बांगलादेशमा कोभिड खोप लगाउने कार्यक्रम फेब्रुअरीको पहिलो सातादेखि सुरु हुने

बांगलादेशमा कोभिड-१९को खोप लगाउने कार्यक्रम फेब्रुअरीको पहिलो सातादेखि सुरु हुनेछ। सोमबार ढाकामा यसको घोषणा गर्नुहुँदै स्वास्थ्य सेवाका महानिर्देशक प्रोफेसर अबुल बशर मोहम्मद खुरशिद आलमले मिडियाकर्मीहरूलाई भन्नुभयो बांगलादेशमा भारतबाट खोप २१ र २५ जनवरीको बिचमा आइपुग्नेछ। त्यसपछि खोपलाई स्वास्थ्य सेवा महानिर्देशालयको सूचीअनुरूप देशका विभिन्न जिल्लाहरूमा पठाइनेछ। भारतबाट खोपका शिशिहरू प्राप्त भएको एक सातापश्चात खोप लगाउने कार्य सुरु गरिनेछ।  

पहिलो चरणमा ५० लाख मानिसहरूमा खोप लगाइनेछ। खोपको दोस्रो खुराक पहिलो खुराक दिइएको ८ हप्तापश्चात दिइनेछ। यो खोप मानिसहरूलाई सित्तैमा प्रदान गरिनेछ।

अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनिकाद्वारा विकसित यो खोपको ३ करोड खुराक बांगलादेशमा आपूर्ति गर्न डिसम्बर १३ तारिख बांगलादेश सरकार, बेक्सिमको फारमास्युटिकल्स लिमिटेड (बीपीएल) तथा भारतको सेरम इन्स्टीट्युटबिच एउटा त्रिपक्षीय सम्झौता भएको थियो।