राष्ट्रले आज स्वामी विवेकानन्दको जन्म जयन्ती मनाउँदैछ

राष्ट्रले आज युवाहरूका आदर्श तथा भारतका महान आध्यात्मिक गुरूहरूमध्ये एक रहनुभएका स्वामी विवेकानन्दको जन्म जयन्ती मनाउँदैछ। स्वामी विवेकानन्दले सारा विश्वलाई वेदान्त र योगजस्ता भारतीय दर्शनहरू चिनाउने काम गर्नुभएको थियो। सन् १८९३ मा सिकागोमा आयोजित धर्म महासभामा भाषण दिएपश्चात उहाँ पश्चिमी जगतमा निकै प्रसिद्ध हुनुभएको थियो। विवेकानन्द १९औं शताब्दीका आध्यात्मिक गुरू रामकृष्ण परमहन्सका मुख्य शिष्य हुनुहुन्थ्यो। उहाँ रामकृष्ण मठ तथा रामकृष्ण मिशनका संस्थापक हुनुहुन्थ्यो।

देशमा स्वामी विवेकानन्दको जन्म जयन्तीलाई राष्ट्रिय युवा दिवसको रूपमा पनि पालन गरिन्छ। स्वामी विवेकानन्दको जन्म जयन्तीलाई देश सँग-सँगै पश्चिम बंगालभरि विभिन्न कार्यक्रमहरूको आयोजन गरेर मनाइनेछ।  

प्रधान मन्त्री नरेन्द्र मोदीले एउटा ट्वीटमा भन्नुभयो स्वामी विवेकानन्दले विचार र कार्यमा भारतको संस्कृति र नैतिकतालाई राम्रोसँग झल्काउनुभयो। श्री मोदीले भन्नुभयो उहाँले भारतका युवाहरूमाथि ठुलो भरोसा राख्नुहुन्थ्यो।