अरब-भारत सहयोग मञ्चको बैठक

अरब-भारत सहयोग मञ्चका वरिष्ठ अधिकारीहरूका तेस्रो बैठक आयोजन भिडियो कन्फरेन्सको माध्यमले गरिएको थियो। विदेश मन्त्रालयका सचिव (कन्सूलर, पास्पोर्ट तथा भिसा अनि प्रवासी भारतीयहरू सम्बन्धी मामिला हेर्ने) श्री सञ्जय भट्टाचार्य , राजदूत मोहम्मेद आबु अल-खेर, विदेश सह सचिव अनि अरब मुलुकहरूका संगठन वा लीग अफ अरब स्टेट्समा इजिप्टका स्थाई प्रतिनिधिले बैठकको सह अध्यक्षता गर्नु भएको थियो। बैठकमा अरब मुलुकहरू र भारतका वरिष्ठ अधिकारीहरू साथै अरब मुलुकहरूका संगठनका महासचिवहरूले सहभागीता जनाएका थिए।

बैठकमा वरिष्ठ अधिकारीहरूले अरब विश्व र भारत बीचको सभ्यतागत सम्बन्धको स्मरण गरे साथै दुवै पक्षलाई निकटमा ल्याउनलाई व्यापारिक र सांस्कृतिक सम्बन्धले पुऱ्याएको योगदानमाथि प्रकाश पारे। अधिकारीहरूले अरब-भारत सहयोगको दह्रिलो आधार, अत्याधिक क्षमता र व्यापक सम्भाव्यताको प्रंसशा गरे साथै अरब-भारत सम्बन्धको क्षमताशील क्षितिजलाई अझ फराकिलो बनाउनुमा यो सहयोग मञ्चले निर्वाह गर्दै आएको भूमिकाको पनि उल्लेख गरे।

बैठकमा वरिष्ठ अधिकारीहरूले आपसी चासो र क्षेत्रिय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई ध्यान पुग्नेगरि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आपसी चिन्ताका मामिलाहरूबारे छलफल गरे साथै दुवै पक्षका संयन्त्रहरूबीच सहयोग र समन्वयलाई अझ दह्रिलो बनाउनुपर्ने खाँचो र महत्वमाथि बल दिए। यस सन्दर्भमा उनीहरूले अन्तर्राष्ट्रिय समाधानका वैधानिक उपायहरू र प्रासङ्गीक सम्झौताहरू अनुरुप क्षेत्रिय मामिलाहरू र मध्य पूर्वका संकटहरूका राजनीतिक समाधान खोजिनुपर्छ भन्ने कुरा पनि दोहोऱ्याए साथै मूख्य रुपले प्यालेस्टाइनी मामिला, सिरिया, लिबिया र येमेनको सन्दर्भ निकाले अनि अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त अनुरुप आतङ्कवादको सामना गर्ने र जलक्षेत्रिय आवागमनको स्वतन्त्रता र सुरक्षा सुनिश्चित हुनुपर्ने आवश्यकतामाथि पनि बल दिए।

अधिकारीहरूले, कोविद-19 जस्तो विकराल स्वास्थ्य समस्याले गर्दा विश्वले झेल्न परिरहेको विकट र अभूतपूर्व स्थितिलाई मध्य नजर राख्दै यो सङ्कटको सामना गर्नको लागि द्वन्दग्रस्त तथा सङ्कटग्रस्त क्षेत्रहरू लगायत अन्तर्राष्ट्रिय र क्षेत्रिय स्तरमा सहयोग अभिवृद्धि गर्नुपर्ने खाँचो रहेको कुरामा पनि जोड़ दिए।

दुवै पक्षले अरब मुलुकहरू र भारतबीच रोगहरूको पत्तो लगाउने र उपचारको क्षेत्रमा संयुक्तरुपमा चलिरहेको परियोजनाहरूबारे छलफल गरे साथै कोविद सङ्कटपछि अर्थतन्त्रलाई कसरी साम्य र व्यवस्थित पार्नपर्ने भन्ने दिशामा के कस्तो राष्ट्रिय उपायहरू अवलम्बन गर्नपर्ने भन्नेबारे बिचारहरूका आदान-प्रदान गरे।

राष्ट्रसंघ सुरक्षा परिषदमा दुई वर्ष (२०२१-२०२२) को लागि भारत गैर स्थाई सदस्यको रुपमा निर्वाचित भएकोमा अरब पक्षका अधिकारीहरूले भारतलाई वधाई दिए साथै अन्तर्राष्ट्रिय स्तरमा खास गरि आपसी चासोका क्षेत्रिय मामिलाहरूका प्रसङ्गमा भारतले निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुपर्ने अपेक्षा पनि व्यक्त गरे।

अरब-भारत सहयोग मञ्चको ढाँचाभित्र रहेर अर्थतन्त्र, व्यापार, निवेश, ऊर्जा, पर्यावरण, कृषि, खाद्य सुरक्षा, पर्यटन, संस्कृति, मानव संसाधन विकास, शिक्षा, स्वास्थ्य उपचार, विज्ञान तथा प्राद्यौगिकी र मिडिया लगायतका क्षेत्रहरूमा दुई पक्षबीच सहयोग अभिवृद्धि गर्नुपर्ने उपायहरूको पत्तो लगाउनेबारे पनि अधिकारीहरूले बैठकमा चर्चा गरे।

सामरिक साझेदारी र द्वीपक्षिय समझदारी र राजनीतिक स्तर अनुरुप भारत र अरब मुलुकहरूबीच आर्थिक सम्बन्धलाई अघि बढाउनुपर्ने कुरा पनि बैठकमा उठ्यो। भारत-अरब मुलुकहरूका आर्थिक सहकार्य भनेपछि ऊर्जा सुरक्षा, खाद्य सुरक्षा, मानव संसाधन आदान-प्रदान, बढ़दो व्यापार तथा निवेश सम्बन्ध र दह्रिलो सम्पर्कतालाई बुझ्न सकिन्छ। भारत र अरब मुलुकहरुबीचको सम्बन्ध केही चुनौतीपूर्ण र व्यापक छ तर यसमा धेरै सम्भाव्यताहरू लुकेर बसेका छन्  भन्ने बिचार विश्लेषकहरूले व्यक्त गरेका छन्।

भारतको विदेश मन्त्रालय अनुसार, भारतमा ५३ प्रतिशत तेल अनि ४१ प्रतिशत ग्यास अरब क्षेत्रबाट आयात गरिन्छ। इराक, सिरिया, लिबिया, संयुक्त अरब अमिरात, येमन र दक्षिण सुडानको तेल खण्डहरूमा पनि भारतको साझेदारी छ। साझेदारी अन्तर्गत तेल प्रशोधन र तेल संचयनको लागि विशेष निर्माण व्यवस्था हेतु कतिपय परियोजनाहरू, संयुक्त परियोजनाहरूमा सहभागीताको लागि क्रेता र बिक्रेताबीच हाईड्रोकार्बन सम्बन्ध आदि सामेल छन्।

अर्थतन्त्रमा सुधार र मूलभूत परिवर्तनको दिशामा भारत र अरब क्षेत्र दुवैको पहलकमदी र संलग्नता र दुवै मुलकका मानिसहरूमा रहेका राजनीतिक सुझबुझ र सदिच्छाले आर्थिक सहकार्यलाई अझै उचाईमा पुग्ने बल प्रदान गर्नेछ।

मञ्चले संयुक्त रुपमा आयोजन गर्नुपर्ने कतिपय कार्यक्रमहरूका तीथि छिटै निर्धारण गर्नु पर्ने कुरामा दुवै पक्ष सहमत भएका छन्। आयोजना गर्नु पर्ने यस्ता कार्यक्रमहरूमा, अरब-भारत सांस्कृतिक महोत्सवको तेस्रो सत्र, ऊर्जाको क्षेत्रमा अरब-भारत सहयोगबारे संगोष्ठी, पहिलो अरब-भारत विश्वविद्यालय प्रेसिडेन्ट्स सम्मेलन, मिडिया क्षेत्रमा सहयोगबारे अरब-भारत दोस्रो सम्मेलन साथै अरब-भारत साझेदारी सम्मेलनको छैटौं सत्र आदि सामेल छन्। अरब-भारत सहयोग मञ्चको दोस्रो मन्त्रीस्तरीय बैठक दुवै पक्षलाई सुविधा पर्ने तीथिमा चाँड़ै भारतमा हुने भएको छ।

 

आलेख: अल इण्डिया रेडियोका सामाचार विश्लेषक पदम सिंह

अनुवाद एवं वाचनः जे.के.बराईली।