, जिबूती र इरिट्रियालाई प्राकृतिक प्रकोपबाट प्रभावित मानिसहरू र कोभिड १९ महामारीको सामना गर्नका लागि २७० टन खाद्यान्न प्रदान गर्नेछ ।

हर्न अफ अफ्रिकाको रूपमा जानिने यस क्षेत्रले दशकौँदेखि विभिन्न जनजाति उग्रवादीहरु बीच आन्तरिक युद्धका कारण अशान्तिको सामना गरिरहेको छ। यद्यपि, अन्तर्राष्ट्रिय मध्यस्थताका कारण यस क्षेत्रमा शान्ति कायम छ, तर उनीहरूलाई आफ्नै खुट्टामा उभिनमा सक्षम बनाउनका लागि क्षेत्रका स्थानीय जनता, सरकार र संस्थानहरूको सहयोगको आवश्यकता छ। यस क्षेत्रमा हजारौं शान्ति सेना उपलब्ध गराउने भारतले गरिब मानिसहरूको उत्थानका लागि विभिन्न क्षमता निर्माण कार्यक्रमहरू मार्फत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

यस खाद्यान्न सहायतामा १५५ टन आटा, ६५ टन चामल र ५० टन चिनी सामेल गरिएका छन्। यी सामग्रीहरू पछिल्लो साता मुम्बईदेखि प्रस्थान भएको भारतीय नौसेना जहाज ऐरावतमा पठाइएको छ। सो जहाज जिबूती, मसावा, सूडान र मोमबासा बन्दरगाहहरूमा जानेछ।

भारतको परराष्ट्र मन्त्रालय अनुसार भारत र अफ्रिकी देशहरू बीच शताब्दीऔँदेखि मित्रता र भातृत्वको मजबुत सम्बन्ध रहिआएको छ। भारत अफ्रिकी देशहरू र जनतासित सदैव ऐक्यबद्धताका साथ खडा भएको छ साथै विकास, क्षमता निर्माण र मानवीय सहायता कार्यक्रमहरूको सञ्चालनमा भागेदारी रहेको छ। कोरोना महामारी पछि भारतले कोरोना भाइरस विरुद्ध लडाईँमा अफ्रिकी देशहरुलाई प्रशिक्षण दिन विभिन्न चिकित्सा सहायता र विशेषज्ञहरू  पनि पठाएको थियो। । भारतले आफ्नो नौसैनिक युद्धपोतहरूको माध्यमबाट विभिन्न अफ्रिकी देशहरू कोमोरोस, मौरिसस, र मडागास्करमा चिकित्सा टोली पठाएको थियो। भारतले कोविड १९-बाट संक्रमित रोगीहरूको उचित व्यवस्थापनका लागि यी देशहरूमा चिकित्सा कर्मीहरूलाई प्रशिक्षण पनि दिएको थियो।

कोविड-१९ महामारीको प्रकोपदेखिनै भारतले अफ्रिकी देशका सरकारहरूका साथ चिकित्सा सहयोगको आपूर्तिको लागि र विशेष उडानहरूमार्फत परस्परका नागरिकहरूलाई देश फिर्ता गर्ने काममा निकटताका साथ काम गरेको छ। भारतले यस क्षेत्रमा कोभिडसँग सम्बन्धित सहयोग पुर्‍याएको थियो र वर्तमानमा दशकौंको विकास सहायताले प्राप्त गरेको सद्भावनाको बलमा भारतले अफ्रिकी संघका सदस्य राष्ट्रहरूसँग नयाँ साझेदारी बनाउँदैछ। यस सन्दर्भमा भारतका परराष्ट्र मामिला मन्त्रीले यस अघि अफ्रिका भारतको प्राथमिकता रहेको र अफ्रिकाको विकास विश्वव्यापी प्रणालीको एक ध्रुव मात्र नभएर अत्यन्त जरूरी हो भन्ने कुरामा जोड दिनुभएको थियो।

यस पृष्ठभूमिमा भारतले संसाधन सम्पन्न क्षेत्रमा उनीहरूलाई आत्मनिर्भर बनाउनका लागि सबै प्रकारको सहयोग पुर्‍याइरहेको छ। यस उद्देश्यका साथ भारतले यस क्षेत्रको लघु अर्थव्यवस्थाहरूसँग आफ्नो संलग्नतालाई प्रगाढ बनाएको छ। भारतले आफ्नो “फोकस अफ्रिका” कार्यक्रम सुरु गरेयता दुई दशक पहिले भारत-अफ्रिका सम्बन्धमा स्थिर विकास देखिएको छ। क्षेत्रसितको संलग्नता स्थानीय स्रोत र बजारको शोषणमा केन्द्रित रहेको अन्य शक्तिशाली देशहरूको तुलनामा छ भारतले आफ्नो प्रौद्योगिकी एवम् आर्थिक सहयोग कार्यक्रम (आईटीईसी) नामक प्राविधिक आर्थिक सहयोगमार्फत क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ।

अफ्रिकी अर्थव्यवस्थालाई सशक्त पार्नका लागि भारतले यसको बजारमा राम्रो पहुँच विस्तार गरिरहेको छ, जसको परिणामस्वरूप भारत अफ्रिकाको तेस्रो ठूलो निर्यात गन्तव्य बनेको छ। भारतले पनि आफ्नो व्यापार जगतलाई यस क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरेको छ, जुन ५४ अर्ब अमेरिकी डलर नाघेको छ। यसले भारतलाई अफ्रिकी महादेशमा सबैभन्दा ठूलो लगानीकर्ता देश बनाएको छ। एक आधिकारिक अनुमान अनुसार भारतले ३७ देशहरूमा ११.६ अर्ब अमेरिकी डलरको लागतमा १९७ विकास परियोजनाहरूको कार्यान्वयन गरिसकेको छ। यस अतिरिक्त भारतले हाल २९ देशहरूमा ७७ अतिरिक्त परियोजनाहरूमा काम गरिरहेको छ। यी परियोजनाहरू पूर्वाधार, आईसीटी, विद्युत उत्पादन, कृषि, तेल र ग्याससित सम्बन्धित छन्। भारतले मोजाम्बिक, दक्षिण सुडान र उत्तर पश्चिम अफ्रिकाका अन्य पिछडिएका क्षेत्रहरूमा पनि ७ अर्ब अमेरिकी डलरको लगानी गरेको छ। यस वर्षको फेब्रुअरीमा अफ्रिकी देशहरूलाई सुरक्षा व्यवस्थापनमा सहयोग पुर्‍याउनका लागि भारत अफ्रिका रक्षा मन्त्रीहरूको सम्मेलनको आयोजना गरिएको थियो। यसप्रकार भारतले विभिन्न विकास सहायता र सहयोग कार्यक्रमका साथ महाद्वीपमा धेरै लगानी गरिरहेको छ।

आलेखः रञ्जीत कुमार, वरिष्ठ पत्रकार

अनुवादः प्रशान्त मोक्तान