प्रधान मन्त्री भन्नुभयो भारतमा निर्मित दुइवटा खोप मितव्यायी छन् र थप चारवटा खोप बनिँदैछ

प्रधान मन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ कोभिड-१९ विरुद्धको लडाइँमा भारत एक निर्णायक चरणतर्फ उन्मुख भएको छ किनकि यसै महिनाको १६ तारिखदेखि संसारको सबभन्दा ठुलो टीकाकरण अभियान सुरु हुँदैछ। प्रधान मन्त्रीले हिजो साँझ समग्र राज्यका मुख्य मन्त्रीहरूसित अन्तर्क्रिया गर्नुभयो। श्री मोदीले कोभिड-१९को स्थितिको समीक्षा गर्नुभयो र खोप लगाउन सुरु गर्ने कार्यक्रमबारे परिचर्चा गर्नुभयो।

प्रधान मन्त्रीले भन्नुभयो विगत तीन-चार सातादेखि कोभिड-१९को खोप लगाउने कार्य झन्डै ५० वटा देशहरूमा भइरहेको छ र अहिलेसम्म २.५ करोड मानिसहरूले मात्र यो खोप प्राप्त गरेका छन्। उहाँले भन्नुभयो भारतको लक्ष्य आगामी केही महिनाभित्रमा ३० करोड मानिसहरूलाई यो खोप लगाउनु रहेको छ।

श्री मोदीले भन्नुभयो भारतमा निर्मित दुइवटा खोप कोभिशिल्ड र कोभ्याक्सिनलाई आपातकालीन उपयोगका लागि मञ्जुरी दिइसकिएको छ। उहाँले भन्नुभयो दुवै भ्याक्सिन मितव्यायी छन्। यी दुई भ्याक्सिनको अतिरिक्त चारवटा भ्याक्सिन बनिँदैछ।